अब, हिलारी क्लिन्टन ?
‘म आफू, बिल क्लिन्टन वा हिजोका वा आजका कुनै पनि व्यक्तिभन्दा अमेरिकाको राष्ट्रपति पदको लागि हिलारी क्लिन्टन बढी योग्य छिन् । त्यसैले उनी यो पदको जिम्मेवारी ग्रहण गर्ने सम्पूर्ण राजनीतिक र नैतिक अधिकार राख्छिन् ।'
डेमोक्रेटिक पार्टीको महाधिवेशनमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले उपरोक्त कुरा भनिरहँदा उनको भनाइको समर्थनमा उपराष्ट्रपति जो विदेन स्वयं पूर्व राष्ट्रपति तथा हिलारीका पति बिल क्लिन्टनलगायतका वरिष्ठ नेता र उच्चाधिकारीहरूले आफ्नो स्थानबाट उठेर ओबामाको कथनलाई उत्साहपूर्वक समर्थन गरिरहेको दृश्य सीएनएनमा देखिएको थियो ।
सामाजिक आन्दोलनको एउटा शक्तिशाली अभियन्ताको रूपमा, प्रथम महिलाको रूपमा, अमेरिकी विदेशमन्त्रीको रूपमा तथा २००८ र २०१६ दुवै अवधिको राष्ट्रपतिको निर्वाचनको लागि मनोनयन अभियानका क्रममा हिलारी क्लिन्टनले प्रदर्शन गरेको असाधारण निष्ठा, विवेक, इच्छाशक्ति, साहस, प्रतिबद्धता र क्षमताका आधारमा राष्ट्रपति ओबामाले जे भने, त्यो अतिशयोक्ति लाग्दैन ।
सन् २००९ मा हिलारी क्लिन्टन अमेरिकाको विदेश मन्त्रालयको जिम्मेवारी सम्हाल्ने तयारी गर्दै गर्दा येल विश्वविद्यालयका विख्यात इतिहासकार पल केनेडीको अमेरिकाको प्रभाव र शक्ति निरन्तर र त्रासद रूपमा घट्दै गएको सम्बन्धमा एउटा विचारोत्तेजक लेख वाल स्ट्रिट जर्नलमा छापिएको थियो ।
येल विश्वविद्यालयकै कानुनको स्नातक हिलारीलाई केनेडीको उक्त लेखले छोयो नै । अमेरिकाको घट्दो शक्ति र प्रभावबारे लेखिएका अन्य प्रसिद्ध पुस्तक र लेखहरूले प्रस्तुत गरेका अवधारणा र प्रक्षेपणलाई असत्य सावित गर्न विदेशमन्त्री हुनेबित्तिकै प्राणपलले जुटिन् ।
अमेरिकाको सान्दर्भिकता र महत्त्वलाई विश्वव्यापी रूपमा पुष्टि गर्ने उद्देश्यले आफ्नो चारबर्से कार्यकालमा विदेशमन्त्रीको रूपमा एक सय १२ मुलुकको भ्रमण गरिन् । यस अवधिमा उनले १६ लाख किलोमिटर लामो यात्रा गरिन् र अमेरिकी इतिहासमा एउटा नयाँ कीर्तिमान कायम गरिन् ।
डा. हेनरी किसिन्जर अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिका क्षेत्रमा वर्तमान विश्वमा अद्वितीय छन् । तर उक्त चार वर्षको अवधिमा हिलारीको असामान्य खटाई, कार्यक्षमता, विवेक, धैर्य, कूटनीतिक संयम र कौशल देखेर स्वयं किसिन्जरले अमेरिकाको भावी राष्ट्रपतिको लागि उनी सर्वथा योग्य रहेको उल्लेख गरेका थिए ।
अत्यन्त प्रतिकूल स्थितिमा पनि असाधारण कूटनीतिक प्रतिभा प्रदर्शन गर्नसक्ने उनको क्षमता हेर्दा अमेरिका र विश्वले मागेको जस्तो नेतृत्व हिलारीले दिन सक्नेबारे पूर्व अमेरिकी विदेशमन्त्री मेडलिन अल्ब्राइट र जापानकी पूर्वरक्षामन्त्री युरिको कोइकेले उल्लेख गरेका छन् ।
स्मरणीय छ, क्लिन्टन सन् १८५६ पछि राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुने पहिली विदेशमन्त्री मात्रै होइनन्, उक्त पदमा निर्वाचन लड्ने प्रथम महिला पनि हुन् ।
