जसलार्इ स्क्यान्डलले कहिल्यै छाडेन

जसलार्इ स्क्यान्डलले कहिल्यै छाडेन

अमेरिकी राजनीतिमा ट्रम्पको उपस्थिति हर्ष र विस्मातको सीमारेखामा उभिएको छ । एकातिर विश्वास र आशा, अर्कोतिर त्रास र निराशा छ ।
नोभेम्बर ८ ले दिने हार-जितको नतिजा आफ्नै ठाउँमा छ । तर, ट्रम्पले जितुन् वा हारुन्, 'ट्रम्प डक्ट्रिन'का रूपमा नवश्वेत अतिवाद अमेरिकी राजनीतिमा स्थापित हुने सम्भावना पनि उत्तिकै छ ।

ट्रम्प रियल स्टेटका मुगल हुन् । उनको आगमनसँगै अमेरिकी समाजमा रहेको श्वेत र अश्वेतबीचको भित्री घाउ सतहमा आएको छ । अमेरिकी राजनीतिको मूलधारमा विभेदको राजनीति खुल्लमखुला रूपले प्रवेश पनि गरेको छ । यसले भोलि कुन रूप लिन्छ अहिले नै भन्न कठिन छ ।

शक्तिशाली उम्मेदवार !

डोनाल्ड जोन ट्रम्प राजनीतिज्ञ हुँदै होइनन् तर पनि महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपतीय चुवानमा आजसम्मकै शक्तिशाली उम्मेदवारको रूपमा उभिएका छन् ।

निर्वाचन जति नजिकिँदै आयो, रिपब्लिक पार्टीका उम्मेदवार ट्रम्प संस्थापनबाट त्यतित्यति टाढिँदै गए । अहिले सिंगो पार्टी उनको पक्षमा छैन । सिनेटका लागि लडेका अधिकांश उम्मेदवारसँग पनि उनको पारपाचुके भइसकेको छ । आफूले प्राप्त गरेरका डेलिगेस्ले पनि साथ छोड्दैछन् । सुपर डेलिगेस्को समर्थन सुरुदेखि नै छैन । मूलधारका प्रायः सम्पूर्ण मिडिया उनको विरोधमा छन् ।

अमेरिकी राजनीतिको इतिहासमै यो पहिलो घटना होला, जहाँ कुनै दल खुलेरै आफ्नै उम्मेदवारविरुद्ध उभियो । आफ्नै दलले पूर्णरूपमा उपेक्षा गर्दा पनि ट्रम्प बलिया छन् । प्रतिपक्षी हिलारी क्लिन्टनका लागि फलामको चिउरा भएका छन् ट्रम्प ।

अस्वाभाविक स्वभाकका ट्रम्पले बाजी मार्दैनन् भन्न पनि कठिन छ । विपरीत ढंगबाट भएको उनको आगमनले अमेरिकाको यो राष्ट्रपतीय निर्वाचनलाई संसारकै लागि सर्वाधिक चासोको विषय बनाएको छ ।

उल्लेख्य के पनि छ भने- सबै पक्षको आक्रमण, आफ्नै पार्टी, पार्टी संस्थापनको असहयोग र विरोधीबीच प्राइमरीमा शक्तिशाली मानिएको ट्रेड क्रुज, मार्को रुवियो र बुस डाइनेस्टी जेब बुसलाई समेत ट्रम्पले ज्यादै फराकिलो अन्तरले पराजित गरे । अमेरिकाको इतिहासमा कुनै पनि प्राइमरीमा यति ठूलो अन्तरले विजय-पराजय भएको पनि यो नै पहिलो घटना हो ।

कुनै राजनीतिक पृष्ठभूमि नभएका अर्बपति व्यापारी ट्रम्पले राष्ट्रपतिको चुनाव हार्नु अलग कुरा हो तर यो अवस्थामा यहाँसम्म आउनु नै उनको जित हो । अमेरिकी राजनीतिको केन्द्रमा ट्रम्पको यति बलियो उपस्थिति हुनु भनेको अमेरिकाको वैचारिक, वौद्धिक र भिजनरी राजनीति ढल्नु पनि हो ।

