राष्ट्रिय टोलीमा फर्किए लियोनल मेसी
![राष्ट्रिय टोलीमा फर्किए लियोनल मेसी](https://annapurnapost.prixacdn.net/media/albums/11_FC-Barcelonas-Lionel-Messi-attends-a-training-session-at-the-Sports-Center-FC-Barcelon.jpg)
बार्सिलोनाः चर्चित अर्जेन्टिनी फुटबलर स्टार लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट लिएको सन्न्यास फिर्ता लिएका छन् । दुई महिनाअघि सम्पन्न कोपा अमेरिका सेन्टेनारियो कप फुटबलको फाइनलमा अर्जेन्टिना चिलीसँग पराजित भएपछि मेसीले अब राष्ट्रिय टोलीबाट नखेल्ने सञ्चारमाध्यामबाट जानकारी दिएका थिए । कोपा अमेरिका कपको फाइनलमा उनी टाइब्रेकरमा चुकेका थिए ।
चार अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेर पनि उपाधि नजित्नु आफ्नो भाग्य नभएको भन्दै सन्न्यास लिएको बताएका थिए । उनको यो निर्णयले विश्व फुटबललाई नै आश्चर्यमा पारेको थियो । यी २९ वर्षीय स्ट्राइकरलाई राष्ट्रिय टोलीमा फर्काउन अर्जेन्टिनाका राष्ट्रपतिदेखि त्यहाँका नागरिकले समेत सन्न्यास फिर्ता लिन निकै दबाब दिएका थिए ।
केही साताअघि अर्जेन्टिनी फुटबल टोलीको प्रशिक्षक नियुक्त भएका एडगार्डो बाउजासँगको कुराकानीपछि मेसी राष्ट्रिय टोलीमा फर्कन सहमत भएको अर्जेन्टिनी अखबार ला नासियनले उल्लेख गरेको छ । मेसीले देशको मायाले टोलीलाई सहयोग गर्न आफूले सन्न्यास फिर्ता लिएको बताएका छन् ।
‘मैले अहिले अर्जेन्टिनी फुटबलमा धेरै समस्या देखेको छु र मेरो कारणले अर्को समस्या थप्न चाहन्न । म थप क्षति भएको हेर्न चाहन्नँ । मैले गर्न सक्नेजति गर्दै आएको छु । खासगरी अर्जेन्टिनी फुटबलमा केही समस्याको समाधान तत्काल आवश्यक छ । यसका लागि म बाहिर बसेरभन्दा टोलीभित्रै रहेर सहयोग गर्न चाहन्छु', सर्वाधिक पाँचपटकका फिफा वर्ष खेलाडी मेसीको भनाइ उद्धृत गर्दै ला नासियनले उल्लेख गरेको छ ।
अर्जेन्टिनाका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता मेसीले राष्ट्रिय टोलीबाट खेलेका एक सय ३३ खेलमा ५५ गोल गरिसकेका छन् । मेसीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई पछिल्लो तीन वर्षमा तीन महत्वपूर्ण प्रतियोगिताको फाइनलमा पुर्याएका थिए ।
तर, अर्जेन्टिना ती प्रतियोगिताको फाइनलमा अतिरिक्त समय र टाइब्रेकरमा उपाधिबाट चुक्दै आइरहेको थियो । अर्जेन्टिना पछिल्लो २३ वर्षयता सिनियर अन्तर्राष्ट्रिय उपाधिविहीन छ ।
मेसीले अर्जेन्टिनालाई सन् २०१४ को फिफा विश्वकप, गत वर्षको कोपा अमेरिका र यो वर्षको कोपा अमेरिकाको फाइनलमा पुर्याएका थिए । सन् २००७ को कोपा अमेरिकामा अर्जेन्टिना फाइनल पुग्दा पनि मेसी टोलीमा थिए । मेसीकै उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले सन् २००८ मा ओलम्पिकमा स्वर्ण जितेको थियो ।
मेसीले राष्ट्रिय टोलीमा फर्कने निर्णय गरेपछि विश्वभरका उनका समर्थकले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन् । ‘गत कोपा अमेरिकाको फाइनलपछि मेरो दिमागमा धेरै कुरा खेल्यो । र, म साँच्चिकै राष्ट्रिय टोलीबाट बिदा हुने निर्णयलाई गम्भीरतापूर्वक लिएको थिएँ । राष्ट्रिय टोलीमा मेरो पुनरागमन चाहने सबैलाई म धन्यवाद दिन चाहन्छु ।
आशा गरौं, हामी चाँडै खुसीको खबर दिनेछौं', मेसीले भनेका छन् । मेसीले सन्न्यास फिर्ता लिएलगत्तै उनलाई विश्वकप छनोटअन्तर्गत आगामी महिना उरुग्वे र भेनेज्वेलाविरुद्ध हुने खेलका लागि अर्जेन्टिनी टोलीमा समावेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)