दसैंलाई ३९ हजार खसीबोका र च्याङ्ग्रा
काठमाडौं : यस वर्षको दसैंमा सरकारी र निजीक्षेत्रले ३९ हजार खसीबोका एवं च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेका छन्। निजीक्षेत्रले ३५ हजार खसीबोका र एक हजार पाँच सय च्याङ्ग्रा खरिद गर्न लागेको छ। नेपाल खाद्य संस्थानले भने एक हजार पाँच सय खसीबोका र एक हजार च्याङ्ग्रा बिक्री गर्ने योजना तयार पारेको छ।
अन्य वर्षको तुलनामा यो वर्ष दसैंमा ६ हजार कम परिमाणमा खसीबोका बजारमा भित्र्याइँदै छ। भारत एवं नेपालका अधिकांश क्षेत्रमा बाढी आएको र बाटोसमेत भत्किएकाले थोरै परिमाणमा खसीबोका संकलन हुने भएको छ। दसैंमा भारतीय र स्वदेशी गरी करिब ५६ करोड रुपैयाँबराबरको करिब ४५ हजार गोटा खसीबोकाको कारोबार हुन्छ।
संस्थानले यो वर्ष हेटाैँडा र तुलसीपुरबाट मात्रै स्थानीय जातका खसीबोका खरिद गर्न लागेको खाद्य संस्थानका प्रवक्ता शंकर सापकोटाले जानकारी दिए। हेटौंडा र तुलसीपुरस्थित संस्थानको कार्यालयमार्फत एक हजार पाँच सय खसीबोका खरिद गर्ने प्रक्रिया सुरु भएको छ। यस्तै मुस्ताङबाट एक हजार गोटा च्याङ्ग्रा पनि खरिद योजना अघि बढाइएको छ।
‘बाढी र असोजमा हुने भनिएको स्थानीय तहको निर्वाचनका कारण यसपटक तराईका जिल्लामा खसीबोका खरिद नगर्ने निर्णय गरेका छौं', सापकोटाले भने। यो वर्ष लाहान, नेपालगन्ज र सुर्खेतमा खसीबोका खरिद नगर्ने संस्थानले जनाएको छ। संस्थान र निजीक्षेत्रले भित्र्याउने खसीबोका र च्याङ्ग्राको मूल्य निर्धारण गरी घटस्थापनाको एक दिनअघिबाट बिक्री गर्न गरिनेछ।
चौपाया खरिदबिक्री सेवा संघका अनुसार यो वर्ष निजीक्षेत्रले भारतकोे लखनऊ, बहराइच, काल्पी, जसविरनगर, कानपुर र हरियाणालगायत स्थानबाट लाम्काने र जमुनापारी जातका ३० हजार खसीबोका भित्र्याउन लागेको छ। यस्तै आन्तरिक सल्यान, कोहलपुर, कटारी, सुर्खेत, नुवाकोट, सिन्धुपाल्चोकबाट पाँच हजारको संख्यामा खरी (पहाडी) जातको खसीबोका भित्र्याउँदै छ। निजीक्षेत्रले मुस्ताङबाट एक हजार पाँच सय सयको संख्यामा च्याङ्ग्रा पनि खरिद गरी बजारमा ल्याउँदै छ।
‘हामीले तीज सकेपछि खसीबोका राजधानीमा ल्याउँछौं, खसीबोका खरिद गर्न आन्तरिक र बाह्य बजारमा व्यवसायी परिचालन गरिसकेका छौं', संघका अध्यक्ष दीपक थापाले भने, ‘स्वादिलो स्वदेशी खसीबोका भए पनि बाढीका कारण आन्तरिक सडक भत्किएकाले ढुवानी समस्याका कारण कुल खपतको ९० प्रतिशत भारतबाटै आयात गर्नुपर्ने बाध्यता छ।'
