चाउ एन लाईको नेपाल दृष्टि

चाउ एन लाईको नेपाल दृष्टि

तत्कालीन प्रधानमन्त्री विपी कोइरालाको निमन्त्रणामा नेपाल भ्रमणमा आएका चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले २०१७ साल वैशाख १६ गते (सन् १९६० अप्रिल २८) नेपालको महासभा र प्रतिनिधी सभाको संयुक्त बैठकमा दिएको मन्तव्य सन् १९६० मे ३ को पेकिङ रिभ्युमा प्रकाशित भएको थियो । सोही मन्तव्यको अनौपचारिक अनुवादः

तीन वर्षपछि हाम्रो छिमेकी देश नेपालको मैत्रीपूर्ण भ्रमण गर्न पाउँदा र महासभा र प्रतिनिधि सभाको यो संयुक्त अधिवेशनमा संसद् सदस्यहरूसँगको बैठकमा भाग लिन पाएकोमा म हृदयदेखि नै आभारी छु । सहृदयतापूर्ण निमन्त्रणका लागि म सम्माननीय प्रधानमन्त्री कोइरालालाई हृदयदेखि नै धन्यवाद दिन्छु । श्री ५ को सरकारको न्यानो आतिथ्यताका लागि पनि धन्यवाद दिन्छु ।

संसद्का श्रीमान् अध्यक्षज्यू र श्रीमान् सभामुखज्यूमा यो सम्माननीय मञ्चमा बोल्ने अवसर दिनुभएकोमा र म तथा मेरा सहकर्मीहरूलाई न्यानो स्वागत गर्नुभएकोमा हार्दिक कृतज्ञता ज्ञापन गर्छु । चिनियाँ जनताका तर्फबाट नेपाली जनतासमक्ष मैत्रीपूर्ण अभिवादन टक्य्राउने मौका पाएकोमा म आफैंलाई धन्य सम्झन्छु ।

चीन र नेपाल प्राचीन र तरुण देशहरू हुन् । यी दुई देशबीचको मित्रता परम्परागत रूपमै स्थायी रहिआएको छ । दुई देशबीचको औपचारिक कूटनीतिक सम्बन्धले हाम्रो मित्रतालाई नवीकरण गरेको मात्र छैन, यसले शान्तिपूर्ण सहअस्तित्वको पञ्चशील सिद्धान्तको जगमा नयाँ सुन्दर छिमेकी सम्बन्ध पनि स्थापित गरेको छ । बितेका केही वर्षमा हामी दुई देशले शान्तिपूर्ण सहअस्तित्वको पञ्चशील सिद्धान्तलाई निरन्तरता दिँदै आएका छौं ।

भर्खरै सम्पन्न चीन-नेपालबीच भएको सीमा सम्झौता र चीन-नेपाल आर्थिक सहयोग सम्झौताले हामीबीच रहेको मैत्रीपूर्ण सहकार्यको सम्बन्ध नयाँ चरणमा पुगेको छ । भिन्दाभिन्दै सामाजिक प्रणाली हुँदाहुँदै पनि शान्तिपूर्ण सहअस्तित्व निर्माण गर्न सफल भएकोमा दुवै देशका सरकार र जनताको प्रयासलाई धन्यवाद दिँदा अतिशयोक्ति नहोला ।

चीन र नेपाल दुवैले देश निर्माणका लागि कठिन परिस्थिति सामना गर्नु परेको छ । हामीले गम्भीरतापूर्वक मनन गरेका छौं, हामी एसियाली र अफ्रिकी देशहरू आर्थिक रूपमा आत्मनिर्भर भएमात्र राजनीतिक आत्मनिर्भरता तथा हाम्रो पूर्ण आत्मनिर्भरता सुनिश्चित गर्न सक्छौं । आजसम्म पनि हामी आर्थिक रूपमा पछाडि छौं र हामीसँग निर्माणको अनुभवको अभाव छ ।

यो वस्तुगत वास्तविकताले हामीले एकअर्कालाई सहयोग गर्नुपर्छ र आर्थिक निर्माणमा सहकार्य बलियो बनाउनुपर्छ भन्ने निश्चित गर्छ । एसियाली र अफ्रिकी देशहरूमध्ये कुनै एकको पनि राष्ट्रिय अर्थतन्त्रको विकास हुनु आफैंमा अन्य देशका लागि उत्साह र साथ हो । यही भावनाले नै चिनियाँ जनताले एसियाली र अफ्रिकी देशहरूसँग आर्थिक सहकार्य बलियो बनाइरहेछन् । नेपाल छिट्टै नै बलियो र समृद्ध बन्नेमा हामी विश्वस्त छौं । अन्य एसियाली र अफ्रिकी देशहरूलाई जस्तै नेपालको समृद्धि र सुदृढीकरणका लागि चीनले प्रभावकारी साथ दिनेछ ।

