भारतीय तस्कर नेपाल छिरेर सुरक्षाकर्मी कुटे

भारतीय तस्कर नेपाल  छिरेर सुरक्षाकर्मी कुटे

वीरगन्ज : नेपाली भूमिमा अनाधिकृत रुपमा प्रवेश गरेर बालुवा तस्करीमा संलग्न भारतीय तस्करहरुले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन् ।

तस्करहरुको आक्रमणबाट पर्सामा एक जना सुरक्षाकर्मीसहित दुईजना घाइते भएका छन् ।पर्साको पिडारीगुठी गाविसमा पर्ने ओरीया खोलामा बुधबार दिउँसो बालुवा उत्खनन् गरिरहेका भारतीय तस्करहरुलाइ रोक्न गएका सशस्त्र प्रहरी र स्थानीयवासीलाइ भारतीय तस्करहरुले आक्रमण गरि घाइते बनाएका हुन्।

अवैध रुपमा भारत तर्फ भईरहको बालुवा तस्करी रोक्न प्रहरी चौकी पिडारी र सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भिखमपुरका सशस्त्र प्रहरी नायब निरीक्षक हरि प्रसाद लम्सालको नेतृत्वमा गएको संयुक्त गस्ती टोलि माथि भारतीय बालुवा तस्करहरुले आक्रमण गरेका हुन् ।

सशस्त्र प्रहरी र नेपाल प्रहरी माथि भारतीय तस्करहरुले आक्रमण गर्न थालेपछि सशस्त्र प्रहरीले चार राउण्ड अश्रु ग्याँस प्रहार पनि गरेको थियो ।
पिडारीगुठी गाविस वडा नम्बर ६ मा पर्ने ओरिया खोलाको ४२४ नम्बरको सिमा स्तम्भबाट एक किलोमिटर नेपाली भुभागमा पसेर बालुवा लोड गरिरहेको भारतीय ट्याक्टर प्रहरीले नियन्त्रणमा लिन खोजेपछि तस्करहरुले ढुङ्गा हानेका थिए।

तस्करहरुले हानेको ढुङ्गा लागेर सशस्त्र प्रहरी हवल्दार राजकुमार माझी र स्थानीय प्रभु चौधरी घाईते भएका हुन् । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रविन्द्र ठाकुरले पनि भारतीय तस्करको समूहले नेपाली सुरक्षाकर्मीलाइ आक्रमण गरेको बताए । उनले तस्करहरुलाई अश्रुग्याँस हानेर भारत तर्फ भगाईएको बताए ।
घटनापछि भारत बेतियाको भंगाहा थानाका प्रभारी मुकेश कुमार, सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भिखमपुरका सशस्त्र प्रहरी निरीक्षक हरि लम्साल र ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक जयदिप राणा लगायतको बैठक बसेको थियो ।

बैठकले ओरिया खोला क्षेत्रमा संयुक्त गस्ती गर्ने र बालुवा तस्करी रोक्ने निर्णय गरेको छ । ट्याक्टर चालकहरुलाई नेपाल प्रवेश नगर्न सम्झाउने र नमानेमा कडा रुपमा प्रस्तुत हुन दुवै पक्ष सहमत भएको सशस्त्र प्रहरी निरिक्षक लम्सालले बताए । बुधबार नै बालुवा तस्करी गर्न नपाएको निहुमा भारतीयहरुले दशगजा क्षेत्र नजिकै रहेको आफनो खेतमा धान काटिरहेका एक जना नेपाली किसानलाइ कुटपिट गरि घाइते बनाएका छन् । पिडारीगुठी गाविस वडा नम्बर ३ का शम्भु रामलाइ भारतीयहरुले कुटपिट गरि घाइते बनाएका हुन् । उनको देब्रे खुट्टा भाँचिएको छ ।

