करेण्ट लागेर बालिकाले दुवै हात गुमाएपछि रेडक्रसमा तालावन्दी
संखुवासभाः मापदण्ड बिनै रेडक्रसले भवन निर्माण गर्दा वालिकाको करेण्ट लागेर दुवै हात गुमाउनु परेको भन्दै दोषीलाई कारवाही गर्न माग गर्दै बुधबार वालिकाका आफन्तले जिल्ला रेडक्रस कार्यालय र विद्युत प्राधिकरण खाँदबारीमा तालाबन्दी गरेका छन् ।
३३ किलोभेल्ट विद्युत हाइटेन्सनको मुनी भवन निर्माण गरी असुरक्षित विद्युततार छाडीदा करेण्ट लागेर चैत २० गते खाँदबारी– १ की ११वर्षीया सन्ध्या पन्तले दुवै हात गुमाउनु परेको थियो।
सूर्य आवाशिय माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत विद्यार्थीको दुवै हात गुमे पछि आफन्तले क्षतिपुर्तीको माग गर्दै दोषि उपर करवाही गर्न प्रमुख जिल्ला अधिकारी समक्ष माग गरेका छन्।
दुवै हात गुमाउनु परे पनि रेडक्रस र विद्युत कार्यालयले कुनै चासो नदेखाएको पीडित पक्षको आरोप छ। वालिकालाई भारतका बिभिन्न अस्पतालमा उपचार गर्न लगिए पनि सम्भव नभए पछि हात काट्नु परेको बुवा तिर्थ पन्तले बताउनुभयो।
विद्युत कार्यालयको लापारवाही र रेडक्रसले विना मापदण्ड घर निर्माण गर्नाले छोरीको हात गुमाउनु परेको भन्दै उनले दोषीलाई कारवाही गर्न माग गर्नुभयो । वेवास्ता गरेको भन्दै विद्यार्थी संगठनहरुले विज्ञप्ती जारी गरी क्षतिपुर्ती र उपचार खर्चको माग गरेका छन्।
माग सुनुवाई नभए सम्मका लागि अनिश्चितकालका लागि कार्यालयमा लगाइएको ताला नखोल्ने विद्यार्थी कुमार विश्वकर्माले जानकारी दिनुभयो । सामान्य लापरबाहीले सन्ध्याको भविश्य अन्धकार भयो शिक्षादिक्षा र उपचार खर्चको ब्यावस्था गर्नुपर्ने माग विद्यार्थी र आफन्तले राखेका छन्।
रेडक्रसका सभापति सरोज बज्रचार्यले खाँदबारी नगरपालिकाको मापदण्ड बिनानै घर निर्माण गरी बच्चाले भेट्टे गरी विद्युत तार राख्न सहयोग गरेको भन्दै तत्काल राजीनामा दिन माग गरेका छन्।