अहिंसा क्षेत्रमा ‘गोवध’

अहिंसा क्षेत्रमा ‘गोवध’

गोरखाः सदीयौंदेखि अहिंसा क्षेत्र भनेर चिनिएको उत्तरी गोरखाको नुब्री उपत्यकामा ठूलो संख्यामा गौवध भएको फेला परेको छ । सामागाउँका मुख्य लामा जिग्मे र स्थानीय प्रहरीसहितको टोलीले खोजतलास गर्दा गाउँनजिकबाट बग्ने बूढीगण्डकी किनारका अनकन्टारमा गाईगोरु काट्ने गरेको पाइएको हो ।

मुख्य दामा जिग्मेले लमजुङ, मनाङबाट हुलका हुल गाईगोरु ल्याएर सामागाउँमा गोवध गर्ने गरेको भेटिएको जानकारी दिए । ‘विशेष सुराकीले दिएको सूचनाअनुसार सोमबार खोजतलास गर्दा एकै ठाउँमा ४० वटासम्म गाईगोरु काटेको भेटियो’, उनले भने ‘त्यो ठाउँमा गाईको टाउको, आन्द्राभुँडी, मल, आलो रगत छ । काटमार गर्न ल्याइएका चारवटा गाईगोरु जीवितै भेट्यौं । तिनलाई हामीले प्रहरीचौकीमा बुझाएका छौं ।’

चौकीले मंगलबार बिहानै ती गाईगोरु पनि किनेर ल्याउने व्यक्तिको जिम्मा लगाएर पठाएको उनले बताए । उच्च हावापानीका कारण सामागाउँमा गाईगोरु पाइँदैनन् । हिंसारहित भएकाले नुब्री उपत्यकाभित्र भेडाबाख्रा र कुखुरापालन पनि हुँदैन । खोजतलास टोलीमा रहेका सरोज खड्काका अनुसार पर्यटकीय क्षेत्र भएकाले लुकीछिपी गाईगोरु काटेर होटलमा मासु बेच्ने गरेको भेटिएको छ । ‘

गाईगोरुको मासुलाई बाहिरबाट ल्याएको याकको मासु भनेर यहाँका होटलमा बेचिने गरेको तथ्य पनि भेट्यौं’, उनले भने ‘गाईगोरुको पूजा गर्नेलाई ढाँटछल गरी याकको मासु भनेर गाईको मासु खुवाइँदै आएको रहस्य खुल्यो ।’ होटल व्यवसायीले गाईगोरुको मासु बेच्ने गरेको भनेर खुल्लमखुल्ला स्वीकार भने नगरेको उनको भनाइ छ ।

अहिंसा क्षेत्रमा गाईको मासुको कारोबार गरेको भन्दै स्थानीयले तल्लो भेगबाट गई त्यहाँ होटल व्यवसाय गर्ने व्यवसायीलाई गाउँबाट निकाला गर्ने निर्णय गरेका छन् । ‘बैठकमा १५/२० मिनेट पूजा, ध्यान, जप भयो । प्रसाद खुवाइयो, धर्मग्रन्थ ढोग्न लगाइयो अनि अब कसैले पनि गोवध नगर्ने, गाईको मासुको कारोबार नगर्ने भनेर बुद्धको मूर्ति ढोगेर, माटो समातेर कसम खाए’, लामा जिग्मेले भने, ‘यहाँको सबैभन्दा ठूलो कारबाही भनेको नै माटो समातेर कसम खानु हो । त्यही भएको छ । आगामी दिनमा यस्तो घटना दोहोरिने छैन ।’

तल्लो भेगबाट आएर होटल व्यवसाय गर्नेलाई घरभाडामा पनि कसैले नदिने निर्णय भएको जिग्मेले बताए । ‘कसम खाएपछि यहाँका मान्छेले त गल्ती दोहो¥याउँदैनन् । तर तल्लो भेगबाट आएर गाउँको रहनसहन खल्बल्याउनेलाई गाउँमा व्यवसाय गर्न नदिने एकमतले निर्णय भएको छ’, जिग्मेले भने, ‘यो टुरिस्ट सिजनभरि मात्रै व्यवसाय गर्ने र मंसिरपछि गाउँ छोड्नुपर्ने निर्णय भयो ।’

घरवाला पनि बाहिरका मान्छेलाई घरभाडामा नदिन सहमत भएको उनको भनाइ छ । सामागाउँका होटल व्यवसायी वीरबहादुर लामाका अनुसार अहिलेसम्म सामागाउँमा काटमार भएको छैन । काठमाडौंबाट हेलिकोप्टरमा प्याकिङको मासु ल्याएर बिक्रीवितरण हुँदै आएको छ । ‘तर कसै–कसैले गाउँको बद्नाम हुने गरी गाउँमै काटमार गरी झुक्याएर मासु बेचेका हुन सक्छन् ।

त्यस्तो हुन नदिने निर्णय भएको छ’, उनले भने, ‘कुनै दिन काटमार गरेको भेटेर कारबाही गर्नुभन्दा पहिले नै रोकथाम गर्नु राम्रो हुन्छ भनेर गाउँलेले एकमत भएर निर्णय गरेका हुन् ।’

छिमेकी नाकाको बाटो भएर पाल्ने वा जुनसुकै हिसाबले पनि गाईगोरु गाउँमा ल्याएको फेला पारेमा गाउँलेले नियन्त्रणमा लिएर कारबाहीका लागि प्रहरीमा बुझाउने निर्णय भएको उनले बताए ।

तिब्बतको सिमानामा रहेको सामागाउँमा बुद्धमार्गी भोटेलामा समुदायको मात्र बसोबास छ । यस ठाउँलाई सयौं वर्षदेखि अहिंसा उपत्यका भनेर चिनिँदै आएको छ । तर गिरोहले तल्लो भेगमा सित्तैमा पाइने गाईगोरु हुलका हुल त्यहाँ पुर्याएर एउटा गाईको मासु बेचेर १६ हजारदेखि ३५ हजार रुपियाँसम्म कमाइ गर्ने गरेको जिग्मेले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी जनराज पाण्डेयले सामागाउँको घटनाबारे जानकारी पाएको भन्दै गोबध हुने गरेको तथ्य र प्रमाणसहित भेटेमा कारबाही गर्ने बताए ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.