प्रचण्डको अन्तिम अवसर
द्वापर युगमा राजा इन्द्रले स्वर्गको राजगद्दी छोडी कमलको फुलमा लुकेर तपस्या गर्न थालेपछि देउताहरूको सल्लाहमा पृथ्वीका प्रतापी र दानी राजा नहुषलाई स्वर्गको राजा बनाइन्छ, तर स्वर्गको सुख सुविधा पाएपछि असल र ज्ञानी नहुषको पनि मति भ्रष्ट हुन थाल्छ ।
इन्द्रकी रानी शचीलाई पत्नी बनाउने विचार गर्छन् र शचीको प्रस्तावबमोजिम सप्त ऋषिहरूलाई डोले बन्ने आदेश दिन्छन् । छिटो नहिँडेकाले उनले ऋषिलाई लात्ताले हान्छन् र ऋषिले सर्प बन्ने श्राप दिएर फेरि पृथ्वीमा झारिदिन्छन् । पछि युधिष्ठिरले सर्पलाई असल राजा बन्ने पाठ सिकाएपछि उनी श्राप मुक्त हुन्छन् । यो कथाले अवसरको सदुपयोग नगरी सुखमा मातिएर पदको दुरुपयोग गर्दा दुःख पाइन्छ भन्ने सन्देश दिन्छ । नेपाली राजनीतिमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजा नहुषसँग तुलना गर्न सकिन्छ ।
प्रचण्डको नेतृत्वमा माओवादीले संविधानसभाको चुनाव, जनताको अधिकार, आर्थिक र सामाजिक समानतालगायतका माग राखी २०५२ साल फागुन १ गतेदेखि राज्यविरुद्ध सुरु गरेको सशस्त्र संघर्ष २०६३ साल मंसिर ५ गते तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र प्रचण्डबीच भएको विस्तृत शन्ति सम्झौतापछि अन्त्य भयो ।
एक दशक लामो द्वन्द्वमा १७ हजार भन्दा धेरै नागरिकले ज्यान गुमाए, सयौं बेपत्ता एवं घाइते भए, लाखौं विस्थापित भए र नेपालको अर्थतन्त्रमा नकरात्मक असर पर्यो । यद्यपि प्रचण्डलाई गणतन्त्र, धर्मनिरपेक्षता, संघीयतालगायतका परिवर्तनको नायक र परिवर्तनका नाममा शक्तिकेन्द्रहरूको आडमा देशमा द्वन्द्वबाट अतुलनीय क्षति पुर्याउने आतंककारी ठान्ने दुवै जनमत नेपालमा छ ।
संसदीय व्यवस्थालाई खसीको टाउको राखेर कुकुरको मासु बेच्ने व्यवस्था भन्दै हतियार उठाएका प्रचण्ड आज त्यही संसदीय व्यवस्थाको वकालत गर्दै सत्ता साझेदार दल एमाले नेतृत्वको सरकार ढालेर ९ महिनाका लागि प्रधानमन्त्री बन्ने दौडमा छन् ।
सत्ताकेन्द्रित राजनीतिका खुंकार खेलाडी बनिसकेका प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बन्ने लगभग पक्का भइसके पनि नेपालमा रातारात सहमति बन्ने र भत्किने अनि निकासका नाममा गैरसंवैधानिक र प्रचलनविपरीत सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाउनेजस्ता घटना हेर्दा उनी प्रधानमन्त्री नबनेसम्म सुनिश्चित हुन भने सकिँदैन ।
पहिलो संविधानसभा चुनावपछि जनताले सबैभन्दा ठूलो दलको हैसियतमा पुर्याएर प्रचण्डलाई प्रधानमन्त्री बनाउँछन् तर आफ्नै अपरिपक्वताका कारण अवकाश पाउन लागेका प्रधानसेनापति रुक्मांगद कटुवाललाइ हटाउने निर्णयपछि एमालेले धोका दिएको निष्कर्षका साथ सरकारबाट बाहिरिन उनी बाध्य हुन्छन् ।
