ज्यान मुद्दाका अभियुक्त १३ वर्षपछि पक्राउ
काठमाडौंः दुई पक्षको झगडा मिलाउँदा प्रतिशोधको भावनाले कुमारीगालका रोशन कुमार आलेको हत्या गर्ने समूहका फरार अभियुक्तलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ ।
२०६० फागुन २३ गते खुकुरी प्रहार गरी आलेको हत्या भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले घटनामा संलग्न भएको आरोपमा बौद्धका श्रीवीर लामा, सोनु भन्ने देवराज लामा र खेप्पा भन्ने राकेश लामालाई पक्राउ गरेको छ ।
२०६० मा बडादशैंको नौरथामा कुमारीगालमा स्थानीय युवाहरुसँ.ग झगडा हुने क्रममा श्रीवीरको टाउकोमा चोट लागेर घाईते भएका थिए । ब्यूरोका प्रवक्ता एसपी दिवेश लोहनीका अनुसार तत्कालीन समयमा रोशन उक्त टोलका स्थानीय वासिन्दा भएकाले झगडा छुट्याउन पुगेका थिए ।
घटनापछि श्रीवीरसमेतका व्यक्तिले प्रतिशोधको भावनाले हेरेका थिए । २०६० फागुन २३ गते होलिको दिन दुई दर्जन व्यक्तिले होली खेल्ने निहँुमा पूर्व रिसईबीमा रोशनमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट घाईते भएका रोशनको उपचारको क्रममा मृत्यु भएको थियो । एसपी लोहनीका अनुसार उक्त घटनामा रोशनसँंगै अन्य स्थानीय पाँच जना घाइते भएका थिए ।
ब्यूरोले पक्राउ परेका तीन जनालाई जिल्ला अदालत काठमाडौंमा कर्तव्य ज्यान मुद्दामा म्याथ थपेर अनुसन्धान गरिरहेको छ । रोशनको हत्यामा फरार अन्यको खोजी भइरहेको जानकारी लोहनीले दिए ।