जसलार्इ स्क्यान्डलले कहिल्यै छाडेन
अमेरिकी राजनीतिमा ट्रम्पको उपस्थिति हर्ष र विस्मातको सीमारेखामा उभिएको छ । एकातिर विश्वास र आशा, अर्कोतिर त्रास र निराशा छ ।
नोभेम्बर ८ ले दिने हार-जितको नतिजा आफ्नै ठाउँमा छ । तर, ट्रम्पले जितुन् वा हारुन्, 'ट्रम्प डक्ट्रिन'का रूपमा नवश्वेत अतिवाद अमेरिकी राजनीतिमा स्थापित हुने सम्भावना पनि उत्तिकै छ ।
ट्रम्प रियल स्टेटका मुगल हुन् । उनको आगमनसँगै अमेरिकी समाजमा रहेको श्वेत र अश्वेतबीचको भित्री घाउ सतहमा आएको छ । अमेरिकी राजनीतिको मूलधारमा विभेदको राजनीति खुल्लमखुला रूपले प्रवेश पनि गरेको छ । यसले भोलि कुन रूप लिन्छ अहिले नै भन्न कठिन छ ।
शक्तिशाली उम्मेदवार !
डोनाल्ड जोन ट्रम्प राजनीतिज्ञ हुँदै होइनन् तर पनि महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपतीय चुवानमा आजसम्मकै शक्तिशाली उम्मेदवारको रूपमा उभिएका छन् ।
निर्वाचन जति नजिकिँदै आयो, रिपब्लिक पार्टीका उम्मेदवार ट्रम्प संस्थापनबाट त्यतित्यति टाढिँदै गए । अहिले सिंगो पार्टी उनको पक्षमा छैन । सिनेटका लागि लडेका अधिकांश उम्मेदवारसँग पनि उनको पारपाचुके भइसकेको छ । आफूले प्राप्त गरेरका डेलिगेस्ले पनि साथ छोड्दैछन् । सुपर डेलिगेस्को समर्थन सुरुदेखि नै छैन । मूलधारका प्रायः सम्पूर्ण मिडिया उनको विरोधमा छन् ।
अमेरिकी राजनीतिको इतिहासमै यो पहिलो घटना होला, जहाँ कुनै दल खुलेरै आफ्नै उम्मेदवारविरुद्ध उभियो । आफ्नै दलले पूर्णरूपमा उपेक्षा गर्दा पनि ट्रम्प बलिया छन् । प्रतिपक्षी हिलारी क्लिन्टनका लागि फलामको चिउरा भएका छन् ट्रम्प ।
अस्वाभाविक स्वभाकका ट्रम्पले बाजी मार्दैनन् भन्न पनि कठिन छ । विपरीत ढंगबाट भएको उनको आगमनले अमेरिकाको यो राष्ट्रपतीय निर्वाचनलाई संसारकै लागि सर्वाधिक चासोको विषय बनाएको छ ।
उल्लेख्य के पनि छ भने- सबै पक्षको आक्रमण, आफ्नै पार्टी, पार्टी संस्थापनको असहयोग र विरोधीबीच प्राइमरीमा शक्तिशाली मानिएको ट्रेड क्रुज, मार्को रुवियो र बुस डाइनेस्टी जेब बुसलाई समेत ट्रम्पले ज्यादै फराकिलो अन्तरले पराजित गरे । अमेरिकाको इतिहासमा कुनै पनि प्राइमरीमा यति ठूलो अन्तरले विजय-पराजय भएको पनि यो नै पहिलो घटना हो ।
कुनै राजनीतिक पृष्ठभूमि नभएका अर्बपति व्यापारी ट्रम्पले राष्ट्रपतिको चुनाव हार्नु अलग कुरा हो तर यो अवस्थामा यहाँसम्म आउनु नै उनको जित हो । अमेरिकी राजनीतिको केन्द्रमा ट्रम्पको यति बलियो उपस्थिति हुनु भनेको अमेरिकाको वैचारिक, वौद्धिक र भिजनरी राजनीति ढल्नु पनि हो ।
