हतारमा महाअभियोग प्रस्ताव एमालेको अहंकारः कांग्रेस
काठमाडौं: कांग्रेसमा लोकमान सिह कार्की महाअभियोग प्रक्ररण एमालेको अहंकार भएको भन्दै निर्णय लिदा सबै पक्ष हेरेर अघि बढ्नु पर्ने धारणा आएको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश सदस्यले कार्की आफैमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि उपयुक्त नभएको धारणा राख्दै एमाले र माओवादी केन्द्रले कांग्रेससँग सल्लाहनै नगरी अविश्वास प्रस्ताव दर्ता गर्नु गम्भीर भएको धारणा राखे ।
बैठकमा सुरुमा बोल्दै केन्द्रीय सदस्य शेखर कोइरालाले लोकमानसिह कार्कीको अख्तियारमा नियुक्तिकै बेलामा आफूले विरोध गरेको तर त्यतिबेला आफ्नो कुरा सनुवाई नभएको भन्दै अहिले एमालेले संवैधानिक संकट निम्त्याउने गरी दर्ता गरेको अविश्वासको प्रस्ताव समर्थन गर्न नहुने धारणा राखे ।
‘मलै सुरुमा पनि लोकमानलाई अख्तियारमा नियुक्ति गर्न हुदैन भनेको हो, त्यतिवेला मेरो कुरा कसैले सुनेन’ कोइरालाले बैठकमा भने, ‘म व्यक्तिगत रुपमा पनि लोकमानलाई र उसको कार्यशैलीलाई मनपराउदिन तर अहिले आएको अविश्वास प्रस्ताव संवैधानिक संकट ल्याउनका निम्ती भएकाले आवेगमा आएर हामी पक्षमा जानु हुदैन ।’
बैठकमा केन्द्रीय सदस्य प्रदीप पौडेलले महाअभियोगको पक्षमा जान नकसे झन त्यसले संवैधानिक संकट ल्याउने र सहमतिका आधारमा अघि बढ्ने दलीय वातावरण खलवलिने भन्दै महाअभियोगको पक्षमा कांग्रेस उभिनु पर्ने धारणा राखे । ‘हामी महाअभियोगको पक्षमा भयौ भने संविधान कार्यन्वयन गराउन दलहरुबीच सहमतिको वातावरण बन्छ’ पौडेलले भने, ‘नत्र एमाले र माओवादी केन्द्रसँग कांग्रेसको भेटनै हुदैन, त्यसले झनै संकट निम्त्याउने भएकाले राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर प्रस्तावको पक्षमा निर्णय गर्नुपर्छ ।’
केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले संवैधानिक व्यवस्था, जनमत र कानुनी शासन जस्ता विषयलाई केन्द्रमा राखेर महाअभियोगका विषयमा निर्णय गर्नुपर्ने धारणा बैठकमा राखे । पौडेलले लोकमानका विषयमा सहमतिका साथ अघि बढ्न सकिने वातावरण हुदाहुदै एमालेको अहंकारले कांग्रेस प्रस्ताव दर्तामा छुटेको पनि बताए । उनले कार्कीमाथि लगाएका आरोपहरु सत्यताका नजिक भएकाले पनि प्रस्तावको पक्षमा जाने निर्णय गरे मात्रै कांग्रेस र मुलुकको लागि हित हुने धारणा राखेका थिए ।
नेता प्रकाशमान सिहले विधि विधान र प्रक्रिया हेरेर महाअभियोगको पक्ष वा विपक्षमा निर्णय गर्नुपर्ने धारणा राखेका छन् । बैठकमा एनपी साउतले महाअभियोग गम्भीर विषय भएकाले व्यापक छलफल गरेर मात्रै निर्णयमा पुग्नु पर्ने धारणा राखे । अर्का केन्द्रीय सदस्य मोहोनबहादुर बस्नेतले अविश्वासको प्रस्ताव एमालेको मुद्दा भएकाले सहयोग गर्न नहुने धारणा राखे । केन्द्रीय सदस्य जीवन परियारले पनि संवैधानिक र कानुनी व्यवस्था अनुसार महाअभियोगका विषयमा गम्भीर भएर मात्रै निर्णयमा पुग्नु पर्ने धारणा बैठकमा राखे ।
केन्द्रीय सदस्य रत्ना शेरचनले लोकमानसिह कार्कीको मुद्दा अदालतमा विचाराधिन भएको विषमया फेरि महाअभियोगमा जानु उपयुक्त नभएको धारणा राखिन् । केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले पनि महाअभियोगका विषयमा व्यापक छलफलगरी पारदर्शी ढंगबाट निर्णय गर्नुपर्ने बताए ।
केन्द्रीय सदस्य कमला पन्तले शक्तिपृथकीकरणको सिद्धान्त अनुसार कार्कीलाई महाअभियोग लागाउन नहुने धारणा राखिन् । केन्द्रीय सदस्य किरण यादवले पनि महाअभियोगको पक्षमा तत्कालै जान नहुने धारणा अघि सारेकी छिन् ।
बैठकमा रमेश लेखक, फमुल्लाह मन्सुर, नविन्द्रराज जोशी, दिलेन्द्रप्रसाद बढु र आनन्दप्रसाद ढुंगानाले महाअभियोगका विषयमा धारणा नराखी अन्य विषयमा मात्रै विचार राखे ।