वाइडबडी खरिद सम्झौता
नेपाल वायुसेवा निगम र अमेरिकी कम्पनी एएआर कर्पोरेसनबीच शुक्रबार वाइडबडी जहाज खरिदका लागि सम्झौता भएको छ । दुईपक्षीय सम्झौता अनुरूप एएआरले निगमलाई २०७५ साल वैशाख १५ गतेभित्र पहिलो वाइडबडी एयरबस र जेठ १५ गतेभित्र दोस्रो जहाज उपलब्ध गराउनु पर्नेछ । नेपालको इतिहासमा पहिलोपटक भएको वाइडबडी जहाज खरिद सम्झौतामा निगम महाप्रबन्धक सुगतरत्न कंसाकार र बिक्रेता कम्पनी एएआर कर्पोरेसनका तर्फबाट दीपक शर्माले हस्ताक्षर गर्नुभएको थियो ।
निगमले ३३०-२०० सिरिजका दुईवटा वाइडबडी जहाज २०९.६ मिलियन अमेरिकी डलर अर्थात् २२ अर्ब ६३ करोड रुपैयाँमा खरिद गर्नेछ । सम्झौतालगत्तै निगमले पहिलो किस्ताबापत करिब ३५ प्रतिशत रकम (करिब आठ अर्ब) एक महिनाभित्रै पठाउने सहमति भएको कंसाकारले जानकारी दिनुभयो ।
जहाज खरिदका लागि ग्लोबल टेन्डरमार्फत छनोट भएको अमेरिकी लिजिङ कम्पनीसँग निगमले खरिद गर्ने जहाजमा २५० देखि २८० सम्म सिट हुने उहाँले बताउनुभयो । जहाज खरिद सम्झौता भएसँगै एएआरले निगमलाई सन् २०१८ को अप्रिलभित्र पहिलो एयरबस र दोस्रो एयरबस मेभित्रै उपलब्ध गराउनु पर्ने हुन्छ ।
यसअघि निगमले पौने ११ करोड रुपैयाँ बैना रकम एएआरलाई पठाइसकेको छ । दश इच्छुक कम्पनीमध्येबाट ग्लोबल टेन्डरमार्फत अमेरिकी कम्पनी एएआर छनोट भएको थियो । निगमले एक हजार घन्टासम्म उडेको जहाज भए पनि खरिद गर्ने प्रस्ताब आह्वान गरेको भए पनि एएआरले निगमलाई ब्रान्डेड जहाज नै दिने प्रस्ताब गरेको हो ।
दुईवटा जहाज थपिएपछि निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि पाँचवटा जहाज हुनेछन् । हाल निगमले एक बोइङ ७५७-२०० र दुईवटा एयरबस ३२०-२०० सिरिजका न्यारोबडी जहाजमार्फत आठ गन्तव्यमा उडान भर्दै आएको छ ।
वाइडबडी विमानबाट सेवा सुचारु भएसँगै हवाई भाडा सस्तो हुनुका साथै नेपाल सहज गन्तव्य बन्नेछ ।
नयाँ विमानबाट निगमले दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, साउदी अरेबियाजस्ता गन्तव्यमा उडान गर्ने व्यावसायिक योजनासमेत बनाइसकेको छ । अहिले निगमको अन्तर्राष्ट्रिय उडानमा बजार हिस्सा करिब नौ प्रतिशत छ । दुईवटा वाइडबडी जहाज आएसँगै बजार हिस्सा १६ प्रतिशत पुग्ने कंसाकारको दाबी छ ।
‘विश्वमा सबैभन्दा महंगो हवाई भाडा भएको देश भनेर नेपाल चिनिँदै आएको छ', उहाँले भन्नुभयो, ‘वाइडबडी विमानबाट सेवा सुचारु भएसँगै अपेक्षाकृत भाडा सस्तो हुनुका साथै नेपाल सहज गन्तव्य हुनेछ ।'
पर्यटन प्रवद्र्धनमा विशेष अभिरुचि राख्दै निगमलाई विमान किन्नका लागि आवश्यक २५ अर्ब रुपैयाँको जमानी बसेकोमा उहाँले सरकारलाई धन्यबाद दिनुभयो । निगमले आवश्यक रकम कर्मचारी सञ्चय कोषबाट ऋण लिने तयारी गरिरहेको छ ।
सम्झौतापछि एएआरका प्रतिनिधि दीपक शर्माले नेपालसँग यस प्रकारको सम्झौता गर्न पाएकोमा गौरबको अनुभूति भएको बताउनुभयो ।