एक-दुई दिनभित्रै पेट्रोलियम पदार्थको वितरण सहज हुन्छ: निगम
काठमाडौं: नेपाल आयल निगमले एक÷दुई दिनभित्रै पेट्रोलियम पदार्थको वितरण सहज हुने जनाएको छ ।
उपत्यकाका पेट्रोल पम्पमा पर्याप्त इन्धन नहुँदा उपभोक्ताले इन्धन भर्न घन्टौँसम्म लाइन बसेर सास्ती बेहोरिरहेका बेला निगमले आज औसतभन्दा बढी इन्धन वितरण गरिएकाले वितरण सहज हुने बताएको हो।
रक्सौलस्थित भारतीय आयल कर्पोरेसनको डिपोबाट पर्याप्त इन्धन नआएको भन्दै निगमले पम्पलाई आवश्यक इन्धन नदिएका कारण झण्डै एक सातादेखि मुलुकभर पेट्रोलियम पदार्थको हाहाकार भएको थियो।
उपत्यकाका केही पम्पले आज तेल वितरण गरेपनि उपभोक्ताको लामो लाइन देखिन्थ्यो । उपत्यकामा दैनिक चार लाख लिटर पेट्रोलियम पदार्थ खपत हुने गरेकामा अहिले उपभोक्ताको मागलाई मध्यनजर गर्दै दैनिक छ लाख लिटर इन्धन वितरण गरेको निगमका निर्देशक नागेन्द्र झाले जानकारी दिए।
उनले बजारमा हल्ला भएजस्तो तेलको हाहाकार नभएको र अबको दुई दिनमै तेलको वितरण सहज हुने उल्लेख गरे। निगमका अनुसार रक्सौल नाकाबाट दैनिक पाँच लाख लिटर पेट्रोल आइएकामा अहिले दैनिक दुई लाख लिटर मात्र आइरहेको छ। बरौनीलगायत नाकाबाट तीन लाख लिटर पेट्रोलियम पदार्थ ल्याएर वितरण गरिएको निगमले जनाएको छ। रासस
प्रतिक्रिया दिनुहोस !