चन्द्रागिरि हिल्स र यती एयरलाइन्सबीच सम्झौता
काठमाडौं : चन्द्रागिरि हिल्स लिमिटेड र यती एयरलाइन्स डोमेस्टिकबीच सेवाग्राहीलाई छुट लिने÷दिने विषयमा सम्झौता भएको छ । सम्झौता अनुसार यती एयरलाइन्समार्फत हवाईयात्रा गर्ने यात्रुले हवाई यात्राको बोर्डिङ पासका आधारमा चन्द्रागिरि केबलकारको टिकटमा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
चन्द्रागिरि केबलकारको टिकटका आधारमा यती एयरलाइन्सको टिकटमा ११ देखि २० प्रतिशतसम्म छुट पाउने व्यवस्था मिलाइएको छ । सम्झौतापत्रमा चन्द्रागिरि हिल्स लिमिटेडको तर्फबाट महाप्रबन्धक अभिषेकविक्रम शाह र यती एयरलाइन्स डोमेस्टिकको तर्फबाट प्रविना केसीले हस्ताक्षर गर्नुभएको छ । यो छुट योजना २०७४ साउन १ गतेदेखि २०७५ असार मसान्तसम्म लागू हुनेछ।
चन्द्रागिरि हिल्स लिमिटेडले ल्याउने सेवाग्राहीमुखी प्रवद्र्धनात्मक कार्यक्रम र यती एयरलाइन्सले ल्याउने दसैंतिहारको टिकट शुल्कमा यो योजना सामेल नहुने कम्पनीले जनाएको छ । ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यु टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायत पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रूपमा विकास गरेको छ ।