घाइते रामलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारको लागि नारायणी उप क्षेत्रीय अस्पताल वीरगन्जमा ल्याइएको प्रहरी जनाएको छ । यसअघि गत साउन २२ गते पनि पिडारीगुठी गाविसको ओरीया खोलामै अवैध रुपमा बालुवा उत्खनन् गरिरहेका भारतीयहरुलाइ रोक्न गएका नेपाल प्रहरी र सशस्त्र प्रहरी माथि भारतीयहरुले आक्रमण गरेका थिए।

भारतीयहरुको आक्रमणबाट पर्साको भीखमपुरमा रहेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्टमा कार्यरत सशस्त्र प्रहरी जवान रत्नेस साह घाइते भएका थिए । उनको देब्रे हात गम्भिर चोट लागेको थियो । नेपाली भूमीमा पर्ने ओरीया खोलाबाट भारतीयहरुले वर्षौ देखि बालुवा उत्खनन् गरेर भारत तर्फ तस्करी गर्दै आएका छन् ।

भारतीय सीमासंग जोडिएको पिडारीगुठी गाविसको पाण्डेपुर ,पिपडाडी र बिसुनपुर्वामा अवस्थित दशगजा क्षेत्रमा ओरिया खोला पर्छ । भारतीयहरुले दशगजा क्षेत्रमा रहेको ४२४ नम्बरको सीमा स्तम्भबाट पनि एक किलोमिटर नेपाल तर्फको भूमीमै छिरेर टयाक्टर र गाडामा बालुवा उत्खनन् गरेर भारत लैजाने गरेका छन् ।

भारतीयहरुले नेपालीभूमीको ओरिया खोलबाट दिनहु दुइ तीन सय टयाक्टर बालुवा अवैध रुपमा उत्खनन् गरेर भारतको भंगहा, ईनरवा, सिक्टा, बेतिया र नरकंटियागन्ज सम्म लगेर बिक्री वितरण गर्दै आएका छन् । भारतीय बालुवा तस्करहरुलाइ भारतीय प्रहरी र भारतीय सिमा सुरक्षा बल एसएसबीले पनि संरक्षण दिने गरेको छ।

सीमावर्ती भारतीय गाउ गदियानी र भंगहाका भारतीयले नेपाली भुमी पनि मिचेका छन् । दशगजा क्षेत्रमा रहेको ४२३ नम्बरको मुख्य सिमा स्तम्भ करिब एक दशक अगाडी ओरीया खोलामा आएका बाढीले बगाए पछि भारतीयले खोलाको छेउको खेती योग्य नेपाली भूमी आफ्नो भएको दाबि गर्दै आएको स्थानीय श्यमसुन्दर महतो थारुले बताए ।

भारतीय तस्करलाइ नेपालमा छिर्न नदिने महिलाहरुको चेतावनी

नेपाली भुमीमा भारतीयहरुले अतिक्रमण गर्ने क्रम बढदै गएपछि पिडारीगुठीका महिलाहरुले सशक्त प्रतिकारमा उत्रने निर्णय गरेका छन् ।
पिडारीगुठी गाविसको पिपरडाडीमा मङगलवार सम्पन्न महिलाहरुको भेलाले नेपाली भुमिको बालुवा अतिक्रमण गरी भारत लैजाने तस्करहरुलाई नेपाल प्रवेश गर्न नदिने समेत निर्णय गरेको छ ।

मङगलवार पनि पिडारीगुठीका महिलाहरुले ओरीया खोलामा बालुवा लिन आएका भारतीय तस्करका तीन वटा ट्याक्टरलाई लखेटेका थिए । भारतीयहरुलाइ अब आइन्दा नेपाली भूमीमा छिरेर बालुवा उत्खनन् नगर्न चेतवानी दिएर धपाइएको स्थानीय ५५ बर्षिय झमपतिया देवी थरुनीले बताइन् ।

भारतीय तस्कर र ट्याक्टरलाई नेपाली भूमीमा छिर्न नदिन र नेपाली भुमिको बचाउ गर्न बिहान बेलुका महिलाहरुले दशगजा क्षेत्रमा गस्ती गर्न शुरु गरेको पनि स्थानिय रोवनी देबी थरुनीले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.