ट्रम्पको लोकप्रियताको कारण

'ह्वाइट सुप्रिमेसी'का पक्षधर ट्रम्प चुनावी अभियानका सुरुवाती दिनमा धेरैका लागि हास्यपात्र थिए । अहिले धेरैका लागि पीडापात्र बनेका छन् ।

ट्रम्पले जतिजति उत्तेजक, अव्यावहारिक र अशोभनीय शैलीमा असम्भव कुरालाई मुद्दा बनाउँदै गए उनी उति नै लोकप्रिय हुँदै आएका छन् । ट्रम्पका समर्थकका लागि यसपटकको राष्ट्रपतीय चुवाव सर्वाधिक हर्षको वर्ष भएको छ ।

अनेक सेक्स स्क्यान्ड र ट्याक्सको लफडामा ट्रम्प दिनहुँ आलोचित भइरहे । अमेरिकाका शक्तिशाली सञ्चारमाध्यहरूबाट प्रत्यक्ष प्रसारित भइरहेको 'प्रेसिडेन्टल डिबेट'मा उनले हिलारी क्लिन्टनलाई 'घिनलाग्दी आइमाई' भने । धेरैको अनुमान थियो, अमेरिकी महिला मतदाताको नजरमा ट्रम्प घृणास्पद हुनेछन् तर परिणाम उल्टो भइदियो ।

तिनका मनका कुरा ट्रम्पले बोलेका छन् । आशंकाको भुमरीमा रुमलिएको छ, अमेरिकाको राजनीति ।

चुनावी मैदानमा उत्रिनेबित्तिकै टम्पले घोर राष्ट्रवादसँग श्वेत डिस्कोर्स फ्युजन गरे । नारा दिए- 'अमेरिका फस्ट', 'अमेरिकन फस्ट' र 'ग्रेटर अमेरिका' ।
ट्रम्पसँगै विभेद र जातीयताको डरलाग्दो राजनीतिक भाइरसले अमेरिकी राजनीतिको केन्द्रलाई संक्रमित बनाएको छ । भोलि यो भाइरस झन् फैलने सम्भावना पनि उत्तिकै छ ।

मुस्लिमलाई अमेरिका प्रवेश निधेष गर्छु भन्ने उनको भनाइलाई लिएर अमेरिकाभित्र मात्र होइन, संसारभर नै विरोधका स्वर मुखरित भए । मिडियाले आलोचनासहित ट्रम्पका भनाइलाई हेडलाइन बनाए । तर, राष्ट्रपतीय दौडमा त्यही प्रोपोगाण्डाले उनलाई निक्कै लोकप्रिय बनायो ।

ट्रम्पले भने- 'एक करोडभन्दा बढीको संख्यामा रहेका अवैध आप्रवासीलाई अमेरिकाबाट निकाल्नु मेरो पहिलो काम हो ।' यसमा पनि ट्रम्प त्यत्तिकै आलोचित भए । तर, उनको लोकप्रियता झन् चुलिँदै गयो । उनले भाषण गरे- 'संसारका मानिस आएर अमेरिकीको भाग खोसेका छन् । यिनीहरूका कारणले अमेरिकी नागरिक बेरोजगार हुँदैछन् । यो बन्द हुनुपर्छ ।' ट्रम्पको यस्तो आक्रामक भाषणले धेरै अमेरिकीलाई अकर्षित गर्‍यो ।

'ल्याटिनो (मेक्सिकन तथा दक्षिण अमेरिकी) हरू बलात्कारी हुन् । अपराधी हुन् । ड्रग डिलर हुन् । यिनलाई रोक्न अमेरिका-मेस्किको बोर्डरमा पर्खाल लगाउनुपर्छ' भन्ने उद्घोषले ट्रम्पलाई झन् बलियो बनायो । विचार र भिजनको बाटोमा चल्ने अमेरिकी राजनीति कोरा नाराको हाइवेमा दौडियो । 

