उत्कृष्ट दायित्व निर्वाह

उत्कृष्ट दायित्व निर्वाह

भारतको विहार राज्यलाई अराजकता र राज्यविहीनताको पर्यायका रूपमा लिइन्थ्यो, कुनै बेला । भ्रष्टाचार र अराजकतामाथि विहारको एकाधिकार थिएन भारतभित्र, तर कुनै रूपमा भारतका अन्य भागले पनि विहारलाई हेय दृष्टिका साथ हेर्दथे ।

विभिन्न किसिमका अपराधहरूको बिगबिगीकै बीचमा सन् ८० को मध्यतिर एकजना न्यायाधीशले अत्यन्तै सनसनीपूर्ण निर्णय सुनाए, जुन त्यहाँको सुरक्षा अधिकारी र राज्य प्रशासनका लागि एउटा अपमानजनक थप्पड नै थियो, एउटा न्यायिक संस्थाद्वारा । विहारमा अपहरणको उद्योग र त्यसमा संलग्नहरूले समानान्तर सरकार चलाएको उनको टिप्पणी थियो, एउटा न्यायिक इजलासमार्फत ।

त्यसको झन्डै २५ वर्षपछि मुख्यमन्त्रीका रूपमा नीतिशकुमारले जिम्मेवारी सम्हालेपछि विहारको छविमा सुधार आयो । विकास कार्यले तीव्रता लिएलगत्तै अराजकता र भ्रष्टाचारका आरोपबाट ऊ मुक्त भएजस्तो देखिएको र अपहरणका घटनामा पनि कमी आउन थाले, यद्यपि त्यो समाप्तै हुन सकेन ।

 

तर केही वर्षकै अन्तरमा अपहरणको त्यो उद्योगमा भारतीय या विहारका अपराधीहरूले सीमावर्ती नेपाल क्षेत्रमा हैन, केही त्यस्तै प्रवृत्तिका नेपालीहरूसँग साँठगाँठ बढाए । नेपालभित्रबाट अपहरण गरी सीमापारि लैजाने या उताबाट अपहरण गरी नेपलामा बन्धक बनाउने र अपहरितका परिवारसँग फिरौतीको डिल गर्ने काम ती आपराधिक समूहले गर्न थाले ।

विहारको कटिहार जिल्ला सोमबार र आइतबार ठप्प रहे । त्यहाँका एकजना सम्पन्न वासिन्दाका चार वर्षीया छोरी स्पर्शलाई अपराधीहरूले अपहरण गरी सीमावर्ती विराटनगरमा ल्याए । स्पर्शका परिवारसँग फिरौतीबारे 'डिल' गर्ने तयारी अपराधीसमूह या त्यसका नाइकेले गर्दै गर्दा नेपाल प्रहरीले उनीहरूलाई गिरफ्तार त गर्‌यो नै, त्योसँगै विहार प्रहरीको रोहवरमा स्पर्शका बा–आमालाई छोरी बुझाए ।

नेपाल प्रहरीले आफ्ना कर्तव्यपरायणतालाई व्यावसायिक र दक्ष ढंगले सावित त गर्‌यो, उसले मानवीय संवेदनशीलतासँगै नेपाली भूमिलाई स्वदेशी या विदेशी आपराधिक समूहद्वारा प्रयोग हुन नदिने सरकारको प्रतिबद्धतालाई पनि व्यवहारमा उतार्‌यो ।

नेपाल र भारतबीचका सम्बन्धमा राजनीतिक र कूटनीतिक तहमा उतारचढाव तथा तीक्तता अपवादका विषय हैनन् । तर दुवै मुलुकमा शान्ति र सार्वजनिक सुरक्षा सामान्य जनताका अधिकार हुन् । दुईतिरका सुरक्षा निकायहरूले दक्षता र इमानदारीसाथ सीमावर्ती क्षेत्रका आपराधिक समूह र उनीहरूका गतिविधिमा निगरानी र नियन्त्रण अनि उनीहरूलाई कानुनको दायरामा ल्याउन सके भने सीमावर्ती क्षेत्रलाई अपराधमुक्त राख्न सहज हुनेछ ।

स्पर्शका अपहरणकारीहरूको गिरफ्तारी र नेपाल प्रहरीद्वारा देखाइएको कर्तव्यपरायणतालाई सीमापारिले सही रूपमा प्रशंसा गर्न सक्यो भने भोलिका दिनमा पनि अपराधविरुद्धका गतिविधिमा सहयोगद्वारा अपेक्षित सफलता हासिल हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.