तर अमेरिकी राष्ट्रपतिको निर्वाचनमा विजय प्राप्त गर्न हिलारीको लागि डोनाल्ड ट्रम्पसँगको टक्कर सजिलो छैन । त्यसमाथि कुनै एउटै दलले तेस्रोपटक राष्ट्रपतिको पदमा विजय प्राप्त गरेको इतिहास सम्भवतः दुइटा मात्रै हो— एउटा फ्र्यांकलिन रुजबेल्ट हुन् ।
दुईपटकभन्दा बढी उम्मेदवार नहुने अभ्यास र परम्परालाई चुनौती दिँदै रुजबेल्ट लगातार चारपटक राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार भई विजय प्राप्त गरे । चौथो कार्यकालको बीचमै उनको निधन भयो । यसपछि अमेरिकी संविधानमै संशोधन भयो र दुई कार्यकालभन्दा बढी अवधिको लागि निर्वाचन लड्न नपाइने व्यवस्था गरियो । त्यसपछि एउटै दलले तेस्रोपटक विजय प्राप्त गरेको उदाहरण राष्ट्रपति रोनाल्ड रेगनपछि जर्ज हर्बर्ट वाकर बुसको पालामा मात्रै हो ।
राष्ट्रपति रोनाल्ड रेगन अमेरिकाका सर्वाधिक लोकप्रिय राष्ट्रपति मानिन्छन् र जर्ज हर्बर्ट बुस व्यापक राजनीतिक र प्रशासनिक अनुभवले खारिएका तथा दृढ इच्छाशक्ति भएका व्यक्ति । रेगनको दुवै कार्यकालमा उपराष्ट्रपति भएका बुस नै रेगनपछि राष्ट्रपति निर्वाचित भए । सन् १८३७ पछाडि कुनै पदासीन उपराष्ट्रपति राष्ट्रपति निर्वाचित भएको एउटै उदाहरण पनि उनी मात्रै हुन् ।
माथिको सन्दर्भको महत्त्व यसकारण छ कि बाराक ओबामा उनको दोस्रो कार्यकालमा लोकप्रिय देखिएका छैनन् । त्यसैले दुई कार्यकालको ओबामा नेतृत्वको डेमोक्रेटिक प्रशासनको रिपोर्ट कार्ड हिलारीको विपक्षमा जान सक्ने सम्भावना छ ।
विभाजित अमेरिका र विश्वको चुनौती
राष्ट्रपति ओबामा आफ्नो कार्यकालका उपलब्धिहरू मात्र होइन, आफ्ना कमजोरी पनि स्वीकार गर्न हिच्किचाउँदैनन् । विपरीत ध्रुवमा भएको मुलुकको तीव्र ध्रुवीकरण र विभाजन न्यून गराउन नसक्नु आफ्नो कार्यकालको सबैभन्दा ठूलो राजनीतिक कमजोरीको भएको बारे ओबामाले गत जनवरीको राष्ट्रको नाममा गरिएको वार्षिक सम्बोधनमा उल्लेख गरेका थिए ।
उनको सम्बोधनपछि हालै आएर अश्वेत समुदायका व्यक्तिहरूको हातबाट केही गोरा प्रहरीहरूको सुनियोजित हत्याले श्वेत र अश्वेत समुदायबीच तिक्ततापूर्ण विभाजनको रेखा निर्माण भएको छ ।
त्यसमाथि रिपब्लिकन दलको तर्फबाट राष्ट्रपतिको पदमा मनोनीत डोनाल्ड ट्रम्पको अतिवादी राजनीतिक, सामाजिक र आर्थिक तथा सैनिक तथा कूटनीतिक दृष्टिकोणहरूले अमेरिकी समाजलाई नराम्रोसँग बिथोलेको छ । इस्लामको नाउँमा अन्तर्राष्ट्रिय आतंकवाद अमेरिकी सुरक्षाको जटिल चुनौतीको रूपमा उपस्थित छ ।
यसै सन्दर्भमा अमेरिकी जल सेनाका पूर्व नायब प्रमुख तथा अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाका प्रमुख रहेका जनरल जोन एलनले हिलारीको नेतृत्वमा अमेरिकाले इस्लामिक स्टेटलाई पूर्णतः पराजित गर्ने, सबै मित्रराष्ट्रहरूसँगका सन्धि–सम्झौताहरूलाई पूर्णरूपेण पालना गर्ने, नाटो तथा अट्लान्टिक गठबन्धनलाई सशक्त बनाउने र विश्वलाई सुन्दर र सुरक्षित गन्तव्य प्रदान गर्ने बताएका छन् ।