सिरियालगायतका शरणार्थीलाई अमेरिका छिर्न नदिने हो भने अमेरिका सुरक्षित हुने ट्रम्पको धारणाले उनको लोकप्रियतालाई निक्कै मलजल गर्‍यो । 'शरणार्थीका रूपमा आउने को आतंकवादी हो, को होइन, कसरी छुट्याउने ? ' भन्ने प्रश्नले धेरै अमेरिकी मतदाताको मनमा जरो गाड्यो । त्यो जरोले ट्रम्पलाई झन् बलियो बनायो ।

ट्रम्प स्वयंलाई पनि थाहा छ, उनले भनेका यी सबै अवधारणा असम्भव छन् तर धेरै अमेरिकी जनताले उनलाई पत्याए । अवैध आप्रवासीका बारेमा ट्रम्प पछिल्लो समयमा निक्कै नरम देखिएका छन् । बोली फेर्दै उनले आपराधिक क्रियाकलाप भएका आप्रवासीलाई मात्र अमेरिकाबाट निष्कासन गरिनेछ भने पनि उनका समर्थकहरू 'मास डेपोर्ट'को विश्वासमा छन् ।

यीबाहेक अनेक सेक्स स्क्यान्ड र ट्याक्सको लफडामा पनि उनी दिनहुँ आलोचित भइरहे । अमेरिकाका शक्तिशाली सञ्चारमाध्यहरूबाट प्रत्यक्ष प्रसारित भइरहेको 'प्रेसिडेन्टल डिवेट'मा उनले हिलारी क्लिन्टनलाई 'घिनलाग्दी आइमाई' समेत भन्न बाँकी राखेनन् । धेरैको अनुमान थियो अमेरिकी महिला मतदाताको नजरमा ट्रम्प घृणास्पद हुनेछन् तर परिणाम लगभग उल्टो भैदियो । उनको लोकप्रियतामा कुनै गिरावट आएन । बरु धेरैले भने, हिलारी विश्वास गर्न लायककी नेता नै होइनन् ।
महिला मतदाताबीच नै हिलारी अलोकप्रिय मानिन्छिन् ।

को असल ?

राजनीतिमा असल भन्ने शब्द गौण बन्दैछ । को कम खराब ? चुन्नुपर्ने हुन्छ । दसजना मान्छे मार्ने पनि हत्यारा हो, एउटा मार्ने पनि हत्यारा । दुवै खराब हुन् तर दसजनाभन्दा एकजना मार्ने कम खराब मानिन्छ । अमेरिकी राजनीतिमा पनि अहिले त्यही अवस्था अएको छ । यही स्केल कतिपय मतदाताको मापन पनि बनेको छ ।


दुईमध्ये को कम खराब ?

ट्रम्पसँग राजनीतिक अनुभव छैन । गुण छैन । कौशलता पनि छैन । कूटनीतिक मर्यादाको ख्याल गर्दैनन् । व्यक्तिगत चरित्रका कारणले पनि उत्तिकै आलोचित छन् । धेरैको भनाइ छ, उनी अमेरिकको राष्ट्रपतिका लागि सुहाउँदैनन् । विदेश नीतिमा समेत शून्य छन् । ट्रम्प समयले ल्याएको हुरीमात्र हुन् ।

अमेरिकी राजनीतिमा दुई दशकदेखि सक्रिय चलखेल गरेकी हिलारी चतुरमात्र हैन खतरनाक खेलाडी हुन् । सिकारीबाज भनिन्छ उनलाई । उनी आफ्नो प्रबल इच्छाशक्ति पूरा गर्न जे पनि गर्छिन् भन्ने विश्वास धेरै अमेरिकीमा छ । झन् बढी विवादको भुमरीमा फसेकी छिन्, हिलारी ।

ह्वाइट्वाटर, ट्राभलगेट, चाइनागेट, जेनफर फ्वालर, भिन्स फोस्टर, स्टेट डिपार्टमेन्ट इमेलदेखि साउदीसँगको भित्री सम्बन्ध, क्लिन्टन फाउन्डेसन र अहिले बल्झिएको हुमा अवेदिन काण्डका पहाड छिचोल्न हिलारीलाई मुस्किल परेको छ । हिलारीमाथि लगाइएका यी काण्डले अमेरिकी मतदातालाई सोच्न बाध्यमात्र गराएको छैन, ट्रम्पलाई बलियो बनाउन पनि ठूलै सहयोग गरेको छ ।

