बुद्धकृष्णले ९ वर्षपछि फेरि छेडे जिब्रो
भक्तपुरः मध्यपुर थिमी नगरपालिका–८ का बुद्धकृष्ण बाग श्रेष्ठले ९ वर्षपछि शनिबार पुनः जिब्रो छेडाउनुभएको छ। भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको छैटौं दिन मध्यपर थिमी नगरपालिका–८ बोडेमा हुने जिब्रो छेड्ने जात्रामा बुद्धकृष्णले शनिबार पुनः जिब्रो छेडाउनुभएको हो।
बुद्धकृष्णले ९ वर्षअघि चार वर्ष लगातार आफ्नो जिब्रो छेडाउनुभएको थियो।प्रत्येक वर्ष विक्रम संवत्को नयाँ वर्षको भोलिपल्ट हुने जिब्रो छेड्ने जात्राको परम्पराअनुसार यस वर्ष बुद्धकृष्णले पाँचौंपटक जिब्रो छेडाउनुभएको हो। तीन दिन अघिदेखि केही नखाएर बसेका बुद्धकृष्णले ऐय्या नै भन्न नपाउँदै कर्मी नाइके कृष्णचन्द्र बाग श्रेष्ठले करिब एक फिट लामो फलामको सुइरोले उहाँको जिब्रो छेड्नुभएको हो। कर्मी नाइके कृष्णचन्द्र बुद्धकृष्णका सहोदर दाजु हुनुहुन्छ। कृष्णचन्द्र आफैले १२ पटक लगातार जिब्रो छेडाउनुभएको थियो।
कृष्णचन्द्रले १२ पटक लगातार जिब्रो छेडाउनुभएपछि भाइ बुद्धकृष्णले पनि रहर गर्नुभएको थियो। भाइको रहर पूरा गर्न कृष्णचन्द्रले १३ औं पटक जिब्रो छेडाउन रहर गर्नुभएन। १२ पटक आफैले जिब्रो छेडाउनुभएकाले कृष्णचन्द्रसँग जिब्रोको कुन भागमा छेड्नुपर्छ भन्ने अनुभव छ। कृष्णचन्द्रले जिब्रो छेड्नु भएको यो नवौंपटक हो। जुजुभाइ बासँ श्रेष्ठले जिब्रो छेडाउन सुरु गरेको वर्ष कृष्णचन्द्र कर्मी नाइकेमा नियुक्त हुनुभएको थियो। जिब्रो छेड्ने जात्रामा कर्मी नाइकले जिब्रो छेड्ने प्रचलन रहँदै आएको छ।
जिब्रो छेड्दा थप पीडा नहोस् भनेर बुद्धकृष्ण साता दिनअघि नै नुन नखाई बस्नुभएको थियो। जिब्रो छेड्न व्रत बस्दा सुत्नुहुँदैन भन्ने प्रचलन छ। व्रत बसेका बेला कुकुर र आइमाईलाई समेत छुनुहुँदैन भन्ने प्रचलन रहेको छ। व्रत बस्दा जिब्रो छेड्दा शक्ति प्राप्त होस् भनी जिब्रो छेड्ने व्यक्तिले बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजा गर्ने चलन रहेको छ।
त्यस्तै जिब्रो छेड्ने दिन स्थानीय जात्रालुहरुले नाय्खीँ बाजासहित तीनपटकसम्म जिब्रो छेड्ने व्यक्तिको घरमा निमन्त्रणा लिएर जानुपर्छ। तेस्रोपटकमा मात्रै उक्त व्यक्ति जिब्रो छेड्दा प्रयोग गरिने परम्परागत पोशाक लगाएर गर्वका साथ जिब्रो छेड्ने ठाउँ पाँचो गणेश मन्दिर पुग्ने गर्छन्।शनिबार परम्परागत पोशाकमा पाँचो गणेश मन्दिर परिसरमा पुगेपछि स्थानीय युवाहरुले बुद्धकृष्णको जयजयकार गरेका थिए।
जिब्रो छेड्नुअघि गर्नुपर्ने सम्पूर्ण विधिविधान सम्पन्न भएपछि पाँचो गणेशको दक्षिण फर्केको पाटीमा बनाइएको मञ्चमा जिब्रो छेड्ने नाइके प्रधान हरिचन्द्र बाग श्रेष्ठ र कर्मी नाइके कृष्णचन्द्र बाग श्रेष्ठ उपस्थित हुनुभएको थियो। नाइके प्रधान र कर्मी नाइके मञ्च उक्लेपछि नायखीं बाजा बजाएर जिब्रो छेड्ने सुइरो बनाउने नकर्मीसमेत करिब एक फिट लामो फलामे सुइरो सर्वसाधारणलाई देखाउँदै मञ्च उक्लिनुभएको थियो। नकर्मीले उक्त सुइरो महिना दिनअघिदेखि तेलमा डुबाएर राखेका हुन्छन्।
जिब्रो छेडिसकेपछि बुद्धकृष्ण अर्ध चन्द्रकारको मसाल जस्तै महादीप बोकेर बोडे क्षेत्र परिक्रमा गर्नुभएको थियो। बोडे सहर परिक्रमापछि स्थानीय महालक्ष्मी मन्दिरमा बुद्धकृष्णको जिब्रो छेडिएको सुइरो झिकिएको थियो। सुइरो झिकिएपछि उहाँको घाउ भएको जिब्रोमा महालक्ष्मी मन्दिरभित्रबाट झिकिएको माटो राखिएको थियो। उक्त माटो राखेपछि जिब्रो छेड्दा लागेको घाउ ३÷४ दिनमै निको हुने जनविश्वास रहँदै आएको छ।