शिक्षाको पर्याय मेरो विद्यालय

शिक्षाको पर्याय मेरो विद्यालय

सामाजिक सहकार्य एवं गुणस्तरीय शिक्षाको नमुना बौद्ध सेकेन्डरी स्कुल काठमाडौंको मुटुमा रहेको बौद्ध क्षेत्र त्यसबेला अशिक्षा, अज्ञानता र जनचेतनाको अभावमा निकै पिछडिएको थियो ।

यस क्षेत्रमा जाँडरक्सी खाने र झैझगडा गर्ने मानिसको दैनिकी हुन्थ्यो भने उनीहरूमा शिक्षा र छोराछोरीको भविष्यप्रतिको चासो निकै कम थियो । यस्तो अवस्था तथा अन्धकारलाई शिक्षाको ज्योतिले हटाउनुपर्छ भनि समाजसेवी स्व. कमलादेवी थापा तथा स्व. खिमबहादुरले सम्भवतः यस भेगको पहिलो निजी विद्यालयको रूपमा २०३२ सालमा बौद्ध प्राइमरी स्कुलको स्थापना गरे ।

केही स्थानीयहरूको सहयोगमा सीमित स्रोत र साधनमा ज्ञानको ज्योति छर्न यस विद्यालयले चालेको सानो पाइलाले आज बौद्ध क्षेत्र काठमाडौंको गुणस्तरीय शिक्षाको केन्द्र बनेको छ । हिजोको सानो विद्यालय आज बौद्ध सेकेन्डरी इङ्लिस स्कुलको नाममा करिब चार सय ५० जना विद्यार्थीलाई सेवा प्रदान गरिरहेको छ । २०५५ सालदेखि प्रवेशिका परीक्षामा आफ्ना विद्यार्थीलाई सामेल गराएको यस विद्यालयले हालसम्म शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ ।

संस्थापक

२०४६ सालमा भएको दुर्भाग्यपूर्ण दुर्घटनाका कारण शारीरिक रूपमा अशक्त अमर थापा यस विद्यालयको संस्थापकको रूपमा रहेका छन् । २०५२ सालमा आमाको निधनपछि उनले विद्यालय सम्हाल्दै आएका हुन् । २०५९ सालमा बुवाको मृत्युपश्चात उनको काँधमा अभै जिम्मेवारीको भार थपियो । थुप्रै बाधा र व्यवधानहरूलाई सहेर, दुःख र कष्ट झेलेर उनले शारीरिक रूपमा असक्षम भए पनि हिम्मत र आत्मविश्वास भए जीवनमा सफल भइन्छ भन्ने कुराको ज्वलन्त उदाहरण दिएका छन् ।

योगी नरहरिनाथ ट्रस्ट आध्यात्मिक परिषद्द्वारा सम्मानित थापाले आफ्नो विद्यालयमा सञ्चालनको कुशलतालाई अझ तिखार्न २०६४ सालमा जापानको भ्रमण गरे । अहिले उनको कला र कौशलले गर्दा यस विद्यालयले ४१ औं वसन्त पार गरी ४२ औं वसन्तमा प्रवेश गरिसकेको छ । आमाबुबाको समाजसेवी भावनाबाट उत्प्रेरित भएका थापाले गोकर्णेश्वर उत्तरगया आमसाधना आ श्रम र नेपाल अपांग संघ, जोरपाटी, गोकर्णमा हरेक वर्ष आर्थिक सहयोग गर्ने गरेका छन् ।

यतिमात्र होइन शारीरिक रूपमा अशक्त भएका विद्यार्थी डिना गौचन, विशाल सुनुवार, नाम्गेल शेर्पा, नयना तामाङजस्ता धेरैलाई आफ्नो विद्यालयमा आफ्नै प्रत्यक्ष निगरानीमा शिक्षा प्रदान गरिरहेका छन् ।

त्यस्तै द्वन्द्वपीडित टेकबहादुर विकलाई पनि यसै विद्यालयले उनको चाहनाअनुसार निःशुल्क शिक्षा प्रदान गरी अहिले उनी उच्च शिक्षा प्राप्ति र आफ्नो कार्य क्षेत्रमा सकुशल अघि बढिरहेका छन् भने पिछडिएको समुदाय चेपाङ जातिका शिवलाल प्रजालाई पनि निःशुल्क पढाइरहेका छन् ।

