‘मह'जोडीले सार्वजनिक गरे मोबाइल एप्प
काठमाडौं : नेपाल रेडक्रस सोसाइटीद्वारा तयार पारिएको प्राथमिक उपचार मोबाइल एप्लिकेसनको चर्चित हास्य कलाकार एवं समाजसेवी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको प्रमुख आतिथ्यमा सार्वजनिक गरिएको छ ।
‘घरघरमा प्राथमिक उपचार' भन्ने महाअभियानलाई साकार पार्न विश्वभर रहेका नेपालीभाषीको घरघरमा पुर्याउने उद्देश्यले अमेरिकन रेडक्रसको सहकार्यमा नेपाली भाषामा एप्लिकेसन तयार गरिएको हो ।
फेसबुक पेजमार्फत एप्लिकेसन सेयर गरेर शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले भने, ‘समयअनुसार प्रविधिको माध्यमबाट प्राथमिक उपचारका विषयमा जानकारी प्रस्तुत गरेर मानवीय क्षति कम गराउन गरेको कार्य प्रशंसनीय छ ।'
अर्का प्रमुख अतिथि हरिवंश आचार्यले मानवीय सेवा क्षेत्रमा रेडक्रसले उदाहरणीय कार्य गरिरहेको बताए । प्राथमिक उपचार जस्तो विषयलाई मोबाइलमार्फत सबैसम्म पुर्याउनाले विपद्मा परेका मानिसले धेरै छटपटाउनु नपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा रेडक्रसका विभिन्न देशका प्रतिनिधि, नेपाल रेडक्रसका केन्द्रीय पदाधिकारी तथा सदस्य, नेपाल रेडक्रसका कर्मचारी, पत्रकारलगायतको उपस्थिति थियो ।