ट्रम्पको लोकप्रियताको कारण
'ह्वाइट सुप्रिमेसी'का पक्षधर ट्रम्प चुनावी अभियानका सुरुवाती दिनमा धेरैका लागि हास्यपात्र थिए । अहिले धेरैका लागि पीडापात्र बनेका छन् ।
ट्रम्पले जतिजति उत्तेजक, अव्यावहारिक र अशोभनीय शैलीमा असम्भव कुरालाई मुद्दा बनाउँदै गए उनी उति नै लोकप्रिय हुँदै आएका छन् । ट्रम्पका समर्थकका लागि यसपटकको राष्ट्रपतीय चुवाव सर्वाधिक हर्षको वर्ष भएको छ ।
अनेक सेक्स स्क्यान्ड र ट्याक्सको लफडामा ट्रम्प दिनहुँ आलोचित भइरहे । अमेरिकाका शक्तिशाली सञ्चारमाध्यहरूबाट प्रत्यक्ष प्रसारित भइरहेको 'प्रेसिडेन्टल डिबेट'मा उनले हिलारी क्लिन्टनलाई 'घिनलाग्दी आइमाई' भने । धेरैको अनुमान थियो, अमेरिकी महिला मतदाताको नजरमा ट्रम्प घृणास्पद हुनेछन् तर परिणाम उल्टो भइदियो ।
तिनका मनका कुरा ट्रम्पले बोलेका छन् । आशंकाको भुमरीमा रुमलिएको छ, अमेरिकाको राजनीति ।
चुनावी मैदानमा उत्रिनेबित्तिकै टम्पले घोर राष्ट्रवादसँग श्वेत डिस्कोर्स फ्युजन गरे । नारा दिए- 'अमेरिका फस्ट', 'अमेरिकन फस्ट' र 'ग्रेटर अमेरिका' ।
ट्रम्पसँगै विभेद र जातीयताको डरलाग्दो राजनीतिक भाइरसले अमेरिकी राजनीतिको केन्द्रलाई संक्रमित बनाएको छ । भोलि यो भाइरस झन् फैलने सम्भावना पनि उत्तिकै छ ।
मुस्लिमलाई अमेरिका प्रवेश निधेष गर्छु भन्ने उनको भनाइलाई लिएर अमेरिकाभित्र मात्र होइन, संसारभर नै विरोधका स्वर मुखरित भए । मिडियाले आलोचनासहित ट्रम्पका भनाइलाई हेडलाइन बनाए । तर, राष्ट्रपतीय दौडमा त्यही प्रोपोगाण्डाले उनलाई निक्कै लोकप्रिय बनायो ।
ट्रम्पले भने- 'एक करोडभन्दा बढीको संख्यामा रहेका अवैध आप्रवासीलाई अमेरिकाबाट निकाल्नु मेरो पहिलो काम हो ।' यसमा पनि ट्रम्प त्यत्तिकै आलोचित भए । तर, उनको लोकप्रियता झन् चुलिँदै गयो । उनले भाषण गरे- 'संसारका मानिस आएर अमेरिकीको भाग खोसेका छन् । यिनीहरूका कारणले अमेरिकी नागरिक बेरोजगार हुँदैछन् । यो बन्द हुनुपर्छ ।' ट्रम्पको यस्तो आक्रामक भाषणले धेरै अमेरिकीलाई अकर्षित गर्यो ।
'ल्याटिनो (मेक्सिकन तथा दक्षिण अमेरिकी) हरू बलात्कारी हुन् । अपराधी हुन् । ड्रग डिलर हुन् । यिनलाई रोक्न अमेरिका-मेस्किको बोर्डरमा पर्खाल लगाउनुपर्छ' भन्ने उद्घोषले ट्रम्पलाई झन् बलियो बनायो । विचार र भिजनको बाटोमा चल्ने अमेरिकी राजनीति कोरा नाराको हाइवेमा दौडियो ।
सिरियालगायतका शरणार्थीलाई अमेरिका छिर्न नदिने हो भने अमेरिका सुरक्षित हुने ट्रम्पको धारणाले उनको लोकप्रियतालाई निक्कै मलजल गर्यो । 'शरणार्थीका रूपमा आउने को आतंकवादी हो, को होइन, कसरी छुट्याउने ? ' भन्ने प्रश्नले धेरै अमेरिकी मतदाताको मनमा जरो गाड्यो । त्यो जरोले ट्रम्पलाई झन् बलियो बनायो ।
