डुंगामा सप्तकोसीबाट काठ तस्करी
महेन्द्रनगर सुनसरीः सप्तकोसीमा बाँसको डुंगाबाट काठ तस्करी हुँदैछ भन्ने जानकारी शनिबार साँझ सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक गंगाप्रसाद पौडेललाई आयो ।
सूचना आउनासाथ प्रनि पौडेल सादा पोसाकमा विशेष टोली लिएर सुनसरी र उदयपुरको सिमाना भएर बगिरहेको सप्तकोसी नदीतर्फ अघि बढे । नदीको किनारैकिनार अघि बढिरहेको अवस्थामा धेरै बाँस प्रयोग गरेर बनाइएको एउटा डुंगा सप्तकोसी हुँदै आइरहेको थियो । डुंगामा दुई युवा थिए ।
प्रहरी टोलीले डुंगा नियन्त्रणमा लिने तयारी गरेको थाहा पाएर ती युवाले डुंगा नदीको पारिपट्टि भगाउने प्रयास गरे पनि सफल हुन नसकेपछि डुंगा त्यहीँ छोडेर पौडिएर सप्तकोसी पार गरी फरार भए । केही प्रहरीले पौडिएर नदी पार गरी उनीहरूलाई नियन्त्रणमा लिने प्रयास गरे पनि सफल हुन नसकेको पौडेलले बताए ।
युवालाई नियन्त्रणमा लिन नसके पनि प्रहरीले सुनसरीको बराह नगरपालिका २ चक्रघट्टीस्थित सिसौलीघाटबाट बाँसको डुंगा भने नियन्त्रणमा लियो । दुई सयभन्दा बढी बाँस जडान गरेर बनाइएको डुंगामुनि ठूलो परिणामको सखुवाको चिरान काठ फिट गरिएको थियो । विभिन्न आकारका ६१ थान सखुवाको चिरान काठ डुंगामुनि फिट गरेर ल्याइएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।
‘पहाडी क्षेत्रको वनबाट सखुवाको काठ बाँसको डुंगाको प्रयोग गरी सप्तकोसी नदीबाट तस्करी हुने गरेको पाइयो,' प्रनि पौडेलले भने, ‘यो काठ कहाँ लैजान खोजिएको हो भन्ने पत्ता लाग्न बाँकी छ ।' उनले बाँसको डुंगामुनि बहुमूल्य सखुवाको काठ बरामद हुनुले तस्करीको पुष्टि भएको बताए । उनले भने, ‘उदयपुर र भोजपुरका वनबाट काठ चिरान गरेर तराईका जिल्लातर्फ तस्करी हुने गरेको अनुमान छ । तस्करीमा संलग्नले सप्तकोसी नदीलाई तस्करी गर्ने रुटका रूपमा प्रयोग गर्दा रहेछन् ।'
उनका अनुसार डुंगा बनाएर बाँस भने पहाडी जिल्लाबाट तराईका जिल्लामा पहिलेदेखि नै ल्याउने गरिन्थ्यो । बढी मूल्य पाइने भएका कारण पहाडी जिल्लाबाट तराईका जिल्लामा बिक्री गर्न डुंगा बनाएर बाँस सप्तकोसी हुँदै ल्याउने गरिएको थियो । तर पछिल्लो समय बाँसको डुंगामुनि बहुमूल्य सखुवाको काठ फिट गरेर तस्करी हुन थालेको पाइएको प्रहरीले जनाएको छ । सुनसरीको इटहरी, इनरुवा, विराटनगरलगायतका स्थानमा पुर्याएर तस्करीको काठ बिक्री गर्न लागिएको आशंका प्रहरीको छ । ‘बरामद भएको काठको अवस्था हेर्दा अर्डर कैजस्तो छ', पौडेलले भने, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ ।'
उनले यसअघि पनि प्रहरी उपस्थिति न्यून भएको अवस्थामा यसरी नै काठ तस्करी हुने गरेको पाइएको बताए । बाँस बिक्री गर्न लैजाने बहानामा डुंगामुनि फिट गरेर तराईका जिल्लामा काठ तस्करी हुने गरेको जानकारी पूर्वक्षेत्रीय प्रहरी प्रमुख डीआईजी रमेश भट्टराई र सुनसरी प्रहरी प्रमुख एसपी पोषराज पोखरेललाई यसअघिदेखि नै आइरहेको थियो । डीआईजी भट्टराई र एसपी पोखरेलले स्थानीय प्रहरीलाई डुंगा बनाएर बिक्रीका लागि ल्याइने बाँसको निगरानी गर्न निर्देशन दिएका थिए।
गाँजा पनि सप्तकोसीबाटै तस्करी
ट्र्याक्टरमा प्रयोग हुने ट्युब प्रयोग गरी सप्तकोसी नदीबाट गाँजा पनि तस्करी हुने गरेको पाइएको छ । दुईवटा ट्युब जडान गरेर डुँगा बनाउँदै पहाडी जिल्लाबाट गाँजा तस्करी हुने गरेको प्रहरीले जनाएको छ । ट्युब प्रयोग गरेर सप्तकोसी नदीबाट ल्याउँदै गरेको अवस्थामा आइतबार बिहान प्रहरीले ठूलो परिमाणको गाँजा सुनसरीको बराह नगरपालिका १ बाट बरामद गरेको छ । विशेष सूचनाका आधारमा ट्युबमाथि राखेर ल्याउँदै गरेको अवस्थामा एक सय किलोग्राम गाँजा बरामद गरिएको प्रनि पौडेलले बताए ।
ट्युबमा बसेर गाँजा ल्याउँदै गरेका युवा भने प्रहरीलाई देख्नसाथ फरार भएका थिए । प्रहरीले धनकुटाबाट सप्तकोसी नदी हुँदै गाँजा तस्करी हुने गरेको निष्कर्ष निकालेको छ । ‘ट्युबको प्रयोग गरेर गाँजा तस्करी गर्नेले सप्तकोसी नदीलाई बाटोका रूपमा प्रयोग गर्ने गरेको पाइयो', प्रनि पौडेलले भने, ‘यस विषयमा प्रहरीले गम्भीर भएर अनुसन्धान सुरु गरेको छ ।' पहाडी जिल्लामा उत्पादन हुने गाँजा सप्तकोसी नदी हुँदै तराईतर्फ ल्याएर भारत तस्करी हुने गरेको प्रहरीको आशंका छ ।