मोफसलमा सौन्दर्य लहर
केही वर्षअघिसम्म सौन्दर्य प्रतियोगिताको औचित्य नदेख्नेहरूको झुन्ड ठूलै थियो । तर अहिले यस्ता प्रतियोगितालाई राम्रै मान्न थालिएको छ, राजधानीमात्रै होइन मोफसलमा पनि । सौन्दर्य प्रतियोगिताको प्रभाव र लहर सहरमा मात्र होइन गाउँमा समेत देखिन थालेको छ । युवापुस्तामात्र होइन उनीहरूका अभिभावकको समेत आकर्षण बढ्न थालेको छ ।
पछिल्लो समय झापामा धमाधम यस्ता प्रतियोगिता आयोजना हुन थालेका छन् । मिस मेची, मिस झापा, मिस दमक, मिस टिन दमक, मिस टिन पूर्वाञ्चल, मिस एसईई झापा, मिस प्लस टु पूर्वाञ्चल, मिस पूर्व आइकन, मिस नेवाः पूर्वाञ्चल, मिस विश्वकर्मा, मिस ग्रान्ड झापा, मिस प्रिन्सेस नेपा, मिसेस तीज क्विनलगायत विभिन्न शीर्षकमा प्रतियोगिता हुँदै आएको छ ।
झापामा शंकर आर्ट फाउन्डेसन, एड लिंक एडभरटाइजिङ, बिर्ता मिडिया एन्ड इन्टरटेन्मेन्ट प्रालि, ड्रिम्स वल्र्ड इन्टरटेन्मेन्ट प्रालिलगायत विभिन्न संस्थाले प्रतियोगिता आयोजना गर्दै आएका छन् । ६ वटा प्रतियोगिता सम्पन्न गरिसकेको शंकर आर्ट फाउन्डेसनका शंकर विश्वकर्मा विशेषगरी झापामा यस्ता प्रतियोगिता धेरै आयोजना हुनुलाई व्यावसायिक तथा सामाजिक विकासका रूपमा लिन्छन् । त्यस्तै ड्रिम्स वल्र्ड इन्टरटेन्मेन्ट प्रालिका प्रमुख प्रनित पुडासैनी मोफसलमा पनि यस्ता प्रतियोगिता बढ्नुलाई सकारात्मक रूपमा लिन्छन् । 'सौन्दर्य प्रतियोगिता समयको माग र प्रतिभा प्रस्फुटन गर्ने थलोका रूपमा विकास हँदै गएको छ', पुडासैनीले भने, 'झापामा पनि यस्ता प्रतियोगिताहरू धेरे हुन थालेको छ यो खुसीको कुरा हो ।'
झापाका कतिपय आयोजकले बिनाअनुमति संस्था समेत दर्ता नगरी कार्यक्रम आयोजना गर्दै आएका छन् । 'यो प्रवृत्ति चाहिँ राम्रो होइन । यसले नराम्रो सन्देश जान्छ । त्यस्तो आयोजकहरू सच्चिन आवश्यक छ', पुडासैनीले भने । वर्ष २०१७ भित्रै पनि झापामा विभिन्न प्रतियोगिता सम्पन्न भइसकेका छन् भने केही हुने तयारीमा छन् । मिस टिन पूर्वाञ्चल-२०१७ केही दिनपछि झापाको बिर्तामोडमा हुँदैछ भने मिस टिन उर्लाबारीको अडिसन हुँदैछ।
नसोचेको उपलब्धी
-नुमा नेम्बाङ, मिस टिन दमक
मिस टिन दमककी उपाधि विजेता नुमा नेम्बाङलाई शीर्ष उपाधि जित्छु जस्तो लागेको थिएन । उनलाई फस्ट रनरअपसम्म जित्छु कि भन्ने आशा थियो । जब फस्ट रनरअपको नाम घोषणा भयो, त्यसपछि चाहिँ आफूले उपाधि जित्नेमा ढुक्क भएको उनले सुनाइन् । आफ्नो नाम घोषणा भएसँगै खुसीले सीमा तोडेको उनको भनाइ छ । नुमाले १८ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस टिन दमकको उपाधि जितेकी हुन् । दमक-१३ मा बस्दै आएकी १४ वर्षीया नेम्बाङ ग्लोबल एजुकेसन एकेडेमीमा कक्षा ८ मा अध्ययन छिन् । भविष्यका बारेमा केही तय नभए पनि झुकाव भने चिकित्सा पेसामा रहेको उनले बताइन् ।
प्रतियोगितामा भाग लिनुअघि लजाउने र आफ्ना कुराहरू स्पष्ट रूपमा राख्न नसक्ने नुमा प्रतियोगितापछि आफूमा आमूल परिवर्तन आएको बताउँछिन् । उपाधि जितेपछि उनमा एउटा भावनाको विकास भएको छ, जसरी भए पनि जुन क्षेत्रबाट भए पनि अघि बढ्नु पर्छ । कडा मेहनतबाटै मिस टिन दमकको उपाधि जितेको उनको बुझाइ छ । सौन्दर्य प्रतियोगिताका बारेमा पहिला र अहिले समाजको बुझाइमा फरक भइसकेको उनको भनाइ छ । यस्ता प्रतियोगितामा सहभागी हुन परिवारको सहयोग सबैभन्दा महत्वपूर्ण ठान्छिन् उनी ।
