एनआईबीएल क्यापिटलको पाँचौं वार्षिकोत्सव
काठमाडौं: एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडले आफ्नो स्थापनाको पाँचौं वर्ष पूरा गरेको छ। नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा ०६९ सालमा स्थापना भएको यस संस्थाले मर्चेन्ट बैकिङ तथा सामूहिक लगानीकोषअन्तर्गत कोष व्यवस्थापन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ।
यस कम्पनीले निक्षेप सदस्यको रूपमा काम गर्न नेपाल धितोपत्र बोर्ड तथा सिडिएस एन्ड क्लियरिङ लिमिटेडबाट समेत स्वीकृति प्राप्त गरिसकेको छ। यस संस्थाले बैंक, बिमा, होटललगायत ट्रेडिङ कम्पनी गरी जम्मा ३० वटा संस्थाका करिब पाँच लाख ७२ हजार तीन सय सेयरधनीलाई सेयर रजिस्ट्रारसम्बन्धी सेवा पुर्याउँदै आएको छ भने सामूहिक लगानीकोषअन्तर्गत एनआईबीएल समृद्धि फन्ड-१ र एनआईबीएल प्रगति फन्ड गरी जम्मा २ वटा बन्दमुखी योजना सञ्चालन गर्दै आइरहेको छ ।
साथै, भविष्यमा सामूहिक लगानीकोषअन्तर्गत खुलामुखी योजना सञ्चालन गर्ने, आफूले प्रदान गर्दै आइरहेका सेवा देशको विभिन्न जिल्लाबाट उपलब्ध गराउन आफ्नो शाखा कार्यालय विस्तार गर्ने जस्तो योजना रहेको संस्थाले जनाएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम, लगानी व्यवस्थापनसम्बन्धी सचेतनात्मक कार्यक्रमका साथै अनाथ बालबालिकाका लागि आर्थिक सहयोग गरेको छ ।