दोस्रो चरणको निर्वाचनको भविष्य
पहिलो चरणको स्थानीय निर्वाचनको केन्द्रविन्दु चितवन हो भन्दा केही बुद्धिजीवीले इन्कार गर्दै राजधानीलाई नै केन्द्रविन्दु मान्ने हठ गरेका थिए । अहिले आएर उनीहरू नै सोधिरहन्छन्, हैन चितवनमा के भयो ? कसले जित्यो कसले हार्यो । अहिले आएर बुद्धिजीवीहरू मात्र होइन, आम मानिसलाई नै चितवनको चुनावले लठ्याइरहेको छ । उनीहरू यसबारे के हुने हो, कसो हुने हो भनेर चिन्तित मात्र बनिरहेका छैनन्, उद्वेलित नै देखिइरहेका छन् । चितवनले दिनपरदिन राष्ट्रिय राजनीतिलाई पनि प्रभावित पारिरहेको छ र त्यसैको पछिल्लो उदाहरण हो, भरतपुर नगरपालिकाको मतपरिणामप्रतिको उत्सुकता !
एक समाजशास्त्रीले भने, धेरैले पत्तो नपाउँदै परम्परागत रूपमा मानिआएका वा सरकारले घोषणा गरेका प्रमुख केन्द्रहरू उपकेन्द्रमा परिणत भइसक्छन् । शक्ति सन्तुलनले तत्काल एउटाले लिइरहेको स्थानलाई उसैले पत्तो नपाउँदै बदलिदिइसकेको हुन्छ । सोह्र वर्षकी किशोरीलाई भन्दा 'शक्ति' लाई चञ्चल मान्दा रहेछन् विद्वान्हरू ! एक प्राध्यापकले मुखै फोरेर भने, देशको करिब-करिब बीच भागमा पर्ने चितवन पछिल्लो समय शैक्षिक, आर्थिक र संरचनागत विकासको दृष्टिमा काठमाडौंभन्दा माथि छ । अहिलेको चितवनको चर्चाले त्यसैलाई पुष्टि गर्छ ।
कांग्रेस, माओवादी र एमालेका नेताहरू त्यसै चितवनमा अन्तिम चुनावी सभा गर्न पुगेका होइनन् । त्यत्तिकै माओवादी र कांग्रेसबीच भरतपुरमा मेयरमा तालमेल भएको होइन । यसका पछाडि धेरै कारण छन् ।चितवनको भरतपुरमा आयोजित अन्तिम चुनावी सभामा पार्टीका शीर्षस्थ नेताहरू प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीले अन्तिम सम्बोधन त्यत्तिकै गरेका होइनन् । । सत्तासीन र प्रमुख प्रतिपक्षी पार्टीका अध्यक्षहरू नै चितवनमा भाषण गर्न पुगेर राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमा आइरहेको ध्रुवीकरणलाई संकेत गरे । तर प्रश्न उठ्छ, किन चितवनलाई नै त्यसको लागि उनीहरूले चुने ?
दोस्रो चरणको निर्वाचन तुलनात्मक रूपमा पहिलो चरणको भन्दा चुनौतीपूर्ण छ । शान्तिपूर्ण, निष्पक्ष, पारदर्शी र धाँधलीरहित निर्वाचनको भविष्य आयोगको यही प्रस्तुतिमा अडेको देखिन्छ ।
वैशाख २८ गते चितवनमा कांग्रेस सभापति देउवाले भनेका थिए, हामी माओवादीसँग दीर्घकालीन सहमति गरेका छौं, जसलाई गिरिजाप्रसाद कोइरालाले सुरु गरेका थिए र मैले निरन्तरता दिएको छु । प्रचण्डसँगको एकता भोलिको सुनौलो भविष्य हेरेर गरिएको हो । एउटै मञ्चबाट प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष प्रचण्डले भनेका थिए, कांग्रेस र माओवादीका मेयर र उपमेयरका उम्मेदवारलाई भरतपुरमा झीनो मतले जित्ने छुट छैन । थोरै मतले जित्नु भनेको जितेको जस्तै हुँदैन ।
त्यसै दिन एमालेले भरतपरमै आयोजना गरेको सभामा एमाले अध्यक्ष ओलीले कांग्रेस-माओवादी गठबन्धनलाई जवाफ दिँदै भनेका थिए, सत्तापक्ष राष्ट्रिय एकता र अखण्डतालाई कमजोर बनाउन विदेशीसामु लम्पसार परेकाले यिनका घुँडाभरि घाउ नै घाउ छ । कांग्रेसले माओवादीलाई नाम्लो लगाएर बोकेको छ, कांग्रेसी हो झोक्राएर नबस !
