संविधान संशोधनलाई थाँती राखेर निर्वाचनमा जानुपर्छः पुन
नेपालगन्जः नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संविधान संशोधन प्रक्रियालाई थाँती राखेर निर्वाचन जानुपर्ने बताएका छन्।
प्रेस सेन्टर नेपाल बाँकेले सोमबार नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा पुनले संविधान संशोधन प्रस्तावलाई प्रक्रियामा राखेर निर्वाचन जानु पर्ने बताएका हुन्। उनले भने,‘मुख्य विषय संविधान संशोधन नभएर निर्वाचन हो। त्यसैले अब केही दिनमा स्थानीय निकायको निर्वाचन घोषणा गरेर अघि बढ्छौं।’
उनले मधेसी मोर्चा निर्वाचन सहभागी हुनेमा आफू विश्वस्त रहेको बताए। पुनले भने,‘मोर्चा निर्वाचनभन्दा बाहिर जाँदैन। अवश्यनै निर्वाचनमा आउँछ, यसमा म विश्वस्त छु।’
संविधान संशोधनको पक्षमा समेत स्पष्ट दुई तिहाइ नदेखिएको बताउँदै नेता पुनले भने,‘दुई तिहाइ पुग्ने अवस्था देखिएको छैन। त्यस कारण मोर्चाले ढिपी गर्नु हुँदैन। हार्ने हिसाबले मतदान जानु हुँदैन।’ उनले प्रमुख प्रतिपक्ष दल एमालेसमेत जनमतविरुद्ध जान नसक्ने बताए।