सिलाइबाटै मनग्गे आम्दानी

सिलाइबाटै मनग्गे आम्दानी

बैतडीः जिल्लाको पाटन नगरपालिका सिलंगाकी बिमला दमाई अहिले सिलाइ पेसाबाटै आत्मनिर्भर हुनुभएको छ । सँगै मर्ने र जिउने कसम खाएका पतिले दोस्रो विवाह गरेपछि विमला घरमासमेत बस्न नसक्ने अवस्थामा पुग्नुभयो । उहाँ भन्नुहुन्छ, ‘घरमा बस्ने स्थिति नभएपछि माइतमा आएँ । महिला तथा बालबालिका कार्यालयबाट तालिम लिएँ । त्यसपछि सिलाइबाटै घर चलाइरहेकी छु । छोरीको लालनपालन सिलाइ पेसाबाटै चलेको छ । अहिले सिलाइ सिक्न आउनेलाई तालिमसमेत दिने गर्छु ।'

जिल्लाको दशरथ चन्द नगरपालिका वडा नं १ गुरुखोलाकी हेमन्ती टेरले गएको एक वर्षयता मुस्याचौर बजारमा सिलाइ सेन्टर खोलेर दैनिक एक हजारको हाराहारीमा कमाइ गरिरहनु भएको छ । उहाँले आफ्नो सिलाइ सेन्टरमा दुई जनालाई रोजगारी पनि दिनुभएको छ । महिलाले घरको चुलोचौको मात्रै गर्नुपर्छ भन्ने सामाजिक मान्यतालाई चुनौती दिँदै उहाँले माइतीघरमै बसेर सिलाइ पेसा सिक्नुभयो । त्यसपछि घरमै सिलाइ सेन्टर खोल्नुभयो । उहाँ भन्नुहुन्छ, ‘घरको कामकाजमा मात्रै महिला सीमित हुनु हुँदैन, सधैंभरी श्रीमानको भर पर्दा महिला परनिर्भर हुन्छन् । हामीले पनि सीप सिक्यौं भने पैसा कमाउन सकिन्छ । यो मैले सिलाइ पेसामा लागेर प्रमाणित गरेकी छु ।'

सिलाइ पेसामा आबद्ध भएपछि घरपरिवारले हेर्ने दृष्टिकोण पनि फेरिएको हेमन्तीको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘मैले सिलाइ पेसाबाट पैसा कमाउन थालेपछि घरपरिवार पनि खुसी छन् । मलाई आत्मविश्वास जागेको छ । मेरा हरेक आवश्यकता म आफैं पूरा गर्न सक्छु ।'

जिल्लाको दशरथ चन्द नगरपालिका २ देहीमाडौंकी रेबती बोहरा गएको एक दशकयता सिलाइ पेसामै आबद्ध हुनुहुन्छ । द्वन्दमा श्रीमानको मृत्यु भएपछि उहाँलाई घरपरिवार चलाउन निकै धौ धौ परेको थियो । ‘सधैंभरी बेरोजगार भएर कति बस्नु? केही न केही गर्नुपर्छ, मैले मेरो घरपरिवार चलाउन आँट गर्नुपर्छ भनेर सिलाइ पेसा रोजेँ । यसै पेसाबाट म आत्मनिर्भर बनेकी हुँ । अहिले म विभिन्न संघसंस्थामा काम गर्न थालेकी छु', उहाँले भन्नुभयो ।

जिल्लाको पाटन नगरपालिका वडा नं २ सिद्धेश्वरकी हेमन्ती बिष्टले विद्यालयको पढाईसँगै सिलाइ काम गर्न थाल्नुभएको छ । सिलाइ पेसाबाटै पढाइ खर्चसमेत जुटाएको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘किशोरीले पनि आफ्नो खुट्टामा उभिन सक्छन् भन्ने विभिन्न तालिममा सिकेँ, अहिले सिलाइबाटै पैसा पनि कमाइरहेकी छु, सँगसँगै पढाइ पनि गरिरहेकी छु ।'

सिलाइ पेसामा आबद्ध ग्रामीण महिला अहिले सिलाइ पेसाबाट आत्मनिर्भर बन्न थालेको प्रस्ट हुन्छ । जिल्लाका मुख्य व्यापारिक केन्द्र गोठालापानी, शाहीलेक, पाटन, हाट, मेलौली, खोड्पेलगायतका क्षेत्रमा महिलाले सञ्चालन गरेका सिलाइ सेन्टर प्रशस्त मात्रामा भेट्टिन्छन् । यसरी सिलाइबाट आत्मनिर्भर बनेका महिलामाथि हुने हिंसासमेत कम हुने उनीहरूले बताएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.