भाइरलका बिरामी बढे
कुश्मा : केही दिनयता पर्वतमा भाइरल ज्वरोका बिरामीको संख्यामा वृद्धि भएको छ । जिल्ला अस्पतालसँगै ग्रामीण भेगका स्वास्थ्य चौकीमा बिरामीको चाप बढेको हो ।
निरन्तर वर्षाका साथै मौसम परिवर्तनको समय भएकाले यस्ता बिरामीको संख्या बढेको जिल्ला अस्पतालले जनाएको छ । अस्पतालमा दिनमा एक सय २० जनासम्म बिरामी आउने गरेका छन् । अन्य समय ४० देखि ५० जनासम्म बिरामी आउने गरेकामा दुई सातायता तेब्बर वृद्धि भएको हो । त्यसमध्ये अधिकांश भाइरलका बिरामी छन् ।
जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार भाइरलले बढी मात्रामा बालबालिकालाई सताएको छ । एकै घरका चार-पाँचजनासम्म उपचारका लागि आउने गरेको जिल्ला अस्पतालका प्रमुख डा. बुद्धिबहादुर थापाले जानकारी दिए । दूषित पानी र हावाका कारण भाइरलको प्रकोप बढेको थापाले बताए । यसबाट बच्न दूषित खानेकुरा नखान, दूषित खानेपानी प्रयोग नगर्न सुझाव दिँदै उनले संक्रमण देखिए तत्काल उपचार गर्न आग्रह गरे ।
१५ शय्या क्षमताको अस्पतालले वैकल्पिक व्यवस्था गरी थप बिरामी भर्ना गरेको छ । गाउँमा पनि भाइरलका बिरामीको संख्या बढेको जानकारी आएकाले प्रत्येक स्वास्थ्य चौकीमा पर्याप्त औषधिको व्यवस्था गरी चौबीसै घन्टा खटिन स्वास्थ्यकर्मीलाई निर्देशन दिएको उनले सुनाए ।