राजनीतिमा फेरी नैतिकताको खडेरी

राजनीतिमा फेरी नैतिकताको खडेरी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा नैतिकताको हवला दिँदै पदबाट राजीनामा गरे । उनको राजीनामा नैतिकताको प्रश्नसँग जोडिने हो, होइन भन्ने बहसको विषय बन्यो । सत्तापक्षले खासगरी सत्ताको साँचो लिन आतुर कांग्रेसले यसलाई प्रचण्डले दाबी गरेको नैतिकता मात्र नभएर बरु यो त महा नैतिकता नै पो हो भनेझैं गरी प्रशंसा गर्‍यो । विपक्षी एमालेले भने यसलाई सत्ता छोड्नुपर्दाको रोदनको रूपमा व्याख्या गर्‍यो ।

त्यसो त यसअगाडि पहिलोपटक प्रधानमन्त्रीबाट बाहिरिँदा पनि प्रचण्डले नैतिकतासँग जोडेर राजीनामा दिएका थिए । आफ्नो बहुमत हुँदाहुँदै पनि प्रधानसेनापतिलाई हटाउने सवालमा उनले गरेको प्रयासमा राष्ट्रपति वाधक भएपछि प्रचण्डले राजीनामा गरेका थिए ।

विश्व राजनीतिमा नैतिकताको सवाल जोडेर आफ्नो पदबाट राजीनामा गर्ने कुरा नयाँ होइन । पछिल्लो घटना हेर्ने हो भने निवर्तमान बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले बेलायत युरोपियन युनियनबाट छुट्टिने कि नछुट्टिने भन्ने विषयमा भएको जनमत संग्रहमा छुट्टिने भन्ने पक्षमा ५२ प्रतिशत मत परेपछि क्यामरुनले प्रधानमन्त्री पदबाट राजीनामा गरे । क्यामरुन छुट्टिनु हुन्न भन्ने पक्षमा थिए । आफ्नो एजेन्डा हारेपछि उनले पदबाट राजीनामा दिएका हुन्।

युरोपियन अमेरिकन मुलुकमा जिम्मेवार नेताको एजेन्डा अल्पमतमा परेपछि वा उसले जिम्मेवारी लिएको विषयमा कुनै तलमाथि पर्नासाथ नैतिकतासँग जोडेर राजीनामा दिने प्रचलन छ । तर एसियन मुलुकहरू यस मामिलामा अलि गरिब छन् । कुनै समयमा भारतमा रेल दुर्घटना हुँदा रेलमन्त्री लालबहादुर शास्त्रीले पदबाट दिएको राजीनामा जस्ता केही अपवादका घटना यस क्षेत्रमा पनि नभएका होइनन् ।

त्यसो त नेपालमा पनि यदाकदा यस्तो नैतिकताको नाममा पदबाट राजीनामा विगतमा पनि नगरिएको होइन । पञ्चायती व्यवस्थामै सिंहदरबारमा आगलागी हुँदा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले राजीनामा दिएका थिए । यस्तै दशरथ रंगशालामा खेल चल्दै गर्दा आँधीबेहरी आई दर्शकबीच भागदौड हुँदा केही दर्शकको मृत्यु भएपछि तत्कालीन शिक्षामन्त्री केशरबहादुर विष्टले राजीनामा दिएका थिए । यस्ता केही अपवादबाहेक नेपालमा नैतिकता कुन चरीको नाम हो भनेर बत्ती बालेरै खोज्नुपर्ने अवस्था छ ।

पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा गर्दा राजनीतिमा नैतिकताको घोषणा गरेपछि राजनीतिमा नैतिकता के हो भन्ने बहस सुरु हुनु स्वाभाविकै हो ।