नेताहरूका उपरोक्त भनाइले नै पुष्टि गर्छ, उनीहरू के भन्नको लागि चितवन पुगेका हुन् ? राजनीतिमा चितवनको महत्व दिनपरदिन बढिरहेको छ । चितवन देशको यस्तो रणनीतिक ठाउँमा अवस्थित छ, चितवनलाई भोलि राजधानी घोषणा गर्यो भने पनि देशरूपी गाडीको इन्जिन बन्द हुनेवाला छैन । एक दिन पनि नरोकिई देश सुचारु हुनेछ । यसैले नेताहरूले अनौपचारिक रूपमा चितवनलाई केन्द्रविन्दुको रूपमा स्विकारेको जानकारी सार्वजनिक रूपमा दिएका हुन् ।
पहिलो चरणको स्थानीय निकायको चुनाव सकियो ।
सर्वत्र निर्वाचन परिणाम सार्वजनिक भइसके पनि चितवनको भरतपुर महानगरको परिणाम भने निस्कन सकेको छैन । जसरी पहिलो चरणको निर्वाचनको अन्तिम भाषणमा चितवनले राष्ट्रकै शीर्षस्थ नेताहरू खोजिरहेको थियो, त्यसैगरी त्यो चुनावको मैजारो मनाउन पनि चितवनले शीर्ष नेताहरू नै खोजिरहेको छ ।निर्वाचन प्रचारको अन्तिम सभा गर्ने थलो चितवनलाई बनाउने कांग्रेस, एमाले र माओवादीका अध्यक्षहरू अन्तिम परिणाम सार्वजनिक गर्ने थलो बनाउन चितवन पुग्लान् ? के उनीहरू साँच्चै चितवनलाई देशकै केन्द्र बनाउन लाग्लान् ?
शेरबहादुर देउवा, पुष्पकमल दाहाल 'प्रचण्ड' र केपी ओली आज चितवन पुग्दैछन् ? उनीहरू पुगे पनि र नपुगे पनि चितवनले आफ्ना समस्या समाधान गर्न शीर्षस्थ नेताहरू खोजी गरिरहेको अनुभूति सर्वत्र भइरहेछ ।
सबैलाई अवगत नै छ, नेपाल गणतन्त्र घोषणा भएको दिन नै भरतपुर महानगरका पिता÷माताको परिणाम आउनेवाला थियो । तर निर्वाचनका अन्तिम बक्साहरूमा जुन रूपमा प्रतिस्पर्धी उम्मेदवारले मत ल्याइरहेका थिए, यसबाट एउटा पक्ष अत्तालियो ।
मत गनिरहेको ठाउँमै प्रवेश गर्दै अकस्मात मतपत्र नै ध्यारध्युर पारेर च्यातियो ।यसपछि अन्तिम चरणमा पुगेको मतगणना स्थगित भयो । मंगलबार दिउँसोसम्म पनि बाँकी मतगणना सुरु हुन सकेको छैन ।मतपत्र च्यातिएको वडामा पुनः मतदान गराउने कि मतगणना जारी राख्नेमा विवाद कायम छ । तर मतपत्र च्यात्ने पक्ष पुनः मतदानको पक्षमा देखिएको छ । यसबाट मतपत्र च्यात्ने षड्यन्त्रका योजनाकारहरूको अभिलाषा छताछुल्ल हुन पुगेको छ ।
यो घटनाले निर्वाचनमा प्रत्यक्ष तथा परोक्ष रूपमा संलग्नहरू सबैको अग्निपरीक्षा पनि गरेको छ । मतदान सम्पन्न भएपछि काम सकियो भन्ठान्ने निर्वाचन आयोग, सरकार, मतदाता, राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय, पर्यवेक्षकहरू सबैको धोती फुस्किएको छ ।निर्वाचनअघि, निर्वाचन हुँदा र निर्वाचन सकिएपछि सुरक्षा निकायको रोहबरमा मतगणना भइरहेको जस्तो संवेदनशील र सुरक्षित ठाउँमा भएको वारदातले हाम्रा जिम्मेवार निकायको कामगराइ कति हलुका र गैरजिम्मेवार रहेछन् भन्ने प्रमाणित भएको छ ।
सर्वसाधारणले चितवन घटनाबारे बुझ्न नसकेको के मात्रै हो भने मतपत्र च्यात्न कसरी सम्भव भयो ? कसरी मतपत्र च्यातियो ?के मतपत्र गन्ने काम पार्टीका मान्छे वा उम्मेदवारका प्रतिनिधिले गर्छन् कि निर्वाचन आयोगका कर्मचारीले गर्छन् ? अनि मतगणना भइरहेको खालसम्मै पार्टी वा उम्मेदवारका गुन्डाहरूको पहुँच कसरी सम्भव भयो ?
सुरक्षा निकायका व्यक्तिहरू मतगणनाजस्तो संवेदनशील समयमा जुवातास खेलेर र मध्यपान गर्दै लापरबाही तालले बसिरहेका हुन्छन् कि सचेत र जिम्मेवार बनेर ? जनताको अहं प्रश्न हो, मतपत्र गन्ने ठाउँजस्तो सुरक्षित स्थानमा अनधिकृत व्यक्ति कसरी पस्यो र मतपत्र च्यात्न भ्यायो ?हुलमुल गरेर, हतियार देखाएर वा अन्य शक्ति प्रयोग गरेर मतपत्र च्यात्ने व्यक्ति अकस्मात मतगणना भइरहेको खालमा पस्न सम्भव हुँदैन । तर भरतपुरमा कसरी पस्यो ?