हिलारीका कमजोरी र स्क्यान्डल ट्म्पका लाइफलाइन बनेका छन् ।

लैंगिकमात्र हैन, स्वाभावले पनि ट्रम्प हिलारीभन्दा ठीक विपरीत छन् । हिलारीलाई अमेरिकी राजनीतिमा 'बिग टाइम मुनेपुलेटर'का रूपमा लिइन्छ भने ट्रम्प 'बिग टाइम आउटब्रेकर'का रूपमा देखिएका छन् । हिलारी स्टेज र क्यामेरासामु हाँसीहाँसी झूट बोल्छिन्, हाँसीहाँसी झूटको सामना गर्छिन् । बलियो आत्मविश्वासका साथ झूटो बोल्ने कला हिलारीमा छ । हाँसेर टार्ने स्टाइल हिलारीको राजनीतिक व्यक्तित्व हो ।

कतिपय अमेरिकी मतदाता र आलोचकहरूले हिलारीलाई 'प्याथोलोजिक लायर' अर्थात् जबर्जस्ती ढाँट्नमा अभ्यस्त मान्छेका रूपमा पनि हेरेका छन् ।

ह्वाइटहाउसमा पाइला टेके हिलारी 'कन्फ्लिक्ट अफ इनट्रेस्ट'को सिकार हुन सक्ने आशंका पनि त्यत्तिकै व्याप्त छ । उनले जनतासामु गरेका प्रतिबद्धताका विपरीत धनाढ्य व्यापारी तथा अर्बपतिसँग गरेको गोप्य साँठगाँठका पत्राचार र इमेलको चर्चाले हिलारीका बौद्धिक मतदातालाई पनि चिन्तित बनाएको छ ।

बिल क्लिन्टलको आठवर्षे कार्यकालमा ह्वाइटहाउसकी माइक्रो मेनेजर भएर भित्रभित्रै आफ्नै पार्टीका समर्थकबीच चरम अलोकप्रिय बनेकी हिलारीले धेरै मतदातालाई दोधारमा पारेकी छिन्, भोट कसलाई दिने ? कतिपय मतदाता 'राष्ट्रपतिमा कसैलाई मतदान नगर्ने, तर अन्यलाई गर्ने' मुडमा पनि छन् । आफ्नै दलभित्रबाट हुने क्षति पनि हिलारीले बेहोर्नुपर्ने देखिन्छ ।

आफूलाई एलेक्जेडर द ग्रेटसँग तुलना गर्ने ट्रम्प हाँस्नै जान्दैनन् । उनी हाँस्दा सायद अमेरिकामा घाम अस्ताउँदैन । उनी बोल्न जान्दैनन् । तर राजनीति भनेकै कूटनीति हो । कुटिलता पटक्कै नभएका ट्रम्प आक्रमक छन् । सधैं विस्फोटक देखिएका छन् । मनको कुरा ठाडो र स्पष्ट भाषामा बोल्छन् । विवाद जन्माउँछन् । विवाद हुर्काउँछन् । विवादमै रमाउँछन् ।

ट्रम्पका भाषण र चुनावशैली आक्रमक मात्र छैनन्, हिंसाप्रेरित छन् । अमेरिकी समाजका लागि घातक पनि छन् । तर, यसैका पछि लाग्ने उनका कट्टर समर्थक उत्साहित छन्, जसले श्वेत अतिवादलाई छोड्न सकेका छनैन् ।

डेमोक्र्याटभित्रै पनि आप्रवासीविरोधी एउटा धार छ, 'रेडनेक' । जसले श्वेतहरूकै सर्वोच्चतालाई भित्रभित्रै आत्मसात् गर्छ । यो धारले ट्रम्पका पक्षमा मतदान गर्न सक्ने सम्भावना पनि छ । मूलतः यो धारले ट्रम्पका दुई कुरामा विश्वस्त भएका हुन सक्छ, आप्रवासीलाई लखेट्ने र अमेरिकामा मुस्लिमलाई प्रवेश निधेष गर्ने ।
यसपटकको राष्ट्रपतीय बहस बौद्धिक भएनन्, मुख बजाउने मात्र भए । नीतिगत भएनन्, व्यक्तिगत भए । मतदाना खिन्न छन् ।

ट्रम्पले जिते के हुन्छ ?