राजनीतिमा नैतिकता भनेको के हो भन्ने पनि आफैंमा विवादित र भ्रमको विषय हो । नेपालका राजनीतिक दलहरूले आफूले गरेको सबै कामलाई नैतिकताको कसीमा र अरूले गरेका कामलाई पूरै अनैतिक रूपमा अथ्र्याउने गरेका छन् । त्यसैले सर्वसाधारण पनि नैतिकताको सवालमा रणभुल्लमा छन् । नेपालको राजनीति सधैं सत्ताको झिनाझम्टीमा अल्झेको छ । सत्ताबाट अर्कालाई पछार्ने र आफू सत्तारोहण गर्ने, विपक्षीमा बस्दा एउटा भाषा बोल्ने र सत्तामा जाँदा अर्कै भाषा बोल्ने, चुनावमा जनताकहाँ गएर विभिन्न आश्वासन बाँड्ने तर चुनाव जितेपछि फर्केर जनताकहाँ नजाने, सत्तारोहण गर्नुअगाडि भ्रष्टाचारविरोधी अभियानको नेतृत्व गर्ने सत्तामा पुगेपछि भने भ्रष्टाचारमा लिप्त हुने र फेरि नैतिकताको दुहाई दिने द्वैध चरित्रले राजनीतिमा नैतिकता संकटमा परेको छ ।

राजनीतिमा इमानदारी, सदाचार, सरल आचरण, स्पष्ट वक्ता, वचनको पक्का जस्ता कुरा नैतिक आचरणसँग जोडिने विषय हुन् भने बेइमानी, भ्रष्टाचार, दुराचार, झूटो बोली, कुटिल भाषाजस्ता कुरा अनैतिकताका सूचक हुन् । यी सूचकका आधारमा नेपालको राजनीतिमा नैतिकताको अभाव छ । नैतिकता आइसल्यान्डको सर्पजत्तिकै भएको छ।

एकछिन पञ्चायतको कुरा छोडौँ, बहुदलीय व्यवस्थापछिकै कुरा गर्दा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीजस्ता केही नेतालाई अपवादको रूपमा लिने हो भने नेपालको राजनीतिमा कुनै पनि नेता नैतिकताको तराजुमा खरो उत्रिन सकेनन् । बीपी र मदन भण्डारीहरू नैतिकताको कसीमा भन्दा पनि प्रखरताको कसीमा बढी चर्चामा देखिए । यस अर्थमा यो देशमा नैतिकताको खँडेरी नै छ भन्दा फरक पर्दैन । यस्तो नैतिकताको खडेरी परेकै अवस्थामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा गर्दा राजनीतिमा नैतिकताको घोषणा गरेपछि राजनीतिमा नैतिकता के हो भन्ने बहस सुरु हुनु स्वाभाविकै हो ।

अब नैतिकतालाई प्रचण्डको राजीनामासँग जोडौं । हो, राजनीतिमा नैतिकता चााहिन्छ । कहिलेकहीं राजीनामा पनि नैतिकतासँग जोडिन्छन्, तर त्यो नैतिकतासँग जोड्न मिल्ने सन्दर्भ हुनुपर्छ । राजनीतिमा नैतिकताको अर्थ निष्ठाको राजनीति हो । त्यो निष्ठा देश र जनताप्रति समर्पित निष्ठा हुनुपर्दछ अनि मात्र त्यसलाई नैतिकताको कसीमा हेर्न सकिन्छ । यहाँ दुई दलबीच जो प्रधानमन्त्री भए पनि देश र जनतालाई कुनै फरक नपर्ने हुँदा त्यो नैतिकताको विषय नै होइन । त्यो दुई पक्षबीच करारीय दायित्व पूरा गरेको विषय मात्र हो । एक दलले अर्को दलसँग गरेको करार अझ भनौं दुई शीर्ष नेताबीच भएको अदृश्य करार जो जनताबीच पूरै लुकाइएको छ, त्यस्तो करारीय दायित्व पूरा गरें भनेर नैतिकताको ढोल पिट्नु कत्ति पनि सुहाउने विषय होइन । द्विपक्षीय सन्दर्भमा यो पनि एउटा इमानदारीसम्म होला, तर यसको देश र जनताको सन्दर्भमा रत्तिभरको साइनो छैन ।

