यसरी भासियो मुग्लिन-नारायणगढ सडक
चितवन : नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा सडक भासिएका कारण बिहीबार दिनभर यातायात अवरुद्ध हुने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवका अनुसार करिब ५० मिटर लम्बार्इ सडकको चार मिटर चौँडा भाग भासिएकाले सो ठाउँमा भित्तो काटेर यातायात सञ्चालन गर्नुपर्ने भएको छ ।
एकतर्फी सडक समेत तत्काल सञ्चालन हुने सम्भावना छैन । दुईतर्फी सञ्चालनका लागि साँझसम्म काम गर्नुपर्ने उनको भनाइ छ। सडक भासिएका ठाउँका सडक नौ मिटर मात्रै फराकिलो छ । यसअघि सडक फराकिलो बनाउन भित्तो काटिएको ठाउँमै सडक भासिएको हो ।
सवारी साधन सञ्चालन भएपछि काम गर्न नसकिने भएकाले भित्तो काटेर दुईतर्फी सडक सञ्चालन गर्ने तयारी भइरहेको छ । सो सडकको पाँच ठाउँमा पहिरो खसेपछि बिहीबार बिहानबाट सडक अवरुद्ध भएको हो । जलबिरेको दुई स्थानमा, कालिखोला, चारकिलो र पाँच किलोमा एक-एक स्थानमा पहिरो खसेको थियो ।
आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार जलबिरे बाहेक अन्यत्रको पहिरो भने पन्छाइसकिएको छ । केही समयमा जलबिरेको पहिरो पनि पन्छाइसकिने उनले बताए । खोलाबाट लेदो झरेकाले सो ठाउँमा सडक अवरुद्ध भएको हो ।
पहिरोको जोखिमका कारण साउन अन्तिम साताबाट रातको समयमा सवारी आवागमन रोकिँदै आएका थिए । पहिरो खसेपछि बुधबार साँझबाट सडकमा रोकिएका सवारीसाधन अलपत्र परेका छन् । रासस