स्वर्ण बेचेको १३ वर्षपछि अर्काे स्वर्ण
![स्वर्ण बेचेको १३ वर्षपछि अर्काे स्वर्ण](https://annapurnapost.prixacdn.net/media/albums/10_United-States-Anthony-Ervin-sings-the-national-anthem-after-winning-the-gold-medal-in-.jpg)
रियो दी जेनेरियोः अमेरिकी पौडीबाज एन्थोनी इर्भिनले आफ्नो ओलम्पिक स्वर्ण पदक बेचेको १३ वर्षपछि ओलम्पिकमै फेरि अर्को स्वर्ण पदक जितेका छन् । ३५ वर्षीय अफ्रिकी मूलका अमेरिकी खेलाडी इर्भिनले शुक्रबार रियो ओलम्पिकको ५० मिटर फ्रिस्टाइलमा स्वर्ण जित्दै आफ्नो नाममा ओलम्पिक स्वर्ण पदक थपेका हुन् । इर्भिनको खेलयात्रा निक्कै रोचक छ ।
इर्भिनले सन् २००० मा सिड्नीमा भएको ओलम्पिक खेलकुदमा ५० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेका थिए । त्यस बेला इर्भिन आफ्ना साथी गारी हाल जुनियरसँगै एकै समयमा दूरी पूरा गर्दै संयुक्त रूपमा विजेता घोषित भएका थिए ।
उनी त्यस बेला ओलम्पिक खेलकुदमा स्वर्ण पदक जित्ने पहिलो अफ्रिकी मूलका अमेरिकी पौडी खेलाडीसमेत बनेका थिए । तर, सन् २००३ मा इर्भिनले पौडी खेल नै त्यागिदिए । अनि उनले सिड्नी ओलम्पिकमा आफूले जितेको स्वर्ण पदक पनि बेच्ने निर्णय सार्वजनिक गर्दै सबैलाई आश्चर्यमा पारेका थिए ।
तर, इर्भिनले सन् २००४ मा आएको इन्डियन ओसियन सुनामीका पीडितलाई सहयोग गर्न आफ्नो ओलम्पिक स्वर्ण पदक बेच्ने निर्णय गरेका थिए । त्यसैले उनले आफ्नो पदक लिलामीमा पनि राखे । उनले आफ्नो पदक बेचेर आएको १७ हजार एक सय अमेरिकी डलर सुनामीपीडितको सहयोगका लागि सहयोग गरे । त्यसपछि उनी अन्य क्षत्रमै रमाउन लागे । उनी कामकै सिलसिलामा क्यालिफोर्नियाबाट न्युयोर्क पुगे । फेरि फर्किएर आफ्नो पढाइमा लागे र क्यालिफोर्नियाबाटै डिग्री पास गरे ।
लामै समय अन्य क्षेत्रमा व्यस्त बने पनि उनले पौडीप्रतिको मोह त्याग्न सकेनन् । इर्भिन पौडीमा फर्किए । सुरुआतमा ससाना बालबालिकालाई पौडी सिकाउन थाले । आफै पनि खेल्न थाले ।
फलस्वरूप उनी सन् २०१२ को ओलम्पिकका लागि अमेरिकाको टोलीमै छानिए । तर, लन्डन ओलम्पिकमा ५० मिटरको फ्रिस्टाइलमै प्रतिस्पर्धा गरेका उनले अमेरिकालाई पदक दिलाउन भने असफल बने । त्यस बेला उनी पाँचौं स्थानमा सीमित हुन पुगेका थिए ।
त्यसको चार वर्षपछि रियो ओलम्पिकमा भने उनले अमेरिकालाई स्वर्ण पदक नै दिलाएका छन् । शुक्रबार निर्धारित दूरी २१.४० सेकेन्डका साथ पूरा गर्दा इर्भिन ओलम्पिक खेलकुद इतिहासमै नयाँ कीर्तिमान कायम गर्न सफल भएका छन् ।
इर्भिन ओलम्पिक खेलकुदमा स्वर्ण पदक जित्ने सबैभन्दा बढी उमेरका पौडी खेलाडी बनेका छन् । इर्भिनले साविक विजेता फ्रान्सेली फ्लोरेन्ट मनाउडोउलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन् । यो स्पर्धामा इर्भिनकै साथी नाथन एड्रियनले कांस्य पदक जिते । आफ्नो खेल जीवनमा धेरै खाले उतारचढाव सहँदै अघि बढेका इर्भिनले स्वर्ण जितेसँगै खुसी व्यक्त गरे । त्यस क्रममा उनले अहिलेसम्म गोप्य राखेको एक तथ्य पनि खोलेका छन् । रियो ओलम्पिकको छनोट प्रतियोगिताको दौरान उनी छोरीका पिता बनेका थिए ।
तर, ओलम्पिकको छनोट, त्यसपछि तयारी र अहिले प्रतियोगिताको दौरान उनले आफूले अहिलेसम्म आफ्नी छोरीको मुख हेर्नसम्म नपाएको बताए । ‘यो त मेरा लागि ठूलो बज्रपातजस्तै हो । मैले अहिलेसम्म आफ्नी छोरीको अनुहार हेर्नसमेत पाएको छैन', उनले भने । इर्भिनले यसपटकको स्वर्ण पदक भने आफैसँग राख्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)