देश र जनतासँग रत्तिभर साइनो नभएको विषयलाई राजनीतिक नैतिकतासँग जोड्नु भनेको नैतिकताको मर्म नबुझ्नु हो । राजनीतिमा बार्गेनिङ गरेर सत्ता हत्याउने र हत्याउन प्रयास गरेर नैतिकता दाबी गर्ने कुरालाई जनताले कहिले पनि पत्याउँदैनन् ।

राजनीतिमा लामो समयदेखि देखा परेको नैतिकहीनताले यो पुस्ता त दलदलमा फसिसकेको छ नै । आउँदो पुस्तासमेत यसैको प्रभावमा पर्दैछ । अनैतिक कुरालाई पनि राजनीतिमा यस्तो त भइहाल्छ नि भन्ने खालका निराशावादी र समर्पणवादी कुरा पछिल्लो पुस्ताहरूबाट पनि सुनिन थालेका छन् । नैतिकता हारेको छ, अराजकताले जताततै जालो फिँजाएको छ ।

राजनीतिमा नैतिकता स्खलन हुनु भनेको देश दलदलमा फस्नु हो । किनभने देशको व्यवस्थापन गर्ने राजनीतिक नेतृत्वले हो । नैतिकता स्खलन भएको नेतृत्वले कसरी देशलाई अग्रगतिमा लैजान्छ ? आज हरेक नेताले आफूले आर्जन गरेका सम्पत्ति बेइमानीबाट हो कि नैतिकताबाट हो ? समाजमा भएको प्रतिष्ठा खँदिलो छ कि वर्षाको च्याउजस्तो भ्रष्टाचारको कारणबाट रातारात उक्सेको छ ? आफ्नो जीवनशैली देशसुहाउँदो छ कि उत्ताउलो छ ? अथवा देशको अवस्थाभन्दा गुजे्रको पो छ भने त्यो पनि छातीमा हात राखेर सोचौं, सोधौं र मनन गरौं ।

नैतिक मान्छे सधैं बलवान् हुन्छ । भनिन्छ, जो मानिससँग लोभ र डर छैन, ऊ मात्र नैतिकताको अदालतमा खरोसँग उत्रिन सक्छ । नैतिक धरातल बलियो भएको मानिस जस्तोसुकै संकटमा पनि डराउँदैन । ऊ सफलता र लोकप्रियताको पछि लाग्दैन । यस्तो नेता को होला नेपालमा ? समसामयिक राजनीतिमा कसैको नाम लिन सकिन्छ ?

नैतिकताको अर्थ दुर्ई पार्टीबीचको लेनादेना होइन । आन्दोलन र हुलको बलमा कसैको माग पूरा गरिदिने काम गरेर इमानदारीको ढोल पिटेर पनि अर्थ छैन । इमानदारी र नैतिकता त देश र जनताको लागि के गरियो भन्ने आधारमा मूल्यांकन हुने विषय हो । नेताले जनतासमक्ष गरेका वाचा पूरा गरे त्यतिबेला नैतिकताको प्रश्नले थोरै भए पनि ठाउँ पाउँछ, अन्यथा आफ्नो स्वार्थअनुरूपको नैतिकताको व्याख्या नेताको आफ्नो दाल डुकुको डम्फूसिवाय अर्को केही हुँदैन ।

राजनीति सबै नीतिहरूको पनि नीति हो । यसका सञ्चालकहरू नै इमान जमान नभएकाहरू भएपछि त्यो देशको लागि सबैभन्दा विडम्बना हुन्छ । राजनीतिमा नैतिकताको मूल्यजतिको महँगो अरू केही हुँदैन । नैतिकहीन राजनीतिका जनकहरूको नै यतिबेला नेपालको राजनीतिमा हालिमुहाली गरिरहेको बेला राजनीतिमा नैतिकता खोज्नु भनेको आइसल्यान्डमा सर्पकै खोजीजत्तिकै हुन्छ । यो मूल्यहीन र नैतिकताविहीन राजनीतिको पूर्णविराम लागेको हेर्न अझै केही समय पर्खनुपर्नेछ ।




प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.