ट्रम्पको जितसँगै अमेरिकाको भविष्य अनिश्चित हुने विपक्षी तर्कसँगै आप्रवासीमाथि संकट आइलाग्ने अनुमानले भित्रभित्रै त्रसित छ आप्रवासी समुदाय ।
तर त्योभन्दा ट्रम्पले हारे के हुन सक्छ भन्ने प्रश्न झन् बलियो छ । उनले भनेका छन्- हारको परिणाम स्वीकार्य हुने छैन । आफूले हार्नु भनेको धाँधली हुनु हो भन्ने ट्रम्पको गैरजिम्मेवार बोलीले अमेरिकीमा आशंकाको तुवाँलो फैलाएको छ ।

ट्रम्पको भाषणशैली र चुनावी प्रोपोगाण्डा नेपालका वामपन्थीका जस्ता हिंसा र अशान्ति प्रेरित छन् । ट्रम्पका उत्तेजक भाषणबाट उत्साहित भएका उनका कट्टर समर्थक शान्त रहँलान् ? यो कोणबाट हर्दा ट्रम्पको पराजयको परिणाम डरलाग्दो हुन सक्ने अवस्था छ ।

राष्ट्रियताको प्रश्न जटिल र संवेदनशील हुन्छ । ट्रम्पले आफूलाई आजसम्मकै सबैभन्दा राष्ट्रवादी अमेरिकी उम्मेदवारका रूपमा उभ्याएका छन् । उनका समर्थकहरूको मनोगन्थ्रीमा 'अमेरिका हाम्रो मात्र हो' भन्ने भावना फैलाएका छन् । त्यसमाथि ट्रम्पले आफूले चुनाव नजिते परिणाम नस्वीकार्ने चेतावनी भोलि उत्पन्न गर्ने परिस्थिति के हुन्छ ? आकलन गर्न गाह्रो छ ।

आफूलाई एलेक्जेडर द ग्रेटसँग तुलना गर्ने ट्रम्प कहिल्यै हाँस्न जान्दैनन् । उनी हाँस्दा सायद अमेरिकामा घाम अस्ताउँदैन । उनी बोल्न पनि जान्दैनन् । तर, राजनीति भनेकै कूटनीति हो । कुटिलता पटक्कै नभएका ट्रम्प व्यापक आक्रामक छन् र सधैं विस्फोटक देखिन्छन् ।

कंथकदाचित ट्रम्पले हारे भने उनका श्वेत कट्टरपन्थी समर्थकहरूले यसलाई उग्ररूप नदेलान् भन्न सकिँदैन । उनका समर्थकभित्र क्रोधको आगो बल्न सक्छ । यदि यस्तो भयो भने त्यो क्रोधको सिकार आप्रवासी नै हुनुपर्नेछ । जताततै हत्या-हिंसा फैलिन सक्छ । आप्रवासी र अश्वेत समुदायको जिउज्यान र धनसम्पत्तिमाथि आक्रमण हुन सक्दैन भन्न सकिँदैन ।

सेप्टेम्बर ११ पछि एक दर्जनभन्दा बढी अश्वेत आप्रवासीले अनाहकमा ज्यान गुमाउनु परेको घटना ताजै छ । त्यसको पुनारवृत्ति नहोला भन्न सकिँदैन । त्यसले भीषण रूप नलेला भनेर अनुमान गर्न पनि सकिँदैन । यदि यो अवस्था आएमा हामी नेपालीजस्ता अल्पसंख्यकमाथि नै सबैभन्दा ठूलो खतरा आइलाग्ने डर छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.