चुनावी गीत गाउन भ्याइनभ्याइ
दमक : चुनावको रौनक बढेसँगै झापा दमक-५ का लोकगायक लक्ष्मीप्रसाद खनालको व्यस्तता बढेको छ । अरू बेला खाली बस्ने खनाल विभिन्न राजनीतिक दलका चुनावी गीत बनाउन र गाउन व्यस्त भएका छन् । ‘अरू बेला त्यति वास्ता नगरिने लोक गीतको माग अहिले बढेको छ । निर्वाचनले होला, सबैले लोकभाकामा चुनावी गीत बनाउन थालेका छन् । केही समय भयो, गीत बनाउन व्यस्त छु', खनालले भने । चुनावको चहलपहल सुरु भएयता उनले दुई दर्जनजति चुनावी गीत गाइसकेका छन् ।
पार्टीको आर्थिक अवस्था हेरेर उनले एउटा गीतका पाँच हजारदेखि २० हजारसम्म लिने गरेको बताए । ‘हामी केही साथी मिलेर एउटा स्टुडियो खोलेका छौं, त्यहीँ रेकर्ड गर्छौं । चुनाव लागेसँगै रेकर्डिङ स्टुडियोबाट राम्रै आम्दानी भइरहेको छ', उनले भने । विभिन्न दलका उम्मेदवारबीच यति बेला चुनावी गीत बनाउने होडबाजी चलेको छ । राजनीतिशास्त्रमा एमएसम्म पढे पनि उनी कुनै राजनीतिक दलमा आबद्ध छैनन् ।
स्थानीय तहको चुनावपछि देशमा विकासले फड्को मार्नेमा खनाल आशावादी छन् । अरू बेला जेजस्तो गीत सुने पनि चुनावका बेला भने लोकगीतले निकै राम्रो स्थान पाउने गरेको उनको ठम्याइ छ । ‘अहिले युवापुस्ता लोकभाकातिर आकर्षित हुन थालेका छन् । गाउँमा रहेका ठेट लोकभाकालाई टप्पकै टिपेर केही ट्विस्ट गर्ने चलन बढेको छ', खनालले भने । खनाल लोक गायनमा लामो समयदेखि क्रियाशील छन् । पूर्वेली लोक भाकाको संरक्षणका लागि निरन्तर क्रियाशील रहे पनि खनाल भने ओझेलमा पर्दै आएका व्यक्ति हुन् । उनले हालसम्म पाँच दर्जनजति लोक गीत संकलन तथा लेखन गरिसकेका छन् ।