बागमती प्रदेश सभाको बैठक माघ १८ गतेका लागि सिफारिस
हेटौंडा : बागमती प्रदेश सभाको १५औं अधिवेशन बैठक माघ १८ गतेका लागि आह्वान गर्न सिफारिस गरिएको छ। शुक्रबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गरेको हो।
प्रदेश सभाको १४औं अधिवेशन असोज १६ गते राति १२ बजेदेखि अन्त्य भएको थियो। १५औं अधिवेशन मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख देवकोटाले आह्वान गर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए।
त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले प्रदेश भवन नीति २०८१ र अपांग भएका व्यक्तिसम्बन्धी प्रादेशिक नीति स्वीकृत गरेको छ।
त्यस्तै प्रदेश सरकारी कामकाजी भाषा ऐन कार्यान्वयनको सन्दर्भमा अध्ययन कार्यदलले तयार गरेको प्रतिवेदन ग्रहण गर्ने तथा कार्यान्वयन गर्ने निर्णय गरेको मन्त्री लामिछानेले बताए।
प्रतिक्रिया दिनुहोस !