जनरल एलनका साथै पूर्व रक्षामन्त्री लिओन पनेट्टा, निवृत्त जल सेनाध्यक्ष जोन हस्टनलगायतका उच्च सैनिक अधिकारीहरूले पनि हिलारी क्लिन्टनको विवेक र निर्णयमाथि आफ्नो विश्वास व्यक्त गर्दै उनको न्यायपूर्ण र एकताबद्ध अमेरिकाको भविष्य दृष्टिअनुरूपको अमेरिकाप्रति आफ्नो आस्था व्यक्त गरेका छन् । घृणा, अव्यवस्था र अन्धकारका शक्तिहरू विरुद्ध हिलारीको शक्तिशाली नेतृत्व अत्यावश्यक बताउँदै उनीहरूले अमेरिकाको वर्तमान आवश्यकता र सुरक्षा हितअनुरूपको सर्वोच्च सेनापति क्लिन्टन मात्रै हुन सक्ने बताएका छन् ।
नाटोका सर्वोच्च कमान्डर रहेका पूर्व अमेरिकी जल सेनाध्यक्ष जेम्स स्टाभ्रिडिस र जनरल वेस्ले क्लार्कलगायत आधा दर्जन नाटोका पूर्व सेना प्रमुखहरूले डोनाल्ड ट्रम्पको नाटोसम्बन्धी नीतिको कडा विरोध गर्दै ट्रम्प नाटोबारे ठूलो भ्रममा रहेका र उक्त संगठन अमेरिकाको बृहत्तर हितको लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताएर हिलारीको पक्षमा परोक्ष मत जाहेर गरेका छन् ।
उता, डोनाल्ड ट्रम्पका विदेश मामिलासम्बन्धी सल्लाहकारसमेत रहेका र अमेरिकाका डिफेन्स इन्टेलिजेन्स एजेन्सीका पूर्व प्रमुख तथा सेवानिवृत्त लेफ्टिनेन्ट जनरल माइकेल फ्लिन ट्रम्पका कट्टर समर्थक छन् र रिपब्लिकन दलको सम्मेलनमा उनले ट्रम्पको पक्षमा जोडदार भाषण गरेका थिए ।
फ्लिन राष्ट्रपति ओबामाको इस्लामिक स्टेटसम्बन्धी नीतिका कडा विरोधी पनि हुन् र ओबामाको गलत प्राथमिकताका कारण इस्लामिक स्टेट शक्तिशाली हुँदै आएको पनि उनले बताइरहेका छन् । जनरल फ्लिन र जनरल एलन दुवै राष्ट्रपति ओबामा प्रशासनमा विदेशमन्त्री क्लिन्टनसँगै काम गरेका उच्च सैनिक अधिकारी हुन् ।
विदेश नीतिसम्बन्धी कतिपय विख्यात हस्तीहरू र स्वयं रिपब्लिकन पार्टी सम्बद्ध उच्च सैनिक तथा रक्षा उच्चाधिकारीहरू —एलियट अब्राहम, दिमित्री साइम्स, ब्रेन्ट स्कोक्रफ्ट, पल उल्फोटिज, एलियट कोहन, रिचार्ड आर्मिटेजलगायत रिपब्लिकन दलबाट निर्वाचित पूर्व राष्ट्रपति जर्ज बुसका विदेश तथा रक्षामन्त्रीहरू, रिपब्लिकन उम्मेदवार मिट रोम्नी निकट सहयोगीहरू र विख्यात रिपब्लिकन पार्टीनिकट रोबर्ट कागनजस्ता विद्वान्हरू सबैले डोनाल्ड ट्रम्पको अनुभवहीनता र विदेश तथा रक्षा नीतिसम्बन्धी अतिवादिताले अमेरिकाको सुरक्षा र अन्तर्राष्ट्रिय व्यक्तित्वमाथि गम्भीर असर पर्ने बताइरहेका छन् । अमेरिका र अन्य मुलुकबाट प्रकाशित हुने सबै प्रमुख अन्तर्राष्ट्रिय समाचार पत्रहरू पनि ट्रम्पको अतिवादी दृष्टिकोणका विरोधी देखिन्छन् ।
यो मामिलामा हिलारीले विश्वलाई आश्वस्त बनाएकी छन् । विश्वसामु विद्यमान समस्या र चुनौतीहरूले अमेरिकासँग कूटनीति, विकास र सुरक्षालाई एकीकृत संयोजन भएको ‘स्मार्ट पावर अप्रोच' को नीति माग गरेको बताउँदै हिलारीले विदेशमन्त्री हुँदादेखि नै उक्त नीति अवलम्बन गर्दै आएकी छन् ।
