महाकविको कोट र बुद्धचित्तको बोट !
महाकवि लक्ष्मीप्रसाद देवकोटा शिक्षामन्त्री भएको सबैलाई थाहा छ, तर सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक भइरहेको कक्षबाटै कविजीको कोट हराएको कुरा सबैलाई भेउ छैन ।
भएछ के भने आफूले लगाएको कोट बसिरहेको मेचपछाडि राखेर कविजी मन्त्रिपरिषद्को बैठकमा एकचित्तले लाग्नुभएछ । बैठक सकिएपछि कोट लगाउन खोज्दा देवकोटाले मेचमा राख्नुभएको कोट त छैन । त्यो कसैले चोरिसकेछ । कोट नपाएपछि खैलाबैला हुने नै भयो ।
न कोट फेला पर्यो न त कोट चोर नै पत्ता लाग्यो । त्यत्तिकैमा मन्त्रीजी त धुरुधुरु रुन लाग्नुभयो । अन्य मन्त्रीहरू देशका शिक्षामन्त्रीलाई सम्झाउन थाले । कसैले भन्यो, त्यसरी कोट खोलेर राख्नै नहुने ! अर्काले भन्यो, चोर्यो त चोर्यो के गर्नु ? अर्काले थप्यो, एउटा कोट हराएकोमा मन्त्री जस्तो मान्छे के रुनुभएको ?
अति भएपछि टीकाटिप्पणीकर्तालाई पुलुक्क हेरेर कविजीले भन्नुभएछ, म कोटको लोभले रोएको होइन, महासय ! यो हराए अर्को लगाउँला तर मलाई गम्भीर चोट परेको के हो भने उहाँले घुँक्क–घुँक्क गर्दै हृदयबाट बोल्दै भन्नुभएछ, देशको सबैभन्दा सुरक्षितस्थल मानिने सिंहदरबारमा बसिरहेको मन्त्रिमण्डलको बैठकबाट कोट हराउँछ भने यो देशका जनता जनार्दनको सरसामान कति सुरक्षित होला ? तिनको भविष्य यो सिंहदरबारबाट कति सुरक्षित हुन्छ होला ? मेरो मन यो सम्झिएर भक्कानिएको हो, महोदयहरू !
गएको शुक्रबार देशको केन्द्रीय सचिवालय रहेको सिंहदरबारमा बीपी संग्रहालयलाई यसअघि धारापानी, सुरक्षा आदिमा दिइएको सहयोग कटाइदिएकोले संरक्षक परशुराम पोखरेलसँगै सहयोग निरन्तर गर्न विभिन्न मन्त्रालयहरू खास गरेर संस्कृति मन्त्रालय, त्यसका सचिव र अन्य शाखाहरूमा दिनभर ओहोरदोहोर गरिरहँदा त्यहाँ अहिले पनि चोरहरूको बिगबिगी रहिरहेको सहजै सुनियो ।
महाकविको कोटको किस्सा थाहा पाएको मेरो मन र कान चनाखा भइहाले । मैले खासखुस गर्ने कर्मचारीलाई उनको नाम कुनै हालतमा सार्वजनिक नगर्ने सर्तमा सोधेँ, महाशय, भएको के हो ? बताउनुहोस् न । उनले सुरुमा आनाकानी गरिरहे । तर मैले पनि उनलाई पछ्याउन छोडिनँ । उनले आफ्ना आँखा र अनुहारलाई फेरि भयग्रस्त बनाए ।
मैले पनि आफ्नो व्यावसायिक पत्रकारको धर्म निर्वाह गर्ने वचन दोहोर्याएँ । त्यसपछि मसिनो स्वरमा उनले भने, प्रधानमन्त्री कार्यालयपरिसरमा रोपिएको 'बुद्धचित्त माला' को बोट चोरियो । रोपिएको बिरुवा उखेलेर लग्ने उपसचिव रहेछन् भन्ने पत्तो लाग्यो ।