दलित तथा जनजातिको ३५ जनाको कोटा छुट्याई लगभग चार सय विद्यार्थी रहेको यस विद्यालयमा करिब दुई सय विद्यार्थी निःशुल्क र अर्धशुल्क अध्ययन गरिरहेका छन् । समाजसेवा गर्ने तीव्र इच्छा बोकेका थापा दम्पतीको अर्को इच्छा भनेको वृद्धआ श्रम खोली उनीहरूको हेरचाह र सेवा गर्ने रहेको छ ।

यसका लागि उनीहरूलाई साथ दिन व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर लामा र प्रिन्सिपल देवीप्रसाद घिमिरेको विशेष योगदान रहेको छ भने दीपा थापा, अमर प्रेम र प्रेरणाकी नमुना बनेकी छन् ।

प्रिन्सिपल

यस बौद्ध सेकेन्डरी स्कुलका प्रधानअध्यापक देवीप्रसाद घिमिरे हुनुहुन्छ । हँसिला स्वभावका घिमिरे यस विद्यालयमात्र नभएर विभिन्न शैक्षिक क्षेत्रमा आबद्ध रही शिक्षा क्षेत्रको माध्यमद्वारा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा देश र समाजको सेवा गरिरहनुभएको छ ।

२०५५ सालमा यस विद्यालयमा प्रधानअध्यापकको स्थानमा प्रवेश गर्नुभएको थियो । उहाँको आगमनपश्चात् थापालाई पनि सकारात्मक सल्लाह सुझाव सहयोग मिल्दै गयो । त्यसपश्चात् उहाँहरूले व्यक्ति, समाज र विद्यालयको चौतर्फी विकासमा विशेष ध्यान दिनुभयो ।

एकै ठाउँमा जमेर बस्ने पोखरीभन्दा संसार घुमिहिँड्ने खोलाको महत्वलाई आत्मसाथ गर्दै घिमिरेले नयाँ पद्धतिबाट अध्ययन अध्यापन गराइनुपर्छ भन्ने विषयमा बढी जोड दिएको पाइन्छ । कुनै पनि विद्यार्थीलाई सक्षम बनाउन सर्वप्रथम शिक्षकशिक्षिका सक्षम हुनुपर्छ भन्ने धारणा अनुरूप उहाँले आफ्नो संस्थामा दक्ष र अनुभवी शिक्षकशिक्षिकाहरूलाई मात्र नियुक्ति गर्नुभयो ।

आफ्नो संस्थामा कार्यरत कर्मचारीहरूलाई माया, ममता, सुरक्षा, सल्लाह सुझाव, आवश्यक तालिमजस्ता आधारभूत आवश्यकताबाट कहिले पनि बञ्चित गर्नु भएन । सेवा नै धर्म हो भन्ने भाव आजको समयमा निकै थोरै व्यक्तिको मनमा उब्जन्छ तर उहाँको सोच, विचार र कार्यमा भने सदैव हामी यहीँ भाव पाउँछौं । उहाँका प्रत्येक कार्यहरू निस्वार्थ हुन्छन् । त्यसैले त हामी उनलाई समाजसेवी भन्न रुचाउँछौं ।

प्राकृतिक सम्पदा भनेको हामीलाई पुर्खाले दिएको नासो हो नासोकै रूपमा भविष्यमा हाम्रा सन्ततिलाई फिर्ता गर्नुपर्छ भन्ने धारणले गर्दा उहाँको प्रकृति संरक्षणप्रति निकै ठूलो लगाव देखिन्छ ।

उहाँ कहिले बागमती सरसफाइमा दौडिरहनु भएको हुन्छ भने कहिले हातमा कुचो बोकेर मठमन्दिरको सरसफाइ अभियानमा लम्किनुभएको हुन्छ । कुसंस्कार, कुरीति र कुलतविरुद्ध जनचेतना जगाउने, आपत्विपतमा परेकाहरूलाई सहयोग गर्ने, लागूपदार्थ दुव्र्यसन, चेलीबेटी बेचबिखनजस्ता विषयलाई उठान गरी चेतनामूलक कार्यक्रमका माध्यमबाट जनचेतना फैलाउने कार्यमा पनि उहाँ उत्तिकै सक्रिय देखिनुहुन्छ । जल, जमिन, जंगल, जनावर, जलाधार जोगाउन जनचेतनात्मक अभियान अघि बढाउँदै द जेनेरेसन ग्रिन अभियानको सक्रिय अभियन्ताका रूपमा रहनुभएको छ ।
प्रगतिको विवरण

