कोरियन भाषा परीक्षाका लागि अनलाइन फारम भर्नेको भिड
काठमाडौं : कोरियन भाषा परीक्षा ‘अनलाइन फारम’ खुलेको पाँचमा ४२ हजार पाँच सय भन्दा बढी युवाले आवेदन दिएका छन्। रोजगार अनुमती प्रणाली (ईपीएस) शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार आइतबार दिउँसो दुई बजेसम्म ४२ हजार पाँच सय ३८ जनाले परीक्षा आवेदन फारम समिट गरिसकेका छन्।
‘परीक्षा फारम भर्न सिस्टममा कुनै समस्या छैन’, उनले भने, ‘फारम भर्ने आवदेक नै प्रविधि मैत्री हुन्न नसक्दा केही समस्या आएको छ।’ परीक्षाका लागि अनलाइन आवेदन दिनेहरुले इमेल आइटी गल्ती प्रयोग गर्दा शाखाले केही समस्या भोग्नु परेको उनले बताए।
इमेल आइडीबाट आवेदकको प्रवेश पत्र पठाउँदा आवेदन कर्ताले गल्ती आइडी प्रयोग गर्दा समस्या आएको उनले बताए। जसका कारण अहिले कार्यालयमा फोन गर्नेका्े चाप बढेको उनको भनाइ छ।
आवेदकले अनलाइन फारम भर्दा एक पटक पुनः आफ्नो आइडी चेक गरेर मात्रै फारम समिट गर्ने खतिवडाले आग्रह गरेका छन्। यस बाहेक केही मात्रामा बैंकले गरेको गल्तीका कारण पनि अनलाइन फारम भर्ने काममा समस्या भएको उनको भनाइ छ।
शाखाले बुधाबार चैत ९ गते बिहान १० बजेदेखी अनलाइन परीक्षा आवेदन फारमको लागि पेज खुल्ला गरेको थियो। पेज खुल्ला हुनासाथ अनलाइन आवेदन फारम भर्नेको चाप क्रमश बढेको खतिवडाले जानकारी दिए।
दिनको समयमा बैंकमा पैसा तिर्ने र रातको समयमा अनलाइन फारम भर्नेहरुको संख्या पनि देखिएको छ। शाखाले एउटा बैंकबाट मात्र आवश्यक २४ डलरको भौचर भर्नु पर्ने गरी लगाएको निर्णयबाट भने बैंकका शाखामा लामो लाइन देखिन्छ।
यस पटक बैंकमा देखिएको जस्तै लाइन विगतका वर्षमा फारम लिनेका लागि हुन्थ्यो। अनलाइन आवेदन फारम यही चैत १८ गते रातको १२ बजेसम्म समिट गर्र्न सकिन्छ। यसका लागि एमआरपी पासर्पोट नम्बर, बैंक भौचर नम्बर र इमेल आइडी आवश्यक पर्छ।
आवेदन फारम भर्नेले इमेल आइडीबाटै परीक्षाका लागि आवश्यक प्रवेश पत्र प्रिन्ट गरेर दिन पाउने छ। गत वर्ष ६१ हजारले आवेदन फारम भरेपनि यो वर्ष ७० हजार भन्दा बढीले आवेदन फारम भरेको शाखाको अनुमान छ।