सम्झाैता सकिँदा पनि बनेन सडक

सम्झाैता सकिँदा पनि बनेन सडक

 धरानः ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण सुनसरीको धरान–चतरा सडकको १२ किलोमिटर मोटरबाटा कालोपत्रे गर्ने काम अलपत्र परेको छ । ठेक्का सम्झौताको मिति सकिँदासमेत ठेकेदारले उक्त सडक कालोपत्रे गर्ने काम सम्पन्न नगरेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको भन्दै स्थानीय बासिन्दा आक्रोसित भएका छन् ।

धरान उपमहानगरपालिकाको १७ नम्बर वडादेखि बराहक्षेत्र गाविसको चतरासम्मको १२ किलोमिटर लम्बाइ र १० मिटर चौडाइको मोटरबाटो कालोपत्रे गर्ने काम सडक डिभिजन कार्यालयको बेवास्ता र ठेकेदार कम्पनी नार्गाजुन कन्स्ट्रक्सन प्रालि काठमाडौंको चरम लापरबाहीका कारण समयमा सम्पन्न नभएको भन्दै स्थानीय बासिन्दाले दोषीमाथि कारबाहीको माग गरेका छन् ।

धरान–चतरा सडक कालोपत्रे गर्न नार्गाजुन कन्स्ट्रक्सन प्रालिले ६ करोड ४२ लाख १७ हजार रुपैयाँमा ठेक्का पारेको थियो । नार्गाजुनका तर्फबाट ठेकेदार विष्णु फुँयालले २०७० साल चैत १९ गते २०७३ असार मसान्तसम्ममा सडक कालोपत्रे सक्ने गरी सडक डिभिजन कार्यालय विराटनगरसँग सम्झौता गरेका थिए ।

ठेकेदार कम्पनीको चरम लापरबाही ।

६ करोड ४२ लाख १७ हजार रुपैयाँमा ठेक्का ।

ठेकेदारलाई कारबाही गर्न माग ।

ठेकेदार फुँयालले समयमा सडक कालोपत्रे गर्न चासो नदेखाएपछि धरान–सडक कालोपत्रे गर्ने काम अलपत्र बनेको चतराका डम्बर सिग्देलले बताए । उनले सम्झौता मिति सकिँदासमेत सडक कालोपत्रे नगर्ने ठेकेदारलाई कडा कारबाही गर्नुपर्ने माग गरे ।

सुनसरीको प्रमुख पर्यटकीय स्थल चतराधाममा २०७० सालमा सञ्चालन भएको महाकुम्भमेलाको उद्घाटन गर्न आएका तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र तत्कालीन राष्ट्रपति रामवरण यादवले धरान-चतरा सडक जीर्ण बनेको भन्दै तत्काल कालोपत्रे गरी यातायातका साधन सञ्चालनमा सहज बनाउन सडक विभागलाई निर्देशन दिएका थिए ।

कोइराला र यादवको निर्देशन पश्चात् सडक विभागले उक्त सडक कालोपत्रे गर्ने काम सुरु गरेको भए पनि समयमा काम सम्पन्न भएन । चतराका रामबहादुर श्रेष्ठले सडक डिभिजन कार्यालय विराटनगरका कर्मचारीले ठेकेदार कम्पनीलाई बेलाबेलामा सचेत नगराएका कारण धरान– चतरा सडक कालोपत्रे हुन नसकेको बताए ।

सडक डिभिजन कार्यालय विराटनगरले २०७३ असार मसान्तसम्ममा धरान–चतरा सडक कालोपत्रे गरी सक्नुपर्ने भए पनि ठेकेदार फुँयाल हालसम्म सडकको प्रगति विवरणको निरीक्षण गर्नसमेत आएका छैनन् ।

धरान–चतरा सडकको कालोपत्रे गर्ने जिम्म्मा लिएको नार्गाजुनका ठेकेदार फुँयालले उक्त मोटरबाटो कालोपत्रे गर्न इनरुवाका हजमुल मियाँलाई पेटी ठेक्का दिएपछि मियाँले समेत कालोपत्रे गर्ने काम समयमा सम्पन्न गर्न सकेनन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोसी अञ्चलका उपाध्यक्ष लक्ष्मी बानियाँले धरान–चतरा सडकको कालोपत्रे नभएका कारण यातायातका साधन सञ्चालनमा समस्या भएको बताए । उनले समयमा सडक कालोपत्रे गर्ने काम सम्पन्न नगर्ने ठेकेदारमाथि कडा कारबाही गरी तत्काल कालोपत्रे गर्न माग गरे ।

पेटी ठेकेदार मियाँले ठेकेदार फुँयालले समयमा रकम भुक्तानी नगरेका कारण समयमा कालोपत्रे गर्न नसकिएको बताए । उक्त सडकको मुख्य ठेकेदार फुँयालले भने सडक डिभिजन कार्यालयले समयमा रकम भुक्तानी नगरेका कारण मोटरबाटो कालोपत्रे गर्न नसकिएको बताए । उनले सडक विभागले उक्त सडकको ठेक्का सम्झौताको म्याद थप गरिदिए दसैंअगाडि कालोपत्रे गर्ने बताए ।

सडक डिभिजन कार्यालय विराटनगरका इन्जिनियर जितेन्द्र चौधरीले ठेकेदार कम्पनीले समयमा मोटरबाटो कालोपत्रे गर्ने काम नसकेकाले कारबाहीका लागि सडक विभागमा पत्रचार गरिएको बताए । उनले सडक विभागको निर्देशनअनुसार ठेकेदारलाई कारबाही प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.