जितपुरमा फैलियो बाँदर आतंक
काठमाडौंः ‘सरकार ! हिंस्रक बाँदरले न खेतीपाती गर्न दियो, न खाद्यान्न घरमा रहन दियो । घरमा पकाएर राखेको खाने कुरासमेत झिकेर खाइदियो । एउटा ज्यान बाँकी थियो, त्यो पनि बाँदरले घेरा हाली चोक्टै लुछेर हिँड्न थाल्यो । लौ न अब हामी के गरी बस्ने ? बाटो देखाइदिनुप¥यो', यो आर्तनाद तारकेश्वर नगरपालिकास्थित वडा नं ३ तीनपिप्ले (साविकको जितपुर) का ९० वर्षीय हेमप्रसाद अर्यालको हो ।
पछिल्लो समयमा बाँदरको आतंक बढ्दै गएपछि तारकेश्वर नगरपालिकाको वडा नं १ देखि ५ सम्मका किसानका साथै सर्वसाधारण निकै पीडित बनेका छन् । बाँदर आतंकका कारण स्थानीय बासिन्दाले पछिल्लो समय किसानले खेत बाँझै राख्न बाध्य भएको अर्यालको भनाइ छ । मकै, गहुँ, कोदो, धान, केराउ, बकुल्ला, काउली, बन्दालगायत तरकारी र फलफूल बाँदरले खाएर सोत्तर बनाउन थालेपछि किसान खेत बाँझै राख्न बाध्य भएका छन् । ‘खेतमा बीउ छर्न नपाउँदै बीउ नै उखेलेर बाँदरले खाइदिन्छ', अर्यालले भन्नुभयो, ‘त्यति मात्रै होइन, बोट उमे्रर फल लागेको बाँदरले देखिसहन्न । फल लाग्यो कि खाएर सोत्तर पारिदिन्छ । के गरी खेती गर्नु ? ' बाँदर आतंकबाट सबैभन्दा बढी वडा नं ३ का बासिन्दा पीडित बनेको स्थानीय रामशरण गजुरेलको भनाइ छ ।
उक्त वडामा बसोवास गर्ने ११ हजार सर्वसाधारण यसबाट पीडित छन् । ‘झन् महिला र बालबालिका एक्लै हिँड्नै नहुने बनाइसक्यो । एक्लै हिँड्यो कि घेरा हालेर मासुको चोक्टा लुछिहाल्छन् । खेतीपातीको कुरै नगरौं', उहाँले भन्नुभयो, ‘बाँदरले गरी पनि खान दिएन । बाहिरबाट चामल, तरकारी र दाल पनि किनेर खान धौधौ बनाइदियो । बाँदरले बाटोबाटै खाद्यान्न लुछेर लगिदिन्छ भने घरमा पकाएर लुकाएको खाना पनि खाइदिन्छ । यस्तो अवस्थामा के गरी यहाँ बस्ने ? '
बाँदर आतंकबाट पीडित बनेपछि स्थानीय बासिन्दा बसाइँ सर्ने सुरसार गर्न थालेका छन् । स्थानीय राधाकृष्ण ढकालका अनुसार खेतबारीदेखि घरबारीसम्म दुई सयदेखि पाँच सय संख्यामा बाँदरको हुलले आक्रमण गर्दै आएको छ । यस्तो बाँदरको समूह सातवटासम्म छ । आसामी र रातो जातको बाँदरको आतंक बढी रहेको ढकालले जानकारी दिनुभयो । बाँदर आतंकबारे शिवपुरी नागार्जुन निकुञ्जमा पटकपटक जानकारी गराउँदा पनि कसैले चासो नदिएको स्थानीयवासीको गुनासो छ । बाँदरका कारण कृषिबाटै जीविकोपार्जन गर्दै आएका किसान भोकभोकै मर्नुपर्ने अवस्था सिर्जना भएको स्थानीय प्रा. घनश्याम पुडासैनीले जानकारी दिनुभयो ।
