चित्रकारलाई फोटोग्राफी गौरव
![चित्रकारलाई फोटोग्राफी गौरव](https://annapurnapost.prixacdn.net/media/albums/BKT-Sangalo-57a6b2fdb458d6.24939215_lUZBdhWt2P.jpg)
भक्तपुरः वरिष्ठ फोटोग्राफर बखतबहादुर चित्रकारले फोटोग्राफी गौरव सम्मान प्राप्त गरेका छन् । २०११ सालदेखि फोटोग्राफीमा अनवरत लागेका वरिष्ठ फोटोग्राफर चित्रकारलाई किपाः ग्राफी भक्तपुरले शनिबार सम्मान गरेको हो ।
किपाः ग्राफी भक्तपुरको प्रथम वार्षिकोत्सवमा आयोजित समारोहमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चित्रकारलाई दोसल्ला ओढाउँदै सम्मान गरेका हुन् ।
नेपाली फोटोग्राफीको विकास तथा विस्तारसँगै अन्तर्राष्ट्रिय तहमा परिचित गराउन चित्रकारको विशेष भूमिका रहेको भन्दै उनलाई सम्मान गरिएको हो । वि.सं. १९८६ मा काठमाडौंको यट्खामा जन्मिएका चित्रकारलाई सम्मान गर्दै सांसदसमेत रहेका नेमकिपाका अध्यक्ष बिजुक्छेले फोटोग्राफी विज्ञानमात्र नभई कला पनि भएकाले यसमा साहित्य थप्न सुझाव दिए ।
‘एउटा फोटोले धेरै शब्द व्यक्त गरेको हुन्छ तर सबैले ती शब्द देखेका हुँदैनन्', उनले भने, ‘त्यसैले फोटोग्राफरहरूले फोटोले बोकेका शब्दहरू साहित्यमा व्यक्त गर्नुपर्छ ।'
सम्मानित फोटोग्राफर चित्रकारले पहिले र अहिलेको फोटोग्राफीमा धेरै प्राविधिक विकास भइसकेकाले सोहीअनुसार नयाँ पुस्ता अघि आउनुपर्ने धारणा राखे ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेले किपाः ग्राफी भक्तपुरद्वारा प्रकाशित एवं फोटो पत्रकारिताका प्राध्यापक सरद राईद्वारा लिखित ‘प्राक्टिकल फोटोग्राफी' पुस्तकसमेत विमोचन गरे ।
कार्यक्रममा पुस्तकका लेखक राई, वरिष्ठ फोटोग्राफरहरू जगदीश तिवारी, सागर श्रेष्ठ, फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्कीलगायतले फोटोग्राफीको सम्भावना बढेकाले यही क्षेत्रमा केही न केही गर्न सकिने धारणा राखे ।
किपाः ग्राफी भक्तपुरका अध्यक्ष सुरेशराज शाक्यले छरिएर रहेका भक्तपुरका फोटोग्राफरलाई एकजुट गर्दै फोटोग्राफीमार्फत समाजमा योगदान दिने उद्देश्यले किपाः ग्राफी भक्तपुर स्थापना गरिएको जानकारी दिए ।
उनले फोटोग्राफीमार्फत भक्तपुरको कलासंस्कृति तथा सम्पदा संरक्षणमा सहयोग गर्ने संस्थाको लक्ष्य रहेको बताए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)