समाजको प्रगति, विकास तथा चेतना जगाउन बालबालिकाले मात्र सम्भव नभई अभिभावक तथा समाजमा रहने हरेक मानिस शिक्षित हुनुपर्ने भावनाका साथ शिक्षाको ज्योति छर्न यस विद्यालयले आफ्नै पहलमा प्रौढ शिक्षाको थालनी गरेको छ ।

विद्यालय, शिक्षकशिक्षिकाको अथक प्रयासपछि यस विद्यालयले करिब दुई सय ५० जना स्थानीय बासिन्दा तथा अभिभावकलाई दैनिक उनीहरूको पायक पर्ने समयमा अध्यापन गराउन थालेको छ । फलस्वरूप ११ जना विद्यार्थीले २०६५ सालमा कक्षा ८ को जिल्लास्तरीय परीक्षासमेत पास गरे ।

अब विद्यालयको लक्ष्य उनीहरूलाई प्रवेशिका परीक्षा पास गराउनु रहेको छ । बौद्ध क्षेत्रको सबैभन्दा पुरानो निजी विद्यालयका विद्यार्थी देशका विभिन्न क्षेत्रमा कार्यरत छन् । जस्तै गायक राजु लामा, गायिका आनीछोइङ डोल्मा, डा. विवेक पौडेललगायतका थुप्रै समाजका प्रतिष्ठित व्यक्तित्वहरूले यसै विद्यालयबाट आफ्नो अध्ययन यात्राको सुरु गरेका थिए ।

त्यसैगरी यस विद्यालयबाट प्रवेशिका परीक्षा दिएका विद्यार्थी पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कार्यरत छन् । विद्या श्रेष्ठ (नर्स, टिचिङ अस्पताल), ईशा लामा (नर्स, सहिद गंगालाल हृदय अस्पताल), सञ्जीव ढकाल (खरिदार, सिंहदरबार क्रमशः नायव सुब्बा धनुषा जनकपुर), एलिसा लामा (एअरहोस्टेस)लगायतका विद्यार्थी राष्ट्रसेवामा समर्पित छन् ।

विद्यार्थीको चौतर्फी विकासको लागि किताबी ज्ञानमात्र नभई समाजमा प्रत्यक्ष रूपमा सहभागी गराएर ज्ञान दिने र समाजसेवाको प्रेरणा दिलाउने यस विद्यालयको अर्को सबल पक्ष रहेको छ । यस विद्यालयले विद्यार्थी सहभागी गराई विद्यालय वरपर, बौद्धनाथ वरपर र जापानिज संस्थासँग मिलेर बर्सेनि कान्ति बाल अस्पताल सफा गर्ने गरेको छ ।

जापानी गुरु हिरोकाजु कोवायसीको अलौकिक शक्तिद्वारा हिलिङ पद्धतिबाट विभिन्न किसिमका रोगहरूको उपचार समेत अमर थापाकै प्रयासमा विगत चार वर्षदेखि विद्यालय परिसरमा नै शिविर राखेर गर्ने गरिएको छ । यसरी समयसमयमा निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरी अभिभावक तथा स्थानीय बासिन्दालाई स्वास्थ्य लाभ दिलाउने गरिएको छ ।

हालसालै यस विद्यालयले नेपाल मेडिकल कलेज र बौद्धका विभिन्न संघसस्थाहरूसँग मिलेर निःशुल्क स्वास्थ्यशिविर र निःशुल्क औषधि वितरणकार्य सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा करिब तीन हजारलाई निःशुल्क स्वास्थ्थ सेवा र औषधिसमेत वितरण गरियो । शैक्षिक सत्रको कार्य तालिकामा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालसँग सहकार्य गरी डा. चक्रराज पाण्डे, डा. भाष्कर र उहाँहरूको टिमको उपस्थितिमा हाडजोर्नीसम्बन्धी (बाथरोगीहरू) निःशुल्क स्वास्थ्य सेवा प्रदान गरियो ।

त्यसैगरी समाजमा विद्यमान कुसंस्कार, कुरीति र कुलतविरुद्ध जनचेतना जगाउन यो विद्यालयले हरेक वर्ष नेपाल तामाङ सुख दुःख गुठी र बौद्ध सामुदायिक प्रहरीसँग मिलेर विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यस कार्यमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर लामाको योगदान प्रशंसनीय छ ।
गीता राई
कक्षाः ९


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.