भारतका लागि प्रस्तावित राजदूत उपाध्यायविरुद्ध तीन उजुरी
काठमाडौँः भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायविरुद्ध तीन उजुरी परेका छन् । पूर्वराजदूत समेत रहेका उपाध्यायविरुद्ध संसदीय सुनुवाई विशेष समितिमा तीन उजुरी परेका हुन् ।
बुधबार बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले उजुरी अध्ययनका लागि सदस्यलाई वितरण गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नमा सक्रिय भएको आरोपमा फिर्ता बोलाइएका भारतका लागि पूर्वराजदूत उपाध्यायलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पुनः भारतको राजदूतका लागि प्रस्ताव गरेको हो ।
एमालेले भने पुनः उपााध्याय राजदूतका लागि सिफारिस भएकोमा विरोध गर्दै आएको छ ।
संसदीय विशेष समितिमा चीनका लागि प्रस्तावित राजदूत लीलामणि पौडेलविरुद्ध भने कुनै उजुरी नपरेको समितिले जनाएको छ । पौडेल पूर्वमुख्य सचिव हुन्। पौडेलविरुद्ध उजुरी नपरेपनि उनको सम्पत्ति विवरण भने मागिएको छ ।
संसदीय समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाई असोज १२ गते गर्ने तयारी गरेको छ ।