चीन र नेपाल दुवै शान्तिप्रिय देश हुन् साथै आत्मनिर्भरता र स्वतन्त्रतालाई महत्व दिन्छन् । संविधानमा नै चिनियाँ जनताले वैधानिक रूपमै आफ्नो इच्छा यसरी अभिव्यक्त गरेका छन्, ‘विश्वशान्ति र मानवताको प्रगतिका निम्ति हाम्रो अन्तर्राष्ट्रिय नीति दृढ र बलियो हुन्छ ।’

एसिया, अफ्रिका, ल्याटिन अमेरिकामा भएको साम्राज्यवाद र उपनिवेशवादविरोधी संघर्षको विजय तथा राष्ट्रिय आत्मनिर्भरताको रक्षा एवं नयाँनयाँ राज्यको अभ्युदयले हामी हर्षित छौं । विश्वव्यापी रूपमै उठिरहेको स्वतन्त्रता आन्दोलनहरू र शान्तिप्रिय देश र जनताले विश्वभर गरिरहेको अनवरत प्रयासले आज अन्तर्राष्ट्रिय परिस्थितिमा एक प्रकारको अमनचैन कायम भएको छ ।

दुई देशबीचको औपचारिक कूटनीतिक सम्बन्धले हाम्रो मित्रतालाई नवीकरण गरेको मात्र छैन, यसले शान्तिपूर्ण सहअस्तित्वको पञ्चशील सिद्धान्तको जगमा नयाँ सुन्दर छिमेकी सम्बन्ध पनि स्थापित गरेको छ ।

विश्वशान्तिको प्रयास बलियो हुँदै गरेकाले पश्चिमा मुलुकहरूले पनि अमनचैनका लक्षणहरू देखाउनु परेको छ । विश्व शान्तिको विजयका लागि अहिलेजस्तो सम्भावना पहिला देखिएको थिएन भन्न सकिन्छ । यसले गर्दा हामी दुई देशका जनता तथा विश्वभरकै शान्तिप्रिय जनताले सन्तोष तथा उत्साहको अनुभूति गर्न सक्छौं । यद्यपि साम्राज्यवादी वृत्तले शान्तिका लागि समर्थन जनाइरहँदा सशस्त्रीकरणको विकास र युद्धको तयारी गरिरहेको हुनसक्नेमा हामी सचेत हुनैपर्छ । उनीहरूले सैन्य गठबन्धनलाई निरन्तरता दिएकै छन्, सैन्य आधारहरूको विस्तार र सुदृढीकरण गरिरहेकै छन् । अनि तिनीहरूले महत्वपूर्ण अन्तर्राष्ट्रिय विषयमा पूर्व र पश्चिमबीच सम्झौता हुन पनि रोकिरहेका छन् ।

उपनिवेशवादी समूह र सैन्य जत्थाले विश्वशान्ति र सुरक्षामा खतरा आउने गरी गत विश्वयुद्धलाई पुनः जीवित गर्ने प्रयासबारे हामी चनाखो हुनैपर्छ । यो सबैले विश्वशान्तिको स्थापनामा भएको कठिनाइ देखाउँछ । त्यसैले विश्वभरकै शान्तिप्रिय देश र जनताले एकतालाई बलियो बनाउनु र अहस्तक्षेपमा जोड दिनु आवश्यक छ ।

कुनै सैन्य शिविरमा संलग्न नहुने तटस्थताको नीति र शान्तिपूर्ण सहअस्तित्वका पञ्चशील सिद्धान्तमा आफ्नो अडानलाई नेपालको श्री ५ को सरकारले बारम्बार प्रस्तुत गरेको छ । चिनियाँ सरकार र जनताद्वारा नेपालको श्री ५ को सरकारको यो नीतिलाई सहृदयतापूर्वक स्वागत र पूर्ण समर्थन गर्दछौं ।

यो नीति नेपालको शान्तिपूर्ण विकास र आर्थिक निर्माणको पञ्चवर्षीय योजनाको कार्यान्वयनमा मात्रै लक्षित छैन, यसले एसियाली देशहरूबीच विश्वशान्तिका लागि ऐक्यबद्धतालाई पनि अगाडि बढाउँछ । विश्वशान्तिको रक्षा र एसियाली तथा अफ्रिकी देशहरूबीचको मैत्रीपूर्ण सहकार्य वृद्धिका लागि चिनियाँ सरकार र जनता श्री ५ को सरकार तथा नेपाली जनताबीचको ऐक्यबद्धतालाई थप मजबुत बनाउन इच्छुक छन् ।

मन्तव्यको अन्त्यमा, म पुनः तपाईंहरूको भव्य स्वागतका लागि हृदयबाट नै धन्यवाद दिन चाहन्छु र आतिथ्यताप्रति श्री ५ को सरकारप्रति आभार व्यक्त गर्दछु ।
चीन-नेपाल मित्रता जिन्दावाद !
एसियाली, अफ्रिकी देशहरूको एकता र विश्वशान्ति जिन्दावाद !
(अनुवादः प्रतिभा बेल्बासे)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.