‘अब कसरी चलाउने जीवन'

‘अब कसरी चलाउने जीवन'

 बर्दिबास : धान रोप्ने समयमा असारे पानी परेन । पम्प सेटबाट पानी तानेर महोत्तरी वलवाका ५६ वर्षीय नरेश यादवले २५ कठ्ठामा धान रोपेका थिए । मजदुरी गरेर कमाएको १८ हजार रुपैयाँ खर्चेर उनले रोपाइँ गरे । रोपाइँको सिजनमा वर्षा नहुँदा नरेशलाई धान रोप्न हम्मेहम्मे पर्‍यो । वर्षभरि हातमुख जोड्न बाली लगाए । रोपाइँ सकेपछि नरेश खुसी नै थिए ।

शनिबार राति अविरल वर्षाले रातु खोलामा ठूलो बाढी आयो । पूरै धानखेत खोलाको भेलमा डुब्यो । बाढीसँगै बगेर आएको बालुवाले धानका बोट खेतमै पुरिदियो । विहान नरेश धानखेत पुगेर सबै खेत डुबेको देख्दा मुर्छित भए । ‘किसानको ज्यान बाढीले लियो । एक त पानी परेन । रोपेको धान पनि खोलाले डुबाइदियो', उनले भने, ‘हाम्रो मुख्य आम्दानीको स्रोत धानखेती थियो । त्यो पनि खतम भयो । अब कसरी पाल्ने परिवार र कसरी चलाउने जीवन ? '

नरेशका छिमेकी सुरेश साहले यसपटक १० कठ्ठामा धानखेती गरेका थिए । उनको धान पनि बाढीले डुबायो । उनले भने, ‘बाढीले घर पनि डुबायो । धानखेत पनि सखाप भयो । अब गर्ने के ? न बस्ने घर छ, न वर्षभरि खाने अन्न उब्जने खेत छ ।'

सरकारले किसानलाई पनि राहत वितरण गर्न महोत्तरीका धान किसानले माग गरेका छन् । धान किसान शैलेन्द्र यादव भन्छन्, ‘हामीलाई अरु लोभ छैन । वास्तविक क्षतिपूर्ति सरकारले हामीलाई दियोस् ।' सरपल्लोका धान किसान सञ्जीव यादवका अनुसार बाढीले धान किसान शोकका डुबेका छन् । सरकारले किसानको पीडा मल्हम पट्टी गर्नुपर्छ । किसान त्यसै पनि मरेको छ ।

महोत्तरीका ललक बासमती, साँवासव, सर्नासव (१) लगायत जातका धान रोपिएको थियो । प्रारम्भिक तथ्यांकअनुसार बाढीले २२ हजार पाँच सय हेक्टर धानखेती डुबानमा परेको जिल्ला कृषि विकास कार्यालय महोत्तरीका वरिष्ठ कृषि अधिकृत सुकेश्वर झाले बताए । उनले भने, ‘पानी नपरेका कारण महोत्तरीमा यस वर्ष ६० प्रतिशत धान रोपाइँ भएको थियो । त्यो सबै धानखेत डुबानमा परेको छ', उनले भने, ‘बाढीले डुबानमा परेको धानखेतको तथ्यांक लिन पाँच टोली खटाएका छौं । दुई दिनभित्र वास्तविक डुबानको तथ्यांक आउँछ ।'

बाढीसँगै बगेर आएको बालुवाले धानका बोट खेतमै पुरिदियो ।

पम्प सेट र खोलाको पानीले सिँचाइ गरेर धान रोपिएको थियो । जोताइ, बिउ, मल, ज्याला बढेकाले महँगो मूल्यमा महोत्तरीका किसानले रोपाइँ गरेका बनौटाका किसान दीपेन्द्र सिंहले बताए । महोत्तरीमा यस वर्ष २२ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती लगाइएको थियो । यहाँ ३५ हजार पाँच सय हेक्टरमा धानखेती हुन्छ ।




प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.