टेनिस र भारोत्तोलनको अन्तर्राष्ट्रिय सहभागिता
काठमाडौः डब्लूटीए रोड टु सिंगापुरमा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली लनटेनिस टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ । अक्टोबर १७ देखि २४ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगितामा मायांका राणाले यू- १६ र इरा रावतले यू- १४ उमेरसमूहको महिला सिंगल्समा प्रतिस्पर्धा गर्नेछन् ।
गत मे १ र २ तारिखमा भएको छनोट प्रतियोगिताबाट मायांका र इरा पहिलो स्थानमा रहँदै रोड टु सिंगापुरका लागि छनोट भएका हुन् । टोलीको प्रशिक्षकमा कृष्णराज घले रहेका छन् ।
मायांका र इराको स्पर्धामा उनीहरूसहित समान २०/२० जना खेलाडी सहभागी रहने जानकारी प्रशिक्षक घलेले दिए । २० खेलाडीलाई चार समूहमा विभाजन गरी खेल खेलाइनेछ । समूहको शीर्ष स्थानमा रहने खेलाडी सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगितामा नेपालसहित सिंगापुर, अस्ट्रेलिया, चीन, चाइनिज ताइपेई, हङकङ, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, न्युजिल्यान्ड, फिलिपिन्स, श्रीलंका, थाइल्यान्ड, उज्वेकिस्तान, भियतनाम र प्यासिफिक ओसिएना क्षेत्रका खेलाडीको सहभागिता रहने बताइएको छ । टोलीलाई नेपाल ओलम्पिक कमिटीकी उपाध्यक्षसमेत रहेकी अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणाले सोमबार नै बिदाइ गरिन् ।
यसैगरी, आईडब्लूएफ युथ विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली भारोत्तोलन टोली मंगलबार मलेसियाको पेनाङ प्रस्थान गर्ने भएको छ । प्रतियोगिताको पुरुष ६२ केजी तौलसमूहमा बाँकेका प्रकाश केसीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलिसकेका प्रकाशको स्न्याचमा ९३ केजी र क्लिन एन्ड जर्कमा एक सय २० केजी उच्च प्रदर्शन रहेको छ । नेपाली टोलीको प्रशिक्षकमा बाँकेका सकिल अहमद छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सुरेन्द्र हमालले सोमबार बिदाइ गरे । प्रतियोगिता अक्टोबर १९ देखि २५ तारिखसम्म आयोजना हुनेछ ।