आफूलाई लक्की ठान्छु
-तुलसा आङदेम्बे, मिसेस तीज क्विन
दमकनिवासी २६ वर्षीया तुलसा आङ्देम्बेका कतिपय साथीले प्रतियोगितामा भाग लिनै पाएनन् । कारण थियो, विवाह । अविवाहितलाई जति घरबाट सहयोग हुन्छ, विवाहितका लागि गाह्रै विषय भएको उनको बुझाइ छ । तुलसा भने श्रीमान् र घरपरिवारको साथ र सहयोग भएकाले आफूलाई भाग्यमानी ठान्छिन् । 'म साह्रै लक्की छु । यस क्षेत्रमा मलाई घरपरिवार र आफन्त सबैले खुलेरै सहयोग गर्नुभएको छ', उनले भनिन् ।
धेरैजसोले विवाहपछि करिअर अन्त्य हुने बताए पनि आफ्नो भने करिअरको सुरुआत भएको र सबैको माया र सहयोग मिलेको उनको भनाइ छ । यस्ता प्रतियोगिताले नारीभित्र लुकेको प्रतिभा उजागर गर्ने तुलसाले दाबी गरिन् । 'उपाधि जितिसकेपछि मलाई थप जिम्मेवार महसुस भएको छ', तुलसाले भनिन् । अब सामाजिक काम गरेर समाजमा सकारात्मक सन्देश दिने उनको योजना छ ।
क्षमता पनि खोजिन्छ
-दीपिका बानियाँ, मिस एसईई झापा
मिस एसईई झापाकी विजेता धुलाबारी निवासी १६ वर्षीया दीपिका बानियाँ यस्ता प्रतियोगितालाई नयाँ अवसरका रूपमा लिन्छिन् । अवसरलाई सदुपयोग गर्दै आफ्नो क्षमता बढाउन सौन्दर्य प्रतियोगिता प्रभावकारी बन्दै गएको उनको भनाइ छ । यस्ता प्रतियोगिताले सुन्दरतालाई मात्र उजागर गर्ने नभई क्षमताको समेत खोजी गर्ने दीपिका बताउँछिन् । आफूले मिस एसईई झापाको ताज जितेपछि आत्मविश्वास बढेको अनुभव गरेकी छन् ।
प्रतियोगितामा मेहनत गरे पनि आफूले शीर्ष उपाधि जित्नेमा विश्वस्त थिइनन् । उपाधि विजेताका रूपमा नाम आएपछि उनको पनि खुसीको सीमा फुटेको थियो । दीपिकाको नर्सिङ पढ्ने लक्ष्य रहे पनि अफर आएमा मोडलिङ क्षेत्रमा समेत जाने योजना बनाएकी छन् । 'राम्रो प्रोजेक्टबाट अफर आयो भने मोडलिङ क्षेत्रमा समेत जाने मेरो इच्छा छ । त्यहाँबाट करिअर बनाउन सकिन्छ', उनले भनिन् । अध्ययन र समाजसेवालाई सँगै अगाडि बढाउन सकिने उनको बुझाइ छ ।
धेरै कुरा सिकिन्छ
-जोयना लिम्बू, मिस दमक
मिस दमक विजेता जोयना लिम्बू राम्रो काम गरेर समाजमा उदाहरणीय बन्ने सोचमा छिन् । भर्खरै ११ को परीक्षा सकेर बसेकी उनको लक्ष्य वकिल बनेर वकालत गर्नु हो । दमक-११ की १७ वर्षीया जोयना जुनसुकै माध्यमबाट भए पनि समाजमा आफूलाई चिनाउन चाहन्छिन् । सौन्दर्य प्रतियोगिताले नारीमा भएको व्यक्तित्व विकास गर्ने र पब्लिक रिलेसन कसरी बढाउने कुरा सिकाउने जोयनाको बुझाइ छ ।
आफूले प्रतियोगितामा भाग लिँदा त्यहाँ आउने विभिन्न पेसाका व्यक्तिबाट धेरै विषयमा बुझ्ने मौका पाएको उनले बताइन् । २० जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस दमकको उपाधि जोयनाले जितेकी हुन् । फस्ट रनरअप एजिना सिटौला र सेकेन्ड रनरअपको उपाधि भने दीपा कटवालले जितेकी थिइन् । यस्ता प्रतियोगिता पैसा कमाउनमात्र नभएको उनको बुझाइ छ ।