अस्पतालमा फार्मेसीबाट करोड आम्दानी

अस्पतालमा फार्मेसीबाट करोड आम्दानी

 भरतपुर : आफ्नै फार्मेसी सञ्चालनबाट भरतपुर अस्पतालले करोड आम्दानी गरेको छ । सस्तोमै औषधि बिक्री गरे पनि भरतपुर अस्पतालले फार्मेसीबाटै यति धेरै रकम आम्दानी गरेको हो ।फार्मेसी सञ्चालनबाट अस्पतालले नौ महिनामा एक करोड ६ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको छ । चितवनको एक मात्र सरकारी भरतपुर अस्पतालले गतवर्षदेखि आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको हो ।

यसअघि अस्पतालले निजी फार्मेसीलाई मासिक १७ लाख रुपैयाँमा सटर भाडामा दिएको थियो । अस्पतालले नै फार्मेसी सञ्चालन गरेपछि मासिक २० लाख रुपैयाँ आम्दानी गर्न थालेको छ । साउनमा २० लाख रुपैयाँ आम्दानी भएको फार्मेसीका स्टोर प्रमुख राजकुमार ढुंगानाले उल्लेख गरे । ‘हामीलाई नाफा चाहिएको होइन, अन्यत्रभन्दा धेरै सस्तोमा औषधि बिक्री गरेका छौं', उनले भने, ‘अस्पतालले सेवामूलक काम गर्दा पनि आम्दानी बढेको छ ।' अस्पतालले गतवर्षको कात्तिक महिनाबाट आफै फार्मेसी सञ्चालन गरेको थियो । पहिलो महिनामै साढे तीन लाख रुपैयाँ आम्दानी भएको थियो ।

त्यसका लागि सरकारले १५ लाख रुपैयाँ दिएको थियो । सरकारबाट आएको रकम चलाउन नपाइने भएपछि उधारोमा औषधि किनेर फार्मेसी चलाइएको थियो । सस्तोमा औषधि बिक्री गर्दा पनि अहिले मासिक तीन लाख रुपैयाँ बढी आम्दानी भएको छ । सार्वजनिक खरिद ऐनअनुसार औषधि खरिद गरिएको छ । टेन्डरबाट औषधि खरिद गर्दा कतिपय उच्च गुणस्तरका औषधि तथा सामग्री किन्न नसकेको अस्पतालले जनाएको छ । अस्पतालको फार्मेसीमा औषधि किन्नेको भीड लाग्ने गरेको छ । अहिले फार्मेर्सीको काउन्टर थप्ने तयारी गरिएको छ ।

यसअघि बजेट अभावको कारण फरकफरक कम्पनीको औषधि राख्न समस्या थियो । आम्दानी बढेपछि चिकित्सकको सिफारिस गरेका कम्पनीको औषधि पनि राख्न थालिएको छ । ‘बजेट नहुँदा सुरुमा जटिल प्रक्रिया लाग्यो, औषधि बेचेर तिर्ने भनी उधारोमा औषधि किनेर चलायौं', अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले भने, ‘सरकारी नीति र जनताको सुविधाका लागि आफैंले फार्मेसी चलाएका हौं ।'

स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि यसलाई सहज गराउन खोजिएको हो । सरकारी स्वास्थ्य बिमा गराउनेको उपचार भरतपुर अस्पतालमा हुनेछ । उनीहरूको सुविधाका लागि पनि सस्तोमा गुणस्तरीय औषधिको सुविधा हुने अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले बताए । ‘जनताको अस्पताल भएपछि जनतालाई सुविधा हुनुपर्छ भनेर लागेका हौं', राजभण्डारीले भने, ‘अस्पतालको हरेक सेवा विरामीमैत्री बनाएका छौ ।' फार्मेसी सञ्चालन गरेपछि १३ जनाले प्रत्यक्ष रोजगार पाएका छन् ।

अस्पतालले सेवा विशिष्टीकरण गर्दै गएको छ । पछिल्लोपटक नेपालकै ठूलो सिटी मेसिन ल्याएको छ । अस्पतालमा न्युरो सर्जरीको सेवा सुरु गरेको छ । अस्पतालबाट हुने खर्च कटौतीका लागि अस्पतालले लुगा धुने मेसिन, अक्सिजन प्लान्ट, फोहोर व्यवस्थापनलगायत काम गर्न थालेको छ ।

इन्फो
गत वर्षको कात्तिकदेखि सञ्चालन भएको फार्मेसीबाट पहिलो महिनामै साढे तीन लाख रुपैयाँ आम्दानी भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.