संघका अनुसार अहिले भारतबाट पाँच दिन लगाएर राजधानीमा खसीबोका भित्र्याउनुपरेको छ। भारतमा पाँच सय प्रतिकिलोमा खरिद गरी राजधानीमा उक्त खसी प्रतिकिलो पाँच सय १० रुपैयाँमा संघले स्थानीय बिक्रेतालाई बेच्दै आएको छ। ‘तर दसैंमा यही मूल्यमा खसीबोका उपलब्ध नहुन सक्छ', थापाले भने, ‘हामीले ल्याउने भारतीय क्षेत्रमा पनि बाढीले क्षति गरेको छ। उताको बाटो पनि भत्केको छ। लागत र ढुवानी खर्च बढेकाले यो वर्ष खसीबोकाको मूल्य केही महँगो हुन सक्छ।'
स्वदेशमा उत्पादित खसीबोका प्रतिकिलो चार सय ६० देखि चार सय ७० रुपैयाँमा खरिद गरी चार सय ७० देखि चार सय ८० रुपैयाँ प्रतिकिलोका दरले संस्थानले अर्को बिक्रेतालाई बिक्री गर्छ। सामान्य दिनमा उपत्यकामा दैनिक आठ सयदेखि एक हजार गोटासम्म खसीबोका भित्रिने गरेको छ। तर दसैंमा दैनिक तीन हजारको संख्यामा खसीबोका खपत हुन्छन्।
भारत एवं नेपालका अधिकांश क्षेत्रमा बाढी आएको र बाटोसमेत भत्किएकाले यस वर्ष ण्थोरै परिमाणमा खसीबोका संकलन हुने भएको छ।
पशुसेवा विभागका अनुसार सप्तमीदेखि प्रतिव्यक्तिको उपभोगदर दैनिक २८ ग्रामबाट बढेर औसत दुई सय १२ ग्राम पुग्ने गर्छ। नेपालमा हाल प्रतिव्यक्ति प्रतिवर्ष १२.२० किलो मासु खपत हुन्छ। सरकारले नयाँ मापदण्ड बनाउँदा प्रतिव्यक्ति खपत १४ किलो प्रतिवर्ष पुर्याउने लक्ष्य राखेको छ। विश्व स्वास्थ्य संगठनले मानव स्वास्थ्यका लागि प्रतिव्यक्ति ३७.९ किलो मासु प्रतिवर्ष खपत गर्नुपर्ने मापदण्ड निर्धारण गरेको छ।
वार्षिक १५ अर्बको कारोबार
चौपाया खरिदबिक्री सेवा संघका अनुसार उपत्यकामा खसीबोकाको वार्षिक कारोबार १५ अर्ब रुपैयाँबराबरको हुने गरेको छ। यसमध्ये १० अर्बको भारतबाट आयातित र पाँच अर्बको स्वदेशी खसीबोकाको कारोबार हुन्छ। नेपालमा पनि पर्याप्त परिमाणमा उत्पादन खसीबोका उत्पादन भए पनि बाटो र ढुवानी समस्याका कारण बजारमा ल्याउन नसकिएको संघका अध्यक्ष थापाले जानकारी दिए।
दसैंमा मात्रै ५० करोड रुपैयाँबराबरको भारतबाट आयात गरिएको खसीबोका र चार करोड रुपैयाँबराबरको स्वदेशी खसीबोकाको खरिदबिक्री हुन्छ। ‘सामान्य दिनभन्दा दसैंमा मासुको बिक्री भन्डै १० गुणाले बढीले हुन्छ', थापाले भने। यो अवधिमा उपत्यकामा मात्रै १२ लाख किलो खसीबोकाको मासु खपत हुन्छ।
पशुसेवा विभागका महानिर्देशक डा. विमल निर्मलका अनुसार स्वदेशमा वार्षिक रूपमा एक करोड २० लाख गोटा खरी (पहाडी), जमुनापारी र बोयर जातको खसीबोका उत्पादन हुन्छ। यसमध्ये ४० लाख गोटा दसैं र ५० लाख गोटा बर्षभरी खपत हुन्छ। ‘स्वदेशमा उत्पादन हुने खसीबोकामध्ये अधिकांश हिस्सा स्थानीयस्तरमै खपत हुन्छ,' महानिर्देशक निर्मलले भने, ‘उपत्यकामा निकै कम परिमाणमा खपत हुन्छ।'