राष्ट्रपति ओबामाको विदेश नीति निर्माणमा महत्त्वपूर्ण योगदान गरेकी हिलारीको राष्ट्रपतित्वअन्तर्गत अमेरिकी विदेश नीतिमा ठूलो अन्तरको सम्भावना देखिँदैन । ओबामा प्रशासनको विदेश नीतिका कतिपय पक्षहरूप्रति रिपब्लिकन नेताहरूहरूको विमति छ, तर ट्रम्पका विदेश र रक्षा नीतिप्रति भने उनीहरूको अझ ठूलो विमति र विरोध देखिन्छ ।
संसारको सबैभन्दा शक्तिशाली र विश्व व्यवस्थाको नेतृत्व गरिरहेको मुलुकको सर्वोच्च नेतृत्वको नीतिले अमेरिकाको र बाँकी विश्वको भविष्यलाई समेत निर्धारण गर्ने भएकाले यो चुनावले स्वाभाविक रूपमा विश्वव्यापी सरोकार निर्माण भएको छ । यो सरोकार हिलारीको पक्षमा देखिन्छ ।
आन्तरिक एकता र सद्भावनाको शक्तिको प्रतीक हिलारी
रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको पक्षमा सो दलको तर्फबाट निर्वाचित पूर्व राष्ट्रपतिहरू, राष्ट्रपति पदका उम्मेदवारहरू, रिपब्लिकन मनोनयनको लागि ट्रम्पसँग प्रतिस्पर्धा गरेका रिपब्लिकन पार्टीका अन्य उम्मेदवार र प्रमुख नेताहरू देखिएका छैनन् । यही कुरा रिपब्लिकन पार्टी निकट थिंकट्यांक सम्बद्ध प्राज्ञ वा पत्रकारहरूको हकमा पनि लागू हुन्छ । तर डेमोक्रेटिक पार्टीमा स्थिति ठ्याम्मै विपरीत छ ।
मनोनयन अभियानमा बर्नी स्यान्डर्स उनका कडा प्रतिस्पर्धी थिए । निर्वाचन अभियान तिक्ततापूर्ण पनि रहेको हो । अधिवेशन कक्षमा बर्नीले हिलारीको पक्षमा गरेको समर्थनले बर्नी समर्थकहरूलाई क्रूद्ध बनाएको पनि देखियो ।
तर हिलारीले बर्नी र उनका लाखौँ समर्थकहरूको उत्साह र प्रतिबद्धतालाई डेमोक्रेटिक दलको निर्वाचन अभियानको आत्मा रहेको मात्रै बताइनन्, बर्नीले उठाएका आर्थिक र सामाजिक न्यायका प्रगतिशील विषय सूचीहरू प्रजातान्त्रिक अभ्यासहरूका प्राणतत्व भएको स्विकारेर बर्नीका सरोकारहरू आफ्नो सरोकार भएको स्वीकार गरिन् । यसबाट डेमोक्रेटिक पार्टीभित्रको आन्तरिक एकता र सद्भावनालाई मजबुत बनाइन् ।
चर्चित रिपब्लिकनहरू डोनाल्ड ट्रम्पलाई आफ्नो प्रतिनिधि स्विकार्न तयार छैनन् र डेमोक्रेटिक दलभित्रका बढी वाम रुझान राख्नेहरूलाई हिलारी क्लिन्टनको उम्मेदवारीले सन्तुष्ट बनाएको छैन । डोनाल्ड ट्रम्पले धेरै अमेरिकीहरूका मनमा उत्साह पनि भरेका छन्, त्रास, अविश्वास र घृणा पनि थपेका छन् । ट्रम्पलाई अमेरिका र बाँकी विश्वको लागि खतरा सम्झनेहरू हिलारीको पक्षमा खुलेर लागेका छन् ।
विमति व्यवस्थापनको उच्चतम संस्कृतिमा उनी समृद्ध छन् । सन् २००८ मा डेमोक्रेटिक दलको मनोनयनको लागि पर्याप्त मत प्राप्त गर्न नसक्ने देखिएलगत्तै हिलारीले ओबामालाई समर्थन गर्दै त्यसपछिको डेमोक्रेटिक पार्टीको सम्मेलनमा भनेकी थिइन्– हाम्रा विश्वास र मूल्यहरू साझा छन्, त्यसैले मैले जित्नु र बाराकले जित्नुमा तात्विक भिन्नता छैन । हाम्रा आगामी राष्ट्रपति बाराक ओबामा हुनैपर्छ ।