ट्रम्प स्वयंलाई पनि थाहा छ, उनले भनेका यी सबै अवधारणा असम्भव छन् तर धेरै अमेरिकी जनताले उनलाई पत्याए । अवैध आप्रवासीका बारेमा ट्रम्प पछिल्लो समयमा निक्कै नरम देखिएका छन् । बोली फेर्दै उनले आपराधिक क्रियाकलाप भएका आप्रवासीलाई मात्र अमेरिकाबाट निष्कासन गरिनेछ भने पनि उनका समर्थकहरू 'मास डेपोर्ट'को विश्वासमा छन् ।
यीबाहेक अनेक सेक्स स्क्यान्ड र ट्याक्सको लफडामा पनि उनी दिनहुँ आलोचित भइरहे । अमेरिकाका शक्तिशाली सञ्चारमाध्यहरूबाट प्रत्यक्ष प्रसारित भइरहेको 'प्रेसिडेन्टल डिवेट'मा उनले हिलारी क्लिन्टनलाई 'घिनलाग्दी आइमाई' समेत भन्न बाँकी राखेनन् । धेरैको अनुमान थियो अमेरिकी महिला मतदाताको नजरमा ट्रम्प घृणास्पद हुनेछन् तर परिणाम लगभग उल्टो भैदियो । उनको लोकप्रियतामा कुनै गिरावट आएन । बरु धेरैले भने, हिलारी विश्वास गर्न लायककी नेता नै होइनन् ।
महिला मतदाताबीच नै हिलारी अलोकप्रिय मानिन्छिन् ।
को असल ?
राजनीतिमा असल भन्ने शब्द गौण बन्दैछ । को कम खराब ? चुन्नुपर्ने हुन्छ । दसजना मान्छे मार्ने पनि हत्यारा हो, एउटा मार्ने पनि हत्यारा । दुवै खराब हुन् तर दसजनाभन्दा एकजना मार्ने कम खराब मानिन्छ । अमेरिकी राजनीतिमा पनि अहिले त्यही अवस्था अएको छ । यही स्केल कतिपय मतदाताको मापन पनि बनेको छ ।
दुईमध्ये को कम खराब ?
ट्रम्पसँग राजनीतिक अनुभव छैन । गुण छैन । कौशलता पनि छैन । कूटनीतिक मर्यादाको ख्याल गर्दैनन् । व्यक्तिगत चरित्रका कारणले पनि उत्तिकै आलोचित छन् । धेरैको भनाइ छ, उनी अमेरिकको राष्ट्रपतिका लागि सुहाउँदैनन् । विदेश नीतिमा समेत शून्य छन् । ट्रम्प समयले ल्याएको हुरीमात्र हुन् ।
अमेरिकी राजनीतिमा दुई दशकदेखि सक्रिय चलखेल गरेकी हिलारी चतुरमात्र हैन खतरनाक खेलाडी हुन् । सिकारीबाज भनिन्छ उनलाई । उनी आफ्नो प्रबल इच्छाशक्ति पूरा गर्न जे पनि गर्छिन् भन्ने विश्वास धेरै अमेरिकीमा छ । झन् बढी विवादको भुमरीमा फसेकी छिन्, हिलारी ।
ह्वाइट्वाटर, ट्राभलगेट, चाइनागेट, जेनफर फ्वालर, भिन्स फोस्टर, स्टेट डिपार्टमेन्ट इमेलदेखि साउदीसँगको भित्री सम्बन्ध, क्लिन्टन फाउन्डेसन र अहिले बल्झिएको हुमा अवेदिन काण्डका पहाड छिचोल्न हिलारीलाई मुस्किल परेको छ । हिलारीमाथि लगाइएका यी काण्डले अमेरिकी मतदातालाई सोच्न बाध्यमात्र गराएको छैन, ट्रम्पलाई बलियो बनाउन पनि ठूलै सहयोग गरेको छ ।
