बाथरोगबारे अनुसन्धान सुरु

बाथरोगबारे अनुसन्धान सुरु

 

काठमाडौं : बाथरोगको अवस्था, प्रकार र कारण पहिचान गर्न नेपालमा पहिलो पटक अनुसन्धान थालिएको छ । यस रोगको अनुसन्धान गर्ने सरकारी योजना असफल भइरहेका बेला निजीस्तरबाट सञ्चालित संस्थाले अनुसन्धान थालेको हो । काठमाडौंस्थित नेसनल बाथरोग सेन्टरले थालेको अनुसन्धानले देशभर बाथरोगीको संख्या, प्रकार, समूह, सम्भावित कारण पहिचान गर्नेछ । अनुसन्धानमा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगसमेत लिएको सेन्टरका अध्यक्ष एवं बाथरोग विशेषज्ञ डा.बिनित वैद्यले बताउनुभयो ।

नेपालमा हाल कुल जनसंख्याको करिब ३० लाख मानिसमा कुनै न कुनै प्रकारको बाथरोग भएको अनुमान गरिएको छ । तर, तीमध्ये जम्मा १५ प्रतिशत मात्रै बिरामी उपचारको पहुँचमा पुग्ने गर्छन् । ठूलो संख्यामा रहेका बाथरोगका बिरामी उपचारको पहुँचमा पुग्न नसकेकाले त्यसमा पनि अनुसन्धान आवश्यक देखिएको डा. वैद्यले बताउनुभयो।

बाथरोगीको उपचार र विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको सेन्टरले राष्ट्रियस्तरमै बाथरोगबारे अनुसन्धान थालेको हो । नेपालमा बाथरोगको जटिलता बढ्दै गए पनि दक्ष जनशक्तिको कमी, सरकारको प्राथमिकतामा नपर्दा र रोगसम्बन्धी जनचेतना नहुँदा बाथरोग जटिल बन्ने गरेको छ । सेन्टरले दुई जना अनुसन्धानकर्ता नियुक्त गरी अन्य चिकित्सक र स्वास्थ्यकर्मीको सहयोगमा अनुसन्धान अघि बढाएको हो ।

'बाथरोगसम्बन्धी अनुसन्धान गर्न हामीसँग आबद्ध अनुसन्धानकर्तालाई सबै जिल्लामा पठाउनेछौं । हिमाल, पहाड र तराई सबै जिल्लामा अनुसन्धान गरिनेछ । यसबाट देशभरि बाथरोगको स्थिति प्रस्ट हुनेछ', डा. वैद्यले भन्नुभयो ।

सेन्टरले संकलन गरेको तथ्यांकअनुसार बाथरोगीमध्ये ७० प्रतिशतले औषधि सेवन गर्दागर्दै बीचमै छाड्ने गरेका छन् । बाथरोग अनेकौं किसिमका हुने भएकाले यसको प्रकार थाहा पाउन रगत परीक्षण गर्नुपर्छ । नेपालमा युरिक एसिडबाट हुने, हाडजोर्नी सुन्निने, दुख्ने, हाड खिइने र मेरुदण्डको हाड दुख्ने बाथरोग बढी देखिने गरेको चिकित्सकको अनुभव छ । नेपाली बालबालिकालाई पनि अत्यधिक मात्रामा बाथरोगबाट ग्रसित भएको पाइन्छ । सरकारले यस्ता जटिल रोगको उपचार गर्न स्वास्थ्यकर्मीलाई तालिम र शिक्षाको व्यवस्था गर्नुपर्ने डा. वैद्यको भनाइ छ । नेपालमा बाथरोग विशेषज्ञ न्यून छन् ।

के हो बाथरोग

बाथ एक प्रकारको शारीरिक अपांग बनाउने दीर्घरोग हो । समयमै उपचार नभएमा यो रोगले ज्यान पनि लिन सक्छ । शरीरभित्रै देखिने बाथरोगले जोर्नी दुख्ने र मांसपेशीका कारण हुने बाथरोगले आँखा, छाला, मुटु र मिर्गैाला लगायत संवेदनशील अंगमा गम्भीर असर पार्छ । बाथ जुनसुकै उमेरका मानिसलाई पनि हुन सक्ने भएकाले सचेत हुनुपर्ने चिकित्सकको भनाइ छ । गर्भवतीलाई बाथ भए गर्भ खेर जान सक्छ । हाडजोर्नी दुख्ने, सुन्निने, कक्रक्क पर्ने, घुँडा, कुहिनो दुख्ने, ज्वरो आउने, मेरुदण्डको हाड सुन्निनेलगायत लक्षण यो रोगमा देखिने गर्छन् ।

सेन्टरको चौथो वार्षिकोत्सव

सेन्टरले सोमबार आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ । स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले वार्षिकोत्सव उद्घाटन गर्दै सेन्टरले थालेको अनुसन्धानले सार्थक हुनुपर्ने बताउनुभयो । सेन्टरले डा. वैद्यलाई विशेष सम्मान र चार उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । सेन्टरले वार्षिकोत्सवका अवसरमा एक साता निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरेको छ ।

काठमाडौं र बाहिरका सेन्टरले बहिरंग र निःशुल्क स्वास्थ्य शिविरमा गरी चार वर्षमा करिब ७५ हजार बिरामीको उपचार गरेको सेन्टरका प्रबन्ध-निर्देशक रोशन कक्षपतिले बताउनुभयो । केन्द्रीय कार्यालय काठमाडौंमा रहेको सेन्टरका पोखरा, भक्तपुर र ललितपुरमा पनि शाखा छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.