दोस्रो संविधानसभाको चुनावबाट तेस्रो दलका रूपमा जनताले खुम्च्याएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेसलगायतका केही दलको सहयोगमा केपी शर्मा ओलीको उत्तराधिकारी बन्दैछन् । सम्भवत यही कारणले राजनीतिलाई सम्भावानाको खेल भनिएको हुनुपर्छ ।
अहिले जनताको श्रापबाट तेस्रो दलका नेताको रूपमा खुख्चिएका प्रचण्डलाई असल शासक बन्ने पाठ सिकाएर शेरबहादुर देउबाले श्राप मुक्त गरिदन लागेको भने होइनन् । नेपाली जनताले मात्र उनलाई श्राप मुक्त गर्न सक्छन् र उक्त समय आएको वा नआएको भन्ने कुरा केवल आगामी निर्वाचनको नतिजाले बताउने छ ।
प्रचण्डका अन्धभक्त कार्यकताले मात्र नभइ अधिकांश जनताले पनि रगतको आहालमा पौडिएर सत्तामा पुगेका प्रचण्डबाट धेरै आशा राखेका थिए तर स्वर्गको सुखमा राजा नहुषको मति भ्रष्ट भएजस्तै प्रचण्डको पनि विवेक सत्ताले शिथिल बनाइदियो । सर्वहारा जनताको नाममा द्वन्द्वमार्फत सत्तामा पुगेका प्रचण्ड विविद कारणले वर्ष दिन पनि नभई धेरै जनताको नजरमा ढोगीं कम्युनिस्ट नेताका रूपमा सीमित भए ।
रक्सी खाने र बनाउनेलाई भाटे कारबाही गर्ने नेताहरू विदेशी रक्सिमा रमाएको, अख्तियारले भ्रष्टचारको कुरा गर्दा तर्सिएको, राजतन्त्रलाई सबै दोष लगाएर गणतन्त्रको नवराजा बनेको कुरा जनताले नजिकबाट भोग्ने अवसर पाए ।
जनताका लागि लडेकाहरू एक अर्कालाई गद्दार भन्दै आफैं टुक्रटुक्रा हुनु, नेताहरूको आर्थिक र नैतिक विचलनबाट परिवर्तनका लगि लडेका कार्यकताहरूमा चरम निराशा छाउनु, युद्ध सुरु गर्नुअघि आफैंले शेरबहादुर देउवालाई राखेको ४० सूत्रीय माग प्रचण्ड र बाबुराम प्रधानमन्त्री हुँदा पनि पूरा गर्न नसक्नु वा नचाहनु, स्वार्थअनुसार पालैपालो दरबार र दिल्लीनिकट हुने ढुलमुले नीति लिनुलगायतका कारणले चीनका माओको सिद्धान्तमा बनेको तर अहिंसावादी गान्धीको देशबाट स्थापनाकालदेखिनै तिरन्तर सहयोग पाएको माओवादीलाई पहिलोबाट तेस्रो ठूलो दल बनाएर जनताले दण्डित गरेका हुन् ।
दीर्घकालमा भारतसँगको परनिर्भरता तोड्ने गरी चीनसँग भएको पारवहनलगायतका सम्झौता कार्यान्वयन प्रचण्डले गरेनन् अनि सार्वभौमिकता र भौगोलिक अखण्डताको मामलामा अधिकांश जनताको इच्छाविपरीत सम्झौता गरे भने आगामी चुनावमा जनताले दण्डित गर्नेछन् ।
प्रचण्ड शक्तिको दम्भ वा अनुभवको कमीका कारण ९ महिनामा बाहिरिन बाध्य भए । सडकमा आएर प्रभुको सामु नझुक्ने भन्दै उनले भाषण पनि गरे तर आज तीनै प्रभुको संरक्षणमा १० वर्षे युद्ध भएको तथ्यबाट सजेत नेपाली जनता बेखबर छैनन् । ओलीलाई भारतले नरुचाएको र उनको सरकार ढल्दा भारत खुसी भएको आसयका समाचार र लेख भारतलगायत विश्वका धेरै सञ्चारमाध्यममा आएको तथ्यबाट पनि जनता अवगत छन् ।
