चुनावमा जुट्न तरुणलाई देउवाको निर्देशन

चुनावमा जुट्न तरुणलाई देउवाको निर्देशन

काठमाडौं: कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि मुलुक चुनावमा होमिएको भन्दै तरुणहरूलाई गाउँ गएर पार्टीको प्रचारमा लाग्न निर्देशन दिएका छन् ।

नेपाल तरुण दलका नवनिर्वाचित केन्द्रीय पदाधिकारीको प्रतिज्ञासभामा सोमबार बोल्दै देउवाले केही सातामै स्थानीय नियकाको चुनाव घोषणा हुने भएकाले तरुणहरूलाई चुनाव प्रचारका लागि गाउँ जान निर्देशन गरेका हुन् । 'संविधानअनुसार माघसम्ममा तीनै तहको चुनाव हुँदैछ', देउवाले भने, 'अब तरुण दल केन्द्रमा होइन, गाउँगाउँ जानुस् र पार्टीको प्रचारमा जुट्नुस् ।'

देउवाले कांग्रेसको मेरुदण्ड तरुण भएको बताउँदै तीनै तहको चुनावलाई केन्द्रमा राखेर रणनीति बनाउन पनि ननिर्वाचित समितिलाई निर्देशन दिए । 'चुनावको जिम्मा तरुण दलको हो', उनले भने, 'कांग्रेसलाई जिताउने जिम्मा तपाईंहरूको काँधमा छ । आजैदेखि तपाईंहरू त्यसमै लाग्नुस् ।'

देउवाले संसद्मा तीन मुख्य दलबीच गाउपालिका र नगरपालिकाको संरचना तयार नभएसम्म चुनाव गर्दा प्राविधिक कठिनाइ हुने भन्दै निश्चित समय तोकेर पुरानै स्थानीय संरचनामा चुनाव गर्ने सहमति भएको पनि बताए । 'आज म, प्रचण्डजी र ओलीबीच वार्ता भएको थियो', देउवाले भने, 'पुरानै संरचनाअनुसार स्थानीय निकायको चुनाव गर्ने सहमति भएको छ ।'
देउवाले संघीय ढाँचामा मुलुक प्रवेश गरेको र यसले मुलुकको समृद्धिका लागि सहयोग गर्ने भन्दै कांग्रेस यसमा स्पष्ट रहेको पनि बताए ।

उनले केही दलहरूले मधेस र पहाडबीच विभाजन गर्ने धारणा ल्याउने गरेको भन्दै त्यसले कसैलाई पनि राम्रो नगर्ने बताए । 'मधेस र पहाडको भावनाका कुनै पनि खाडल ल्याउन दिनु हुँदैन', देउवाले भने, 'मधेसमा रहेका जनत कोही पहाडीभन्दा कम राष्ट्रवादी छैनन् ।'

देउवाले सरकारले संसद्मा पेस गरेको संशोधन प्रस्ताव पास हुनेमा कुनै शंका नरहेको पनि बताए । 'संशोधान प्रस्ताव पारित हुन्छ,' देउवाले भने, 'अहिले नै एमालेले समर्थन गरेको त छैन तर पछि गर्छ ।'

कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेलले वर्तमान संविधानका मुख्य विषयहरू संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र समावेशी पूर्ण कार्यान्वयन भएर सबैको अधिकार सुनिश्चित हुने बताए ।

उनले मधेसी मोर्चाका नेताहरूले संविधानको अन्तरवस्तुको अध्ययन गरे धेरै कुरा संविधानले समेटेको बताउँदै अब चुनावी प्रतिस्पर्धामा अघि बढ्न पनि आग्रह गरे ।

पौडेलले लगातार तीन तहका निर्वाचन गर्नैपर्ने भन्दै धेरै राजनीतिक लुछाचुँडीमा अल्झन नहुने पनि बताए ।
उनले संविधान जारी गर्ने दल एमाले नै संविधान कार्यान्वयनमा बाधा हाल्दै आएको भन्दै त्यस्तो कार्यक्रम नगर्न आग्रह गरे । 'एमाले संविधान जारी गर्ने मुख्य हिस्सेदार हो', पौडेलले भने, 'यसको कार्यान्वयन गर्ने जिम्मेवारी पनि एमालेको हो ।'

तरुण दलका नवनिर्वाचित अध्यक्ष जितजंग बस्नेतले आफ्नो कार्यकालमा तरुण दललाई चलायमान बनाएर गाउँगाउँका युवामाझ पुर्‌याउने बताए । उनले कांग्रेसलाई चलायमान बनाउन पनि तरुण दल सक्रिय हुने भन्दै नेताका घर धाउने काम बन्द हुने घोषणा गरे । 'मेरो नेतृत्वको तरुण दल अब चलायमान हुन्छ, नेताको घरघर धाउने काम आजैदेखि बन्द हुन्छ', बस्नेतले भने, 'अब कांग्रेस गाउँगाउँमा पुग्छ ।'

कार्यक्रममा एक महिनाअघि पोखरामा भएको महाधिवेशनबाट चयन भएका अध्यक्ष बस्नेत, उपाध्यक्ष उत्तम चापागार्इं, महासचिव भूपेन्द्रजंग शाही र कोषाध्यक्ष विद्वान् गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.