यति सुनिसकेपछि मनमनै सोचिरहेको थिएँ, ए, छपन्न/सन्ताउन्न वर्ष अघिदेखिका चोरहरूको निरन्तरता आजका दिनसम्म पनि रहेछ सिंहदरबारमा ! मैले उनलाई सत्यतथ्य जानकारी गराएकोमा धन्यवाद दिएँ । उनलाई विश्वास भएर हो वा समाचारको रोचक पक्ष बताइनसकेको ख्याल भएर हो, मलाई सोधे, त्यसपछि के भयो, त्यो त सोध्दै सोध्नुभएन नि ! उनी पग्रन थालेको थाहा पाएपछि फुक्र्याउँदै भनेँ, तपाईंसँग कति कुरा सोध्नै बाँकी छ नि ।
उनी भन्न थाले, यो बिरुवाको मूल्य एउटैको हजार पर्छ । पत्रपत्रिकाले नेपालमा मात्र पाइने बुद्धचित्त मालाको बोटको एक वर्षको फल नै लाखौँ रूपैयाँको हुने लेखिरहेकाले यो बिरुवा प्रधानमन्त्री कार्यालयको परिसरमा रोपियो पनि । धेरैले यसबारे थाहा पाएपछि चासो राखेकाले बिरुवा जोगाउन त्यतैपट्टि ढल्काएर सिसी क्यामरा फिट पनि गरियो ।
तर अचम्म के भने जुन बिरुवाको लागि सिसी क्यामरा ढल्काइएको छ, त्यस वरिपरिको गतिविधि रेकर्ड गरेर राख्ने सिसी क्यामरालाई वैकल्पिक बिजुलीको व्यवस्था नगरिएको र लोडसेडिङबारे जानकार उपसचिवले मौका पारेर बिरुवा उखेलेर उछिट्याएछन् । कानेखुसी गर्दागर्दै त्यहीँका कर्मचारीले चोर पत्ता पनि लगाएछन् ।
नेपालको सुरक्षा व्यवस्थाबारे धेरै दिनदेखि लागेको खुल्दुलीलाई सिंहदरबारपरिसरलाई नमुना नेपाल मानेर आजको लेखलाई यसै विषयमा केन्द्रित गर्ने प्रयत्न गरिएको छ । हुन पनि सिंगो नेपालको 'मिनिएचर' रूप नै हो सिंहदरबार । आठ सय रोपनीको यस परिसरले करिब डेढ लाख वर्ग किलोमिटर क्षेत्रफल भएको नेपाललाई प्रतिनिधित्व गर्ने भएकाले यसैलाई सम्पूर्ण नेपाल अथवा नमुना नेपाल मानेर हेर्न खोजिएको छ ।
सिंहदरबारमा के छैन ? देशका कार्यकारी प्रधानमन्त्रीको कार्यालयदेखि एकतीसमध्ये ३० वटै मन्त्रालय रहेका छन् । जनप्रतिनिधिहरूको साझा थलो संसद् सचिवालय र संसदीय दलका कार्यालयहरू यही छन् ।
मुख्य सचिवको कार्यालय पनि यहीँ छ । राजनीतिक, प्रशासनिक, आर्थिक, गृह र परराष्ट्रका केन्द्रीय मुकाम यहीँ छन् । भौतिक योजना र सहरी विकास मन्त्रालय पनि यहीँ बसेर देश विकासका धर्सा कोरिरहेको दाबी गर्छन् । चारवटै सुरक्षा निकाय (जनपथ र सशस्त्र प्रहरी, सेना र गुप्तचर) को सुरक्षा परिषद्को बैठक यहीं बस्छ । सिंहदरबारमा सुरक्षाकर्मी भए पनि आर्मीको त जसोतसो ब्यारेक छ, तर प्रहरीको त त्यै पनि छैन । योजना आयोग यहीँ छ ।