तसर्थ दीर्घकालमा भारतसँगको परनिर्भरता तोड्ने गरी चीनसँग भएको पारवहनलगायतका सम्झौता कार्यान्वयन प्रचण्डले गरेनन् अनि सार्वभौमिकता र भौगोलिक अखण्डताको मामलामा अधिकांश जनताको इच्छाविपरीत सम्झौता गरे भने आगामी चुनावमा जनताले दण्डित गर्नेछन् ।
जनतामा सकरात्मक छाप छोड्नका लागि ९ महिनाको समय असाध्यै थोरै भने होइन । अर्थात जनतामाझ लोकप्रिय मनमोहन अधिकारी नेतृत्वको सरकार पनि ९ महिने थियो र अहिले अधिकांश जनताले प्रशंसा गरेको ओली नेतृत्वको सरकार पनि ९ महिनाको मात्र रह्यो । तसर्थ अब दोस्रो कार्यकाल वा अन्तिम बनाउने भन्ने कुरा प्रचण्डको कार्यशैलीमा निर्भर हुनेछ ।
जनताको विश्वास फेरि आर्जन गर्नका लागि प्रचण्डले व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठेर समग्र देश र जनताको हितमा काम गर्नुपर्छ । नेपाली जनताले धेरै अपेक्षा गरेका पनि छैनन् । प्रचण्डले राज्यको न्यूनतम कर्तव्यमा पर्ने गाँस, बाँस, कपास, शिक्षा, स्वस्थ्य र रोजगारीको ग्यारेन्टी गर्ने इमान्दार पहलकदमी लिए अनि भ्रष्टचार नियन्त्रणमा खरो उत्रिन सके भने जनताले उनलाई श्राप मुक्त गरिदिने छन् ।
जनयुद्धकालमा भारतमा शरण लिएर उसकै विरुद्ध सुरुङ युद्ध गर्ने भारतविरोधी नारामा गरिब जनतालाई उपयोग गरेको अनि भारतको इच्छाविपीरत नचल्ने भन्दै पत्र पठाएको तथ्य जनताबाट कसैले पनि लुकाउन सक्दैन । गरिब जनताले ठूलो मूल्य चुकाएको सशस्त्र आन्दोलन निर्विकल्प थियो वा थिएन भन्ने प्रश्नको जवाफ प्रचण्डसँग जनताले माग्ने छन् ।
प्रचण्डले राम्रो काम गर्नै पर्थेन, नराम्रो नगरेर साधारण जीवनशैली अपनाएको भए अनि पद प्रतिष्ठा पाएपछि अनेक गल्ती नगरेको भए प्रचण्डको व्यक्तित्व यसरी खस्किने थिएन । सम्भवतः उनले आफ्नै मतिले सिध्याएको व्यक्तित्वमा सुधार गर्ने यो अन्तिम अवसरको सदुपयोग गर्ने छन् । तसर्थ नेपाली जनताको मन र मत जित्नु प्रचण्डको एक मात्र अचुक औषधी हो जसका लागि उनले जनतामाझ सबै सत्यतथ्य बताउनुपर्छ ।
पहिलो, जनताको अधिकारका लागि माओवादीले हतियार उठाएका थिए वा शक्तिराष्ट्रहरूको सहयोगमा उनीहरूको स्वार्थपूर्तिका लागि गरिएको डिजाइन थियो भन्ने स्पष्ट जवाफ उनले दिनुपर्छ । अर्थात, आफू सत्तामा पुग्ने सिँढी नभएर जनताको अधिकारका लागि नै जनयुद्ध थियो भने प्रचण्डले खोलानालाले बगाए भन्ने गरेका हातहतियार कुन देशले र कस्ता स्वार्थका लागि दिन्थे भन्ने कुरा बताउनुपर्छ ।