त्यसपछि डिसेम्बरको प्रारम्भमा आफ्नो विदेशमन्त्रीको घोषणा गर्दै ओबामाले अमेरिकी कूटनीतिको नवीकरणको आफ्नो प्रतिबद्धता हिलारी क्लिन्टनको नेतृत्वमा हुने घोषणा गरेका थिए ।
तर आज परिस्थिति भने गम्भीर देखिन्छ । अमेरिका दलहरूको बीचमा मात्र होइन, दलहरूभित्र पनि ऐतिहासिक रूपमा विभाजित देखिन्छ । चर्चित रिपब्लिकनहरू डोनाल्ड ट्रम्पलाई आफ्नो प्रतिनिधि स्विकार्न तयार छैनन् र डेमोक्रेटिक दलभित्रका बढी वाम रुझान राख्नेहरूलाई हिलारी क्लिन्टनको उम्मेदवारीले सन्तुष्ट बनाएको छैन ।
दुवैको पक्षमा सशक्त जनलहर पनि छ । डोनाल्ड ट्रम्पले धेरै अमेरिकीहरूका मनमा उत्साह पनि भरेका छन्, त्रास, अविश्वास र घृणा पनि थपेका छन् । ट्रम्पलाई अमेरिका र बाँकी विश्वको लागि खतरा सम्झनेहरू हिलारीको पक्षमा खुलेर लागेका छन् ।
ट्रम्पले अमेरिकी समाजमा भय र त्रास र विभाजनकारी भावना विस्तार गरिरहेको बताउनेहरू त्यसलाई हिलारीको पक्षमा मतमा रूपान्तरण गर्न चाहन्छन् तर तुलनात्मक रूपमा प्रगतिशील आर्थिक र सामाजिक मतका पक्षधरहरू ट्रम्पका अतिवादी विचारजन्य भय र त्रासलाई आफ्ना कार्य र निर्णयहरूको उत्प्रेरक शक्तिका रूपमा स्विकार्न तयार छैनन् ।
यो लक्ष विचलन हो र यसविरुद्ध साहसिक प्रहार आवश्यक पर्दछ भन्ने उनीहरूको मत छ । त्यसैले बर्नी स्यान्डर्सका कतिपय समर्थकहरू यो आधारमा हिलारीलाई मत हाल्न इच्छुक छैनन् र उनीहरू राष्ट्रपतिको निर्वाचनमा मत वहिष्कारको घोषणा गरिरहेका छन् । कतिपय स्थापित रिपब्लिकन नेताहरू पनि ट्रम्पलाई मत नहालेर निरपेक्ष बस्ने घोषणा गरिरहेका छन् ।
आफ्नो सम्बोधनमा हिलारीले ट्रम्पको अत्यन्त निराशावादी दृष्टिकोणबारे कडा प्रतिक्रिया व्यक्त गर्दै ट्रम्पसँग मुलुकका समस्या समाधानसम्बन्धी एउटा पनि सोच नभएको आरोप लगाएकी छन् । एउटा ट्वीटबाटै उत्तेजित हुने व्यक्ति अत्याधुनिक आणविक हतियारसहित संसारको सबैभन्दा शक्तिशाली सेनाको सर्वोच्च सेनापति हुने अधिकार राख्दैनन् भन्ने उनको भनाइ छ ।
विश्वको सबैभन्दा शक्तिशाली सेना, सबैभन्दा सिर्जनशील उद्यमीहरू र दसकौँदेखि संसारमा नवीनतम् आविष्कार र उपलब्धिहरूको नेतृत्व लिइरहेको, सबैभन्दा ठूलो अर्थतन्त्रको स्वामी राष्ट्र कमजोर छ भने बलियो कुन हो भन्ने प्रश्न उनले ट्रम्पसमक्ष राखेकी छन् ।
एउटा बालक हुर्काउन पनि सिंगो गाउँको योगदान आवश्यक हुन्छ भने अमेरिकाका जस्तो महान् राष्ट्रका सबै समस्याहरू आफू एक्लैले समाधान गर्न सक्छु भन्ने ट्रम्पका विचारप्रति उनले तीखो विमतिमा मुलुकको प्रबुद्ध जनमत सहमत देखिन्छ ।
तर पनि निर्वाचनमा राजनीतिक चरित्रहरूको आधारमा मात्र होइन र परम्परागत र युवा मतदाताहरूबीचको अन्योलका कारण आगामी नोभेम्बरको परिणामबारे यसै भन्न सकिने अवस्था भने छैन ।