अरू त अरू भइगए, भुइँचालो प्राधिकरणका सीईओ पनि टीभीका मोडेल झैँ भुइँचालो गएका चौध जिल्लाका गाउँमा होइन, सिंहदरबार परिसरभित्रै क्याटवाक गरिरहेका देखिन्छन् ! सरकारले चलाइरहेको रेडियो नेपाल र नेपाल टेलिभिजन पनि यही परिसरमा छन् ।
सिंहदरबारपरिसरभित्र २०÷२२ वटा क्यान्टिन रहेछन् । जो केन्द्रीयदेखि पियन हुँदै ठेक्कामा समेत चलेका भेटिए । कर्मचारी संघ÷संगठनका मूल अफिस पनि यहीँ छन् । ड्राइभरसमेत यहीं अड्डा जमाएर बस्छन् । तर पनि सिंहदरबारमा पानी पर्याप्त छैन, साह्रै अभाव छ ।
मुख्यसचिव लीलामणि पौडेल अलीअली भए पनि यहींको फोहोरबाट बायोग्याँस, सोलार र हावाबाट बिजुली निकालेर सिंहदरबारलाई आत्मनिर्भर गराउने कुरा गरिरहन्थे तर सिंहदरबारबाट उनी बिदा भएपछि अहिले आशा जगाउने र अनुशासित हुनुपर्छ भनेर कुरा गर्ने पनि कोही देखिँदैन । कर्मचारीतन्त्र सार्वजनिक हुन सकेको छैन ।
दस हजारजति कर्मचारीले काम गर्ने सिंहदरबारमा चारवटा गेट छन् । मूल द्वार ( (वैशाख १२ को भुइँचालो) को दाहिने पाटोको खापा मात्र सञ्चालनमा छ र ट्राफिक नियमविपरीत यहाँ गाडी चल्छन् । सरकारी गाडीवाला प्रधानमन्त्रीदेखि उच्चस्तरका पदाधिकारी र कर्मचारी आवत–जावत गर्ने गर्छन् ।
पूर्वी द्वार (अनामनगरपट्टि) बाट सरकारी कर्मचारी र तिनका मोटरसाइकल मात्र आउजाउ गर्छन् । दक्षिण द्वार, जहाँ सधैँ मेलामा झैँ मानिस झुम्मिएका हुन्छन्, सेवाग्राही आमजनता र सरकारी कर्मचारीको लागि हो, जसलाई भित्र प्रवेश गर्न पास अनिवार्य छ । पश्चिमपट्टि गृह मन्त्रालयछेउको द्वार गृहका कर्मचारी र सेना–प्रहरीको लागि प्रचलनमा रहेको छ ।
चारवटा गेटले नै सिंहदरबारमा सडक कति छन् भन्ने प्रमाणित गर्छन् । यहाँ पिच गरेका चिल्लादेखि भत्किएका र खाल्डाखुल्डी परेका सडक छन् । जति भवन छन्, ती सबैमा गाडी पुग्छन् । सडकछेउमा पेटी पनि छन्, तर पेटीमा हिँड्ने पोसाकधारी विरलै भेटिन्छन् । यद्यपि, पेटीबाट हिँडौँ भन्ने बोर्ड ठाउँठाउँमा ठडिएका छन् । गाडीहरूको भीडमभीड देख्दा लाग्छ, यो युरोप वा अमेरिकाको कुनै ठाउँ हो ।
भर्खर कारखानाबाट निस्किएका जस्ता चिल्ला र सल्सलाउँदा लाग्ने गाडी बग्रेल्ती पार्किङ गरिएका हुन्छन् । तर पेटीमा र भेट्न आउने मानिस हिँड्न पनि नसकिने गरी पसारो पारेर राखिएका ती सवारी साधन देख्दा हैन, यो देशका मन्त्री, सांसद र उच्च पदस्थ कर्मचारीहरूजति सबै बज्रस्वाँठ नै हुन् कि झैँ नलाग्ने बटुवा नै भेटिएनन् ।
