टोट्टनहाम र आर्सनलको फराकिलो जित
![टोट्टनहाम र आर्सनलको फराकिलो जित](https://annapurnapost.prixacdn.net/media/albums/kheladi-ken-57a6ae669e1153.17219035_3EMHDcu0lx.jpg)
लन्डनः नयाँ सिजनको तयारीस्वरूप खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दुई इङ्लिस क्लब टोट्टनहाम हर्टस्पर र आर्सनलले ठूलो अन्तरको जित हात पारेका छन् । शुक्रबार भएको खेलमा टोट्टनहामले इटालियन क्लब इन्टर मिलानलाई ६-१ तथा आर्सनलले नर्वेजियन क्लब भिकिङ एफकेलाई ८-० को भारी अन्तरले पराजित गरेको हो ।
नर्वेको राजधानी ओस्लोमा भएको खेलमा टोट्टनहामले बलियो प्रतिद्वन्द्वी इन्टरविरुद्ध गतिलो प्रदर्शन गरेको थियो । आफ्ना भरपर्दा खेलाडी गोल गर्न सफल भएपछि टोट्टनहामले सहज जित हात पारेको हो । टोट्टनहामका लागि ह्यारी केनले दुई तथा इरिक लमेला, डेली अली, भिसेन्ट जान्सिन र सयोन हारिसनले एकएक गोल गरेका थिए । ओस्लोस्थित उल्लेभाल स्टेडियममा दुवै टोलीले खेलको सुआतबाटै आफ्नो पहिलो रोजाइका खेलाडीलाई मैदानमा उतारेका थिए । त्यसैले खेल सुरुआतबाटै रोमाञ्चक बनेको थियो । तर, गोलमा भने टोट्टनहाम सफल देखियो ।
खेलमा टोट्टनहाम केही भाग्यशालीसमेत देखियो । उसले विवादास्पद पेनाल्टी अवसरमार्फत खेल सुरु भएको पाँचौं मिनेटमै अग्रता बनाएको थियो । किल वाल्करलाई इन्टरका क्रिस्टियन अन्साल्डीले फल प्रहार गरेपछि टोट्टनहामले पेनाल्टी अवसर पाएको थियो । सोही अवसर सदुपयोग गर्दै केनले टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, इन्टरले त्यसको १९ मिनेटपछि खेल १-१ को बराबरीमै फर्कायो । इभान पेरिसिकले व्यक्तिगत उत्कृष्ट प्रदर्शनमा टोलीलाई १-१ को बराबरीमा फर्काएका थिए ।
तर टोट्टनहामले पहिलो हाफमै फेरि अग्रता बनायो । डी बक्स भित्रैबाट सुन्दर प्रहार गर्दै लमेलाले गोल गरेपछि टोली २-१ ले अघि बढेको थियो । पहिलो हाफमा २-१ ले नै अघि रहेको टोट्टनहाम दोस्रो हाफमा थप चार गोल थप्दै सानदार जित हात पार्न सफल रह्यो । दोस्रो हाफमा मैदानमा छिरेका जान्सेनको उत्कृष्ट पासको सदुपयोग गर्दै अलीले टोलीको अग्रता तेब्बर पुर्याएका थिए । खेलको ५७औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-१ को अग्रता दिलाए ।
पहिलो हाफमा प्रतिस्पर्धात्मक देखिएको इन्टर दोस्रो हाफमा भने निकै कमजोर देखिएको थियो । त्यसपछि जान्सेन र ह्यारिसनले एकएक गोल थप्दै टोट्टनहामको जित ६-१ पक्का पारेका थिए । नयाँ सिजनअघि प्रशिक्षक माउरिसिओ पोचेटिनोको टोलीका लागि यो नै अन्तिम अन्तर्राष्ट्रिय अभ्यास खेल हो । टोट्टनहामले अर्को शनिबार एभर्टनविरुद्धको खेलमार्फत इङ्लिस प्रिमियर लिगमा आफ्नो यात्रा सुरु गर्नेछ ।
नर्वेको स्टाभांगरस्थित भिकिङको घरेलु मैदानमा भएको खेलमा आर्सनलले पनि उत्कृष्ट प्रदर्शन गर्दै एकपक्षीय जित हात पारेको हो । खेल सुरु भएको तेस्रो मिनेटमै सान्टी क्याजोर्लाले पेनाल्टी अवसर खेर फालेपछि आर्सनलले सुरुआतमै अग्रता बनाउने अवसर चुकाएको थियो । यद्यपि त्यसपछि जोइल क्याम्पबेल, थियो वाल्कट, एलेक्स ईओबी र चुबा एक्पोङले पनि गोल गरेका थिए । पेनाल्टी अवसर चुकाएका क्याजोर्लाले समेत टोलीका लागि एक गोल थपे भने अर्काे एक गोल आत्मघाती उपहार पाएका थिए । नयाँ सिजनअघि आर्सनलका लागि पनि यो अन्तिम अभ्यास खेल हो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)