जितपुरमा खाद्यान्न पसल सञ्चालन गर्नुभएका सुवास अर्यालले बाँदरको समूहले पसल पनि गर्न नदिएको गुनासो गर्नुभयो । पसलमा भएका खाद्यान्न, तरकारी, फलफूल, चामल, दाललगायत सबै सामग्री लुछेर खाइदिने उहाँको भनाइ छ । बाँदरका कारण उहाँको २० रोपनी जग्गा तीन वर्षदेखि बाँझै छ । तारकेश्वर नगरपालिकाका ३ का वडा सचिव हरिकृष्ण अर्यालले बाँदरका कारण खेतीपाती बन्द हुँदा किसानले जग्गाको मालपोतबापतको राजस्वसमेत तिर्न नसकेको बताउनुभयो । दीर्घकालीन रूपमा बाँदर आतंक समाधान गर्न वन मन्त्रालयलाई दुईपटकसम्म ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको उहाँको भनाइ छ । ‘खेतीपाती बन्द हुँदा नगरपालिकाले किसानबाट राजस्व पनि उठाउन सकेको छैन । जग्गा सबै बाँझै भए । नगरपालिकाले कुन मुख लिएर राजस्व असुल्ने ? ', उहाँले भन्नुभयो ।
पछिल्लो १० वर्षयता नुवाकोटको ओखरपौवा, जितपुर, धर्मस्थली, गोलढुंगा, काभ्रेस्थली र झोर फुटुङसम्म बाँदर आतंक फैलिएको छ । २०२८ सालमा छाडिएका र भक्तपुरमा पालिएका बाँदर उक्त क्षेत्रमा छाड्दा बाँदरले आतंक मच्चाएको स्थानीय शिवहरि अर्यालले जानकारी दिनुभयो । राष्ट्रिय कृषक समूह महासंघले बिहीबार आयोजना गरेको स्थलगत भ्रमण तथा बाँदर पीडित सुनुवाइमा पीडित किसानले बाँदर आतंकको फेहरिस्त सार्वजनिक गरेका हुन् । उक्त अवसरमा किसानले दीर्घकालीन रूपमा सरकारले बाँदर आतंक समाधान गरिदिए बाँदरलाई खुवाउन आवश्यक पर्ने खाद्यान्न हरेक घरधुरीले उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले बाँदरको आतंक दीर्घकालीन रूपमा समाधान गर्न वन मन्त्रालयसहित प्रधानमन्त्री पुष्पकमल दाहालको समेत ध्यानाकर्षण गराउने आश्वासन दिनुभयो ।
बाँदर आतंकबाट सयौं घाइते
बाँदरले घेरा हालेर जितपुरको दुई सयको संख्यामा किसान घाइते बनेका छन् । खेतबारीमा बाली रेखदेख गर्न जाने किसान, किनमेल गर्न बजारमा जाने सर्वसाधारण, महिला र बालबालिकालाई सयौंको संख्यामा बाँदरले घेरा हाली खुट्टा, अनुहार, तिघ्रा, पाखुरालगायत स्थानमा टोकेर घाइते बनाएका छन् ।
यसबाहेक स्थानीय ठूलीकान्छी घिमिरे, भगीरथ घिमिरे, अकबहादुर तिवारी, अर्जुन अर्याल, जमुना अर्याल, नारायणी अर्याल, रामकृष्ण अर्याल, प्रकाण्ड अर्याल, गायत्री अर्याल, कान्छी गजुरेल, भीमसेन अर्याल, बलराम पुडासैनी, मैया घिमिरे, कल्पना गजुरेललगायत किसानको मासुको चोक्टा नै लुछेर बाँदरले लगेको राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारीले जानकारी दिनुभयो । उहाँले घाइते परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग मागसमेत गर्नुभयो ।
बाँदरको टोकाइबाट घाइते बन्नुभएको गायत्री अर्यालका अनुसार मकै पिन्न मिल जाने क्रममा दुईतर्फबाट बाँदरको समूहले घेरा हाली उहाँको खुट्टादेखि तिघ्रासम्म पाँच स्थानमा टोकेको थियो । उहाँ शुक्रराज ट्रपिकल अस्पतालसहित वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार गराएर यसै साता घर फर्कनुभएको हो ।