अत्याधुनिक सुविधासम्पन्न यो सानो नेपालरूपी सिंहदरबार व्यवस्थित रहेको भने पटक्कै देखिँदैन । यसको सुरुआत यसको गेटबाटै हुन्छ । जोसँग सरकारले जारी गरेको आईडी कार्ड छैन, सिंहदरबार उसको लागि टाढाको एउटा टापु हो ।
टापुमा जान चाहने डुंगा नभएको व्यक्ति त्यहाँ पुग्न गाह्रो परे पनि ऊ पौडेर जाने सम्भावना जीवितै रहन्छ तर सिंहदरबार छिर्न चाहने गणतन्त्र नेपालको जनसाधारणलाई भने ऊसंग प्रवेशपत्र छैन भने टापु जान चाहने पौडीबाजलाई जति पनि स्वतन्त्रता छैन । आफ्नो चिनजान÷नाताको कर्मचारी छैन भने उसले भित्र छिर्नै पाउन्न । मानौँ यो राणाहरूकै व्यवस्थापनमा चलिरहेको दरबार हो ।
बिहानैदेखि मान्छेको कोहोलो भएको सिंहदरबारको ढोकाका सुरक्षाकर्मी देख्दा पनि टिठ लागेर आउँछ । जनता जनार्दनलाई ती हप्काउँछन् भने ठूला कर्मचारीदेखि सांसदसम्मले तिनलाई दिनभर हप्काइरहन्छन् किनभने सांसद नै ६ सय छन् । ठूला हाकिमहरू त्योभन्दा कैयन् गुना बढी छन् । सुरक्षा निकायभित्रका ठूला पदधारीले सानालाई तिमी÷तपाईं भन्ने चलन चलाएको समयमा सांसद/कर्मचारीको दुर्व्यवहार छिनछिनमा झेलिरहँदा तिनको निरीहपन देख्दा टिठ लाग्छ ।
चारैतिर पर्खालले घेरिएर सुरक्षाकर्मीको पहरामा रहेको देशको मुटुको यो हरिविजोग मात्र होइन, कन्तविजोग देख्दा हाम्रो देशकै उचित व्यवस्थापन हुन कति वर्ष लाग्छ होला ? यस्तै विस्मयकारी अवस्था जोकसैको मनमा उत्पन्न हुनु अस्वाभाविक होइन । त्यसमाथि अहिले सरकारले राजीनामा दिएको अवस्था छ र सम्पूर्ण नेपाल त्यो मिनिएचर होस् वा पूरै नेपाल कर्मचारीतन्त्रको पोल्टोमा गएको छ ।
सिंहदरबारको भित्तामा नयाँ प्रधानमन्त्री र मुख्य सचिवका फोटा फेरिएको फेरिएकै छन् । देश र जनताका समस्या जहाँको तहीँ खडा छन् । जनतालाई नझुलाउने कर्मचारी र सिंहदरबारबाट प्रिन्टर, स्क्यानर, स्ट्यापलर, पन्चिङ, थर्मस, हिटर, कलम, डटपेन, हाइलाइटर, टेप, फ्यान, पर्दा, पेट्रोल, रबर-पेन्सिल, कागज, भित्ते घडी, पार्टपुर्जा, मोबाइल चार्जर, बिजुलीका चिम आदि नचोर्ने कोही देखिएन !
गएको शुक्रबार सिंहदरबारमा सिल्पट बन्दा कर्मचारीहरू 'संक्रमणकाल' मा रमाएर जुन दिन काटिरहेको देखिइयो, त्यसले के पुष्टि गर्यो भने सिंहदरबारमा रहेको प्रशासनिक नेतृत्व त झन् निकम्मा पो रहेछ ! ट्रेड युनियनिज्ममा डुबेका एक कर्मचारीले त मुखै फोरेर भने, हाजिर गरेवापत हामीले तलब पाउने हो, काम गर्ने हो भने थप भत्ता चाहिन्छ !