मतगणनास्थलमा निर्वाचन कानुन, नियम र निर्वाचन व्यवस्थापनको न्यूनतम मूल्यमान्यताको पालनाबिना सम्भव हुँदन तर भरतपुरमा कसरी त्यो सम्भव भयो ? यसबाटै जिम्मेवार निकायको हेलचक्राइँ पुष्टि हुन्छ । होइन, हेलचक्राइँ थिएन भन्ने मान्ने हो भने त्यो हुल्लड कसरी पुग्यो ? उसले त्यो संवेदनशील ठाउँमा प्रवेश कसरी पायो ? जबकि जनतालाई सुसूचित बनाउने पत्रकारहरू परिचयपत्रका साथै निर्वाचन आयोगको विशेष पास हुँदा पनि त्यो स्थानमा पुग्न सक्दैनन् । तर मतपत्र च्यात्ने व्यक्तिले त्यहाँ कसरी प्रवेश पायो ?
हुन त निर्वाचन आयोग वा सरकार वा सुरक्षा निकायले जनताको मुखमा बुझो लगाउन आयोग गठनको नाटक मञ्चन गरिसकेका छन् ।तर पहिलो चरणको स्थानीय निर्वाचनको केन्द्रीय थलो मानिएको भरतपुर महानगरको मतगणनास्थलमा भएको कानुन, नियम र मतगणना नियमको घोर उल्लंघनले साह्रै गम्भीर सन्देश र शिक्षा दिएको छ ।
निर्वाचनको तालुकदार निकाय निर्वाचन आयोगले यसबारे उचित, विश्वासिलो र तथ्यपरक जवाफ दिनु त छँदैछ, त्यसबाहेक सरकार र खास गरेर यसका प्रमुख पुष्पकमल दाहालले गम्भीर भएर निर्वाचन, मतदान, मतगणना र मतदानमा हुने घोटालाहरूको जवाफ दिनुपर्ने बाध्यता सिर्जना भएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई भरतपुर मतगणनाको खलनायकको रूपमा सामाजिक सञ्जाल र सञ्चारमाध्यमले नराम्रोसँग प्रस्तुत पनि गरिरहेका छन् । जसको लागि उनीहरूले एउटै कुरालाई आधार बनाएका छन् र त्यो हो, दोस्रो संविधानसभाको निर्वाचनमा उनको दोस्रो निर्वाचन क्षेत्र सिरहा- ५ (पहिलो निर्वाचन क्षेत्र काठमाडौंको कीर्तिपुरमा उनी ठूलो मतान्तरले हारिसकेका थिए) को मतगणनास्थल बहिष्कार गरेर उनकै आदेशमा उनका प्रतिनिधिहरू धाँधली भयो भन्दै हिँडिसकेका थिए । तर बाँकी रहेका दुई बाकस गन्दा प्रचण्डले चुनाव जितेको घोषणा गरिएको थियो ।
यी र यस्तै गलत÷सही कुरा भुसको आगो झैं भित्रभित्र सल्किरहेको बेला उनकै पुत्रीलाई जिताउन चितवनको चुनावमा षड्यन्त्र गरिएको आरोप लगाउने व्यक्ति कम छैनन् ! यो खालको मान्यता स्पष्ट गराउने अवसर पनि बन्न सक्छ, प्रधानमन्त्री प्रचण्डलाई अहिलेको विवाद !त्यसैगरी निर्वाचन आयोगलाई जसरी सर्वत्र सराहिएको थियो तर चितवनको घटनाले आयोगलाई सर्वत्र आलोचना गरिँदैछ । वास्तविकता के हो स्पष्ट पार्ने अवसर आयोगलाई प्राप्त भएको छ ।
आयोग नेतृत्वले यसबारे कति जिम्मेवार बनेर जवाफ दिनेछ र आयोगको गल्तीलाई सच्याउने वचनबद्धता दोस्रो चरणको निर्वाचनमा भाग लिन उत्सुक बनेर बसेका आम मतदातालाई कसरी दिनेछ, यसैमा आयोगको विश्वसनीयता अडेको देखिन्छ । निर्वाचन भएका र हुन बाँकी ठाउँका मतदाता संवेदनशील बनेर यसैलाई हेरिरहेका छन् । किनभने उनीहरूलाई थाहा छ, दोस्रो चरणको निर्वाचन तुलनात्मक रूपमा पहिलो चरणको भन्दा चुनौतीपूर्ण छ । शान्तिपूर्ण, निष्पक्ष, पारदर्शी र धाँधलीरहित निर्वाचनको भविष्य आयोगको यही प्रस्तुतिमा अडेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस !