देउवा गुट हार्ने डरले पर्सा काँग्रेसको अधिवेशन फेरि स्थगित
वीरगन्जः पार्टी सभापति शेर बहादुर देउवाको ठाडो आदेशमा नेपाली काँग्रेस पर्साको अधिवेशन फेरि स्थगीत भएको छ । यही पुष २८ गते बिहिबार हुने तय भएको काँग्रेस पर्साको अधिवेशन अन्तिम समयमा आएर स्थगित भएको हो ।
पार्टी सभापति देउवाको आदेशमा अर्को सुचना नभएसम्मका लागि काँग्रेस पर्साको अधिवेशन स्थगित गरिएको केन्द्रबाट पर्सा काँग्रेसको अधिवशेनका लागि खटाइएका निर्वाचन अधिकृत देवेन्द्र कोइरालाले जानकारी दिए ।
पार्टी सभापति देउवा जीले केन्द्रिय निर्वाचन आयुक्तद्वय गोपाल घिमिरे र खम्बबहादुर खातीलाई आइतबार अपरान्ह फोन गरेर पर्सा काँग्रेसको अधिवेशन स्थगित गर्न निर्देशन दिनुभयो, कोइरालाले सोमबार साँझ अन्नपुर्णपोष्टलाई भने,‘ देउवाजीको निर्देशनपछि केन्द्रीय निर्वाचन समितिले मलाई पनि फोन गरेर तत्कालका लागि चुनाव रोक्न निर्देशन दिएको हो, तर आधिकारीक पत्र भने मेरो हातमा आइपुगेको छैन ।
२८ गते हुने निर्वाचनका लागि पर्सा काँग्रेसको सभापति पदमा पुर्वसभासद अजय द्धिवेदी, नेता जनार्दन सिंह क्षेत्री, बशीष्ठनारायण कुर्मी, शान्ति कार्की र अशोक जयसवालले पत्रकार सम्मेलन नै गरेर उम्मेदवारी घोषणा गरिसकेका थिए ।
पाँचै जना उम्मेदवार र तीनका समर्थक नेता कार्यकर्ताहरुले मतदाताको घरदैलोमा पुगेर भोट माग्न पनि शुरु गरिसकेका थिए ।
सभापति पदका आकांक्षी पाच जना मध्येका द्धिवेदी, क्षेत्री र कुर्मी तीन जना नेता पार्टी सभापति देउवा गुटका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल गुटका एक्ला उम्मेदवार जयसवाल मात्र थिए । कार्की भने स्वतन्त्र उम्मेदवार थिइन् ।
आफ्नै गुटका तीन जनाले उम्मेदवारी दिने घोषणा गरेपछि चुनावमा आफनो गुट पराजित हुने भयले पार्टी सभापति देउवाले अन्तिम समयमा आएर अधिवेशन र चुनाव स्थगीत गर्न लगाएको पौडेल पक्षका नेताहरुको आरोप छ ।
अन्तिम समयमा आएर काँग्रेस पर्साको अधिवेशन र चुनाव स्थगीत भएपछि सभापति पदका आकांक्षी नेता र कार्यकर्ताहरु पनि पार्टी नेतृत्व प्रति रुष्ट भएका छन् ।
यो अरु केहि होइन पर्सामा काँग्रेस पार्टीको संगठनलाइ तहसनहस पार्ने खेल मात्रै हो , अधिवेशन स्थगित भएपछि आक्रोशित भएका काँग्रेस पर्सा क्षेत्र नम्बर २ का सभापति अरविन्द गुप्ताले भने ,‘ केन्द्रिय सदस्य रमेश रिजाल र जिल्ला सभापति सुरेन्द्र चौधरीको दबाबमा पार्टी सभापति शेर बहादुर देउवाले अधिवेशन स्थगीत गरेका हुन् ।
यस्तै सभापति पदका उम्मेदवार अजय द्धिवेदीले पनि अन्तिम समयमा आएर फेरि काँग्रेस पर्साको अधिवेशन स्थगीत गर्ने निर्णय संगठन र कार्यकर्ताका लागि दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिए ।
जिल्लामा काँग्रेसको अधिवेशन र चुनाव हुने भएपछि आम कार्यकर्ताहरु उत्साहित भएका थिए, आसन्न स्थानीय निकायको चुनावमा पनि यसले पार्टीलाई लाभ हुने संकेत आइरहेको थियो, द्धिवेदीले भने ,‘तर अचानक अन्तिम समय आएर अधिवेशन स्थगित गर्दा जिल्लाका नेता र कार्यकर्ताहरुको मनोबल गिरेको छ ।
नेपाली काँग्रेसको १३ औं महाधिवेशन गत फागुन २० देखि २३ गते सम्म काठमाण्डौमा सम्पन्न भएको थियो । महाधिवेशन अगावै जिल्ल अधिवेशन गर्नु पर्नेमा पर्सामा देउवा र पौडेल पक्षका नेताहरुको विवादका कारण त्यसबेला महाधिवेशन पछि नै जिल्ला अधिवेशन गर्ने समझदारी नेताहरु बिच भएको थियो ।
महाधिवेशनपछि पर्सा काँग्रेसको अधिवेशन र चुनावका लागि यसअघि पनि तीन पटक मिति तय गरिएको थियो । तर तीनै पटक अन्तिम समयमा आएर अधिवेशन स्थगीत गरिएको थियो ।
पछिल्लो पटक यही पुष २८ गते बिहिबार जिल्ला अधिवेशन हुने मिति तय भइ नेता कार्यकर्ताहरु चुनावी अभियानमा व्यस्त भइसकेका बेला अचानक फेरि अन्तिम समयमा अधिवेशन स्थगीत भएपछि अब फेरि कहिले चुनाव हुन्छ भन्नेमा यहाका नेता कार्यकर्ताहरु अन्यौलमा परेका छन् ।