अर्थमन्त्रीले नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गरे । त्यो पारित नभएको मात्र होइन, सरकारले नै राजीनामा दिने अवस्था सिर्जना भयो । यस्तो समयमा र आर्थिक वर्षको पहिलो महिनामा जुन चटारो र चाप कर्मचारीमाथि हुनुपर्ने हो, उनीहरू त हाइसञ्चोमा रहेको पो पाइयो । उनीहरूमा कुनै फिक्री रहेको देखिएन ।
'सरकारी काम कहिले जाला घाम' भन्दै केन्द्रीय सचिवहरू राजनीतिक संक्रमणकालमा कस्ता निर्णय गरिरहेका छन् हँ ? गाउँ÷नगरका सचिवहरू त निर्वाचित पदाधिकारीविहीन अवस्थामा डेढ दसकदेखि के गरिरहेछन्, त्यो त जगजाहेर नै छ ।
मिनी नेपाल सिंहदरबारको यो अवस्थालाई पर्गेलेर देशलाई ठोस बाटोमा कसरी लगाउने ? आज बुधबार नै नयाँ प्रधानमन्त्रीको चुनाव गर्ने संसदीय कार्यतालिका रहेको छ । तर जो प्रधानमन्त्री बने पनि, दोहोर्याइ–तेहेर्याइ सिंहदरबारको भित्तोमा फोटो टाँसे पनि देशभर परिवर्तनको सन्देश जाने र जनतामा विश्वास बढ्नेभन्दा सिंहदरबारमा मात्रै त्यो सीमित हुने पो देखिँदै छ ।
उच्चस्तरीय प्रशासन सुधार समितिका अध्यक्ष काशीराज दाहाललाई अन्तरिम अवस्थामा कर्मचारीको संवेदनशील भूमिकाबारे सोध्दा उनले प्रतिवेदनहरू कार्यान्वयन नभएको गुनासो गर्दै भने, सार्वजनिक प्रशासन स्थायी सरकार भएकाले नागरिकको जीवन रक्षादेखि सम्पत्ति संरक्षण गर्ने काम यसैले गर्नुपर्छ । उनले अगाडि भने, देशको विकास र स्थायित्वका निम्ति ६० प्रतिशत राजनीतिज्ञ र कर्मचारीमा चालीस प्रतिशत जिम्मेवारी रहन्छ ।
दाहाल अध्यक्ष रहेको प्रशासन सुधार आयोगले दिएको सिफारिसअनुसार नेपालमा अहिलेजस्तो ३१ होइन, १२ वटा मन्त्रालय भए पुग्छ । चुस्त प्रशासन आवश्यक छ । कर्मचारीको आचरण र व्यवहारमा आमूल परिवर्तन गर्नुपर्छ । तर यो प्रतिवेदनलाई न सरकार न त कर्मचारीतन्त्र लागू गर्न तयार छ । उनीहरू यसलाई रद्दीको टोकरीमा फालेर मिनी नेपालमा बसेर पूरै देशको रजाइँ गरिरहेछन् ।
महाकवि देवकोटा क्याबिनेट बैठकबाट कोट चोरिएको पीडा र प्रधानमन्त्री कार्यालय बगैँचामा रोपिएको बुद्धचित्त मालाको बिरुवा चोरिएको पीडामा मुर्छित छन् । सिंहदरबारको भित्तामा नयाँ प्रधानमन्त्री र मुख्य सचिवका फोटा फेरिएको फेरिएकै छन् । देश र जनताका समस्या जहाँको तहीँ खडा छन् ।
जनतालाई नझुलाउने कर्मचारी र सिंहदरबारबाट प्रिन्टर, स्क्यानर, स्ट्यापलर, पन्चिङ, थर्मस, हिटर, कलम, डटपेन, हाइलाइटर, टेप, फ्यान, पर्दा, पेट्रोल, रबर-पेन्सिल, कागज, भित्ते घडी, पार्टपुर्जा, मोबाइल चार्जर, बिजुलीका चिम आदि नचोर्ने कोही देखिएन !