हिलारीका कमजोरी र स्क्यान्डल ट्म्पका लाइफलाइन बनेका छन् ।
लैंगिकमात्र हैन, स्वाभावले पनि ट्रम्प हिलारीभन्दा ठीक विपरीत छन् । हिलारीलाई अमेरिकी राजनीतिमा 'बिग टाइम मुनेपुलेटर'का रूपमा लिइन्छ भने ट्रम्प 'बिग टाइम आउटब्रेकर'का रूपमा देखिएका छन् । हिलारी स्टेज र क्यामेरासामु हाँसीहाँसी झूट बोल्छिन्, हाँसीहाँसी झूटको सामना गर्छिन् । बलियो आत्मविश्वासका साथ झूटो बोल्ने कला हिलारीमा छ । हाँसेर टार्ने स्टाइल हिलारीको राजनीतिक व्यक्तित्व हो ।
कतिपय अमेरिकी मतदाता र आलोचकहरूले हिलारीलाई 'प्याथोलोजिक लायर' अर्थात् जबर्जस्ती ढाँट्नमा अभ्यस्त मान्छेका रूपमा पनि हेरेका छन् ।
ह्वाइटहाउसमा पाइला टेके हिलारी 'कन्फ्लिक्ट अफ इनट्रेस्ट'को सिकार हुन सक्ने आशंका पनि त्यत्तिकै व्याप्त छ । उनले जनतासामु गरेका प्रतिबद्धताका विपरीत धनाढ्य व्यापारी तथा अर्बपतिसँग गरेको गोप्य साँठगाँठका पत्राचार र इमेलको चर्चाले हिलारीका बौद्धिक मतदातालाई पनि चिन्तित बनाएको छ ।
बिल क्लिन्टलको आठवर्षे कार्यकालमा ह्वाइटहाउसकी माइक्रो मेनेजर भएर भित्रभित्रै आफ्नै पार्टीका समर्थकबीच चरम अलोकप्रिय बनेकी हिलारीले धेरै मतदातालाई दोधारमा पारेकी छिन्, भोट कसलाई दिने ? कतिपय मतदाता 'राष्ट्रपतिमा कसैलाई मतदान नगर्ने, तर अन्यलाई गर्ने' मुडमा पनि छन् । आफ्नै दलभित्रबाट हुने क्षति पनि हिलारीले बेहोर्नुपर्ने देखिन्छ ।
आफूलाई एलेक्जेडर द ग्रेटसँग तुलना गर्ने ट्रम्प हाँस्नै जान्दैनन् । उनी हाँस्दा सायद अमेरिकामा घाम अस्ताउँदैन । उनी बोल्न जान्दैनन् । तर राजनीति भनेकै कूटनीति हो । कुटिलता पटक्कै नभएका ट्रम्प आक्रमक छन् । सधैं विस्फोटक देखिएका छन् । मनको कुरा ठाडो र स्पष्ट भाषामा बोल्छन् । विवाद जन्माउँछन् । विवाद हुर्काउँछन् । विवादमै रमाउँछन् ।
ट्रम्पका भाषण र चुनावशैली आक्रमक मात्र छैनन्, हिंसाप्रेरित छन् । अमेरिकी समाजका लागि घातक पनि छन् । तर, यसैका पछि लाग्ने उनका कट्टर समर्थक उत्साहित छन्, जसले श्वेत अतिवादलाई छोड्न सकेका छनैन् ।
डेमोक्र्याटभित्रै पनि आप्रवासीविरोधी एउटा धार छ, 'रेडनेक' । जसले श्वेतहरूकै सर्वोच्चतालाई भित्रभित्रै आत्मसात् गर्छ । यो धारले ट्रम्पका पक्षमा मतदान गर्न सक्ने सम्भावना पनि छ । मूलतः यो धारले ट्रम्पका दुई कुरामा विश्वस्त भएका हुन सक्छ, आप्रवासीलाई लखेट्ने र अमेरिकामा मुस्लिमलाई प्रवेश निधेष गर्ने ।
यसपटकको राष्ट्रपतीय बहस बौद्धिक भएनन्, मुख बजाउने मात्र भए । नीतिगत भएनन्, व्यक्तिगत भए । मतदाना खिन्न छन् ।
ट्रम्पले जिते के हुन्छ ?
