भारतीय राष्ट्रपति आज साढे दश बजे पशुपति जादैँ
काठमाडौंः भारतीय राष्ट्रपति प्रणव मुखर्जीले बिहीबार पशुपतिनाथको दर्शन र विशेष पूजा गर्ने भएका छन् । उनले पशुपतिनाथ मन्दिरको गर्भगृहमा दक्षिणपट्टि बसेर विशेष पूजा गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषका सदस्यसचिव गोविन्द टन्डनले भारतीय राष्ट्रपति मुखर्जीले नेपालका राष्ट्रपति, पूर्वराजाले जस्तै मन्दिरको गर्भगृहमा दक्षिणपट्टि बसेर अभिषेकसहित विशेष पूजा गर्ने गरी तयारी भएको जानकारी दिए ।
मुखर्जीलाई मन्दिरका मूलभट्ट गणेश भट्टले विशेष पूजा गराउनेछन् । उनका अनुसार पशुपतिको पश्चिम मूलद्वारमा मुखर्जीको स्वागतमा नेपाल वेद विद्या श्रमका एक सय ८ बटुकले स्वस्तिवाचन गर्नेछन् भने २२ जना पण्डितले वैदिक रुद्राभिषेक गर्नेछन् ।
राष्ट्रपति आउने भएपछि कोषले सरसफाइ र प्रवेशद्वार निर्माणलगायत काम सम्पन्न गरेको छ । स्वागतमा मन्दिर परिसरमा धिमे र पञ्जेबाजा बजाइनेछ । महानगरीय प्रहरी वृत्त गौशालाले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीका अनुसार मुखर्जीले मन्दिर परिसर प्रवेश गरेपछि वासुकीनाथ, जलाशय, विष्णु, मुक्तिमण्डप, कृतिमुख र उन्मत्त भैरव आदिको दर्शनपछि गर्भगृहमा पुग्नेछन् ।
दर्शन र पूजापछि उनले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने र त्यसपछि कोषका तर्फबाट मायाको चिनो दिने कार्यक्रम रहेको उप्रेतीले जानकारी दिए । भारतीइ पूर्वराष्ट्रपति केआर नारायणनले १८ वर्षअघि पशुपतिनाथमा पूजा गरेका थिए ।