चीनको समृद्धिबाट फाइदा लिने परराष्ट्रमन्त्रीको चाहना
काठमाडौ : उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनले सुरु गरेको बेल्ट एन्ड रोड इनिसेयटिभ(बिआरआइ) भित्र रहेर मुलुकको व्यापार विस्तार गर्नुपर्ने बताएका छन् । चीनले रसुवागढी—केरुङलाई पहिलो पटक अन्तराष्ट्रिय प्रवेशद्धार घोषणा गरेको भोलिपल्ट मन्त्री महराले त्यस्तो धारणा व्यक्त गरेका हुन । सो प्रवेशद्धार शुक्रबारदेखि कार्यान्वयनमा आउन लागेको छ ।
नेपाल चाइनिज गाइड एसोसियसन (नेगा)को बिहिबार काठमाडौमा उद्घाटन गर्दै उनले भने,“नेपालले बिआरआइबाट फाइदा लिन सक्नुपर्छ ।” मन्त्री महराले नेपाल–चीनबीच ऐतिहाँसिक सम्बन्ध थप प्रगाढ बनाउन पथ प्रदर्शकहरुको महत्वपूर्ण भूमिका हुने विचार व्यक्त गरे ।
नेपालको महत्वपूर्ण पर्यटकीय स्थल लुम्बिनीको विकास र प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय पर्यटक भित्राउनुपर्नेमा जोड दिँदै मन्त्री महराले नेपाली र चिनिया बीचमा राम्रो सम्बन्ध विकासमा लुम्बिनी महत्वपूर्ण गन्तव्य हुने बताए ।
द्रुत विकासमा अग्रसर चीनका पर्यटकको आगमन बढ्दै गएको उल्लेख गर्दै परराष्ट्रमन्त्री महराले भने,“चीनको समृद्धिमा हामी खुशी छौं,त्यसबाट हामी फाइदा लिन चाहन्छौं ।” पथ प्रदर्शकले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मन्त्री महराले उनीहरुको प्रशंसा गरेका थिए ।
सो कार्यक्रममा मन्त्री महराले अनुभवी पथ प्रदर्शक ८१ वर्षीय किशन बहादुर नगरकोटीलाई सम्मान गरेका थिए ।