ट्रम्पको जितसँगै अमेरिकाको भविष्य अनिश्चित हुने विपक्षी तर्कसँगै आप्रवासीमाथि संकट आइलाग्ने अनुमानले भित्रभित्रै त्रसित छ आप्रवासी समुदाय ।
तर त्योभन्दा ट्रम्पले हारे के हुन सक्छ भन्ने प्रश्न झन् बलियो छ । उनले भनेका छन्- हारको परिणाम स्वीकार्य हुने छैन । आफूले हार्नु भनेको धाँधली हुनु हो भन्ने ट्रम्पको गैरजिम्मेवार बोलीले अमेरिकीमा आशंकाको तुवाँलो फैलाएको छ ।
ट्रम्पको भाषणशैली र चुनावी प्रोपोगाण्डा नेपालका वामपन्थीका जस्ता हिंसा र अशान्ति प्रेरित छन् । ट्रम्पका उत्तेजक भाषणबाट उत्साहित भएका उनका कट्टर समर्थक शान्त रहँलान् ? यो कोणबाट हर्दा ट्रम्पको पराजयको परिणाम डरलाग्दो हुन सक्ने अवस्था छ ।
राष्ट्रियताको प्रश्न जटिल र संवेदनशील हुन्छ । ट्रम्पले आफूलाई आजसम्मकै सबैभन्दा राष्ट्रवादी अमेरिकी उम्मेदवारका रूपमा उभ्याएका छन् । उनका समर्थकहरूको मनोगन्थ्रीमा 'अमेरिका हाम्रो मात्र हो' भन्ने भावना फैलाएका छन् । त्यसमाथि ट्रम्पले आफूले चुनाव नजिते परिणाम नस्वीकार्ने चेतावनी भोलि उत्पन्न गर्ने परिस्थिति के हुन्छ ? आकलन गर्न गाह्रो छ ।
आफूलाई एलेक्जेडर द ग्रेटसँग तुलना गर्ने ट्रम्प कहिल्यै हाँस्न जान्दैनन् । उनी हाँस्दा सायद अमेरिकामा घाम अस्ताउँदैन । उनी बोल्न पनि जान्दैनन् । तर, राजनीति भनेकै कूटनीति हो । कुटिलता पटक्कै नभएका ट्रम्प व्यापक आक्रामक छन् र सधैं विस्फोटक देखिन्छन् ।
कंथकदाचित ट्रम्पले हारे भने उनका श्वेत कट्टरपन्थी समर्थकहरूले यसलाई उग्ररूप नदेलान् भन्न सकिँदैन । उनका समर्थकभित्र क्रोधको आगो बल्न सक्छ । यदि यस्तो भयो भने त्यो क्रोधको सिकार आप्रवासी नै हुनुपर्नेछ । जताततै हत्या-हिंसा फैलिन सक्छ । आप्रवासी र अश्वेत समुदायको जिउज्यान र धनसम्पत्तिमाथि आक्रमण हुन सक्दैन भन्न सकिँदैन ।
सेप्टेम्बर ११ पछि एक दर्जनभन्दा बढी अश्वेत आप्रवासीले अनाहकमा ज्यान गुमाउनु परेको घटना ताजै छ । त्यसको पुनारवृत्ति नहोला भन्न सकिँदैन । त्यसले भीषण रूप नलेला भनेर अनुमान गर्न पनि सकिँदैन । यदि यो अवस्था आएमा हामी नेपालीजस्ता अल्पसंख्यकमाथि नै सबैभन्दा ठूलो खतरा आइलाग्ने डर छ ।
प्रतिक्रिया दिनुहोस !