चुक्ता पुँजी पुग्ने इन्भेष्टमेन्ट पहिलो
काठमाडौः नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले ३० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले सेयरधनीलाई कुल चुक्ता पुँजीबाट २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
नेपाल राष्ट्र बैंकद्वारा निर्धारित चुक्ता पुँजीको मापदण्ड पूरा गरी आठ अर्ब चुक्ता पुँजी पुर्याउने नेपाल इन्भेस्टमेन्ट बैंक पहिलो निजी क्षेत्रको वाणिज्य बैंक बनेको छ । बैंकले आफ्नो चुक्ता पुँजी वृद्धि गरी आठ अर्ब ७१ करोड र कुल पुँजी कोष १६ अर्ब २९ करोड पुर्याएको हो ।
साधारण सभामा भुवनेश्वरप्रसाद शाह र निराजनमान श्रेष्ठलाई साधारण सेयरधनीको प्रतिनिधित्व गर्दै सञ्चालकका रूपमा नियुक्त गरिएको छ । विनोदकुमार गुरागाईलाई विगतको राष्ट्रिय वाणिज्य बैंकको प्रवर्धन समूहको प्रतिनिधित्व गर्दै सञ्चालकका रूपमा नियुक्त गरिएको बैंकले जनाएको छ ।
बैंकले यस आर्थिक वर्ष नेपाल इन्भेस्टमेन्ट बैंकले गत आवमा चार अर्ब १३ करोडको सञ्चालन नाफा कमाएको छ । यसैगरी खुद नाफा ३०.०२ प्रतिशतले बढेर दुई अर्ब ५५ करोड पुगेको छ । बैंकको चुक्ता पुँजी आठ अर्ब ७१ करोड पुगेको छ । कर्जा लगानी २८.५४ प्रतिशतले बढेर ८७ अर्ब एक करोड पुगेको बैंकले जनाएको छ ।