दोस्रो, राजतन्त्र र हिन्दुराष्ट्रको नाम सुन्दासमेत उनलाई ज्वरो आउने गरेको छ तर उनी जनताको लागि राजनीति गर्ने नेताको रूपमा आफूलाई चिनाउन चाहन्छन् भने नेपाली जनताको इच्छाबमोजिम व्यवस्था र प्रणाली परिवर्तन गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुपर्छ । अर्थात भविष्यमा जनताले राजतन्त्र र हिन्दुराष्ट्रको पक्षमा जनमत दिए भने उक्त निर्णयलाई सम्मान गर्न उनले सक्नुपर्छ ।
तेस्रो, समयसीमाभित्र स्थानीय चुनाव गराउन सक्नुपर्छ र द्वन्द्वकालका बलात्कारजस्ता गम्भीर प्रकारका अपराधमा आममाफी नहुने गरी संयुक्त राष्ट्र संघलगायतका अन्तराष्ट्रिय मानवअधिकारबादी संघठनहरूलाई विश्वासमा लिएर शान्ति प्रक्रिया टुंगोमा पनि पुर्याउनुपर्छ ।
साथै, ओली सरकारको विपक्षमा उभिएका मधेस र जनजातिकेन्द्रित दलहरूलाई संवादमार्फत लोकतान्त्रिक विधिबाट आफ्नो माग पूरा गर्ने बाटो रोज्ने गरी सहमतिमा ल्याउनुपर्छ । अर्थात सडक वा आन्दोलनबाट नभई जनताको मतबाट माग पूरा हुनेमा उनीहरूलाई विश्वस्त बनाउनुपर्छ ।
चौथो, राजनीतिक नेतृत्वदेखि निरास भई रोजगारीका लागि विदेशमा रगत पसिना बगाउन बाध्य श्रमिकहरूलाई कृषि र पर्यटन उद्योगको विकास गरेर नेपालमै रोजगारी दिलाउन प्रयत्न गर्नुपर्छ । जनसेनाको तलब वितरणमा भएका सबै घोटला र आफूलाई लागेका भ्रष्टचारका आरोप गलत भएको साबित गर्न सक्नुपर्छ । प्रचण्डलगायतका शीर्ष नेता तथा कार्यकर्ताले आफैंबाट भड्किलो जीवनशैली त्याग्न सुरु गर्नुपर्छ । आलिसान महल त्यागेर हिजो युद्धकालमा बासगास दिने गरिब जनताको झुपडीमा पनि जानुपर्छ ।
नेपाली असल मित्र बन्छन् तर एस म्यान बन्न सक्दैनन् भनेर भारतले नाकाबन्दी लगाएको बेला प्रचण्डले जनताको मन जितेका थिए । राष्ट्रियताको पक्षमा बोलेकाले उनलाई घृणा गर्नेहरूले पनि प्रशंसा गरेका थिए । अहिले उनले आफू प्रधानमन्त्री बनेपछि भारत र चीन दुवै सन्तुष्ट हुने बताएका छन् तर देशको हितविपरीत प्रचण्डले कुनै पनि प्रकारको सम्झौता गरेमा सजेत नेपाली जनता सडकमा फेरि उत्रिनेछन् ।
असमान सन्धिलाई समयअनुकुल परिवर्तन गर्ने, सीमा अतिक्रमण रोक्ने र आन्तरिक मामलामा शक्तिराष्ट्रहरूको हस्तक्षेप रोक्ने सवालमा प्रचण्डले कस्तो नीति लिन्छन् भन्ने कुरा पनि जनताले नियालिरहने छन् । तसर्थ नेपालको हितलाई केन्द्रबिन्दुमा राखेर भारत, चीनलगायत अन्य मित्रराष्ट्रहरूसँग समानताका आधारमा सम्बन्ध निर्माण गर्न सक्छन् वा सक्दैनन् भन्ने कुरामा जनताले उनको मूल्यांकन गर्नेछन् । भत्काउने भन्दा बनाउने राजनीति गर्न हजारौं गुणा असजिलो हुने कुरा आत्मसात गरेर राष्ट्र निर्माणमा लागेर प्रचण्डले अन्तिम अवसरको सदुपयोग गर्लान् ?