कपडा तस्करी आरोपमा दुई जना भारतीय नागरिक पक्राउ

कपडा तस्करी आरोपमा दुई जना भारतीय नागरिक पक्राउ

विराटनगर : भारतबाट नेपालतर्फ हुने गरेको कपडा तस्करीमा भारतीय नगरिकनै संलग्न हुन थालेको पाइएको छ। भारतीय नागरिकको सक्रियतामा भारतबाट नेपालतर्फ विभिन्न नाका हुँदै कपडा तस्करी हुने गरेको हो।

प्रहरीले कपडा तस्करी गर्दै गर्दा विराटनगर- १६ दरैया वस्तीबाट दुई जना भारतीय नागरिकलाई बुधबार पक्राउ गरेको छ। तस्करीको कपडा सहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ। उनीहरुले तस्करीमा भारतीय नम्बर प्लेटकै मोटरसाइकल प्रयोग गरेका छन्।

प्रहरी निरीक्षक सन्तोष निरौलाका अनुसार भारतको जोगवनी बजारबाट तस्करी गरेर विराटनगरतर्फ कपडा ल्याउँदै गर्दा उनीहरु प्रहरीको पञ्जामा परेका हुन्। पक्राउ पर्नेमा भारत जोगवनी १४ का २२ वर्षीय आजम खान र शौरभ चौरसिया रहेका छन्। उनीहरुले कपडा तस्करीमा प्रयोग गर्दै आएको बी एच आर ३१ ई १८८१ नम्बरको अपाची मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरुका साथबाट कुर्ता सलवार, साडी र टप्सहरु लगायत एक लाख २७ हजार मूल्य बराबरका कपडा बरामद भएको निरौलाले बताए।

उनका अनुसार भारतबाट हुने कपडा तस्करीमा भारतीयको संलग्नता हुन थालेको कुरा प्रहरीलाई केही पहिलेदेखि नै सूचना आइरहेको थियो। विशेष सुराकीका आधारमा उनीहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको जानकारी निरौलाले दिए। बरामद भएको कपडा र मोटरसाइकल सहित प्रहरीले दुबै जनालाई आवश्यक कारवाहीका लागि बुधबार नै विराटनगर भन्सार कार्यालयमा बुझाएको छ।

उनीहरुले जोगवनीबाट विराटनगरका व्यापारीसम्म पुर्‍याउन कपडा तस्करीमा भरियाको काम गरेको बयान प्रहरीलाई दिएका छन्। प्रहरीले दुबै जना लामो समयदेखि भन्सार छली गरेर कपडा नेपालतर्फ ल्याउने धन्दामा सक्रिय रहेको पत्ता लगाएको छ। कुनै नाकामा प्रहरी उपस्थिति न्यून भएको मौका छोपेर भारतीयले कपडा नेपालतर्फ कटाउने गरेको पाइएको प्रहरीले जनाएको छ।

‘भारतबाट नेपाल प्रवेश गर्ने विभिन्न नाकाबाट कपडा तस्करी हुने गरेको सूचना प्रहरीलाई आइरहेको छ,' प्रनि निरौलाले भने, ‘सबै नाकामा प्रहरीको विशेष टोली परिचालन गरेर निगरानी बढाउन थालिएको छ।' सीमा क्षेत्रबाट हुने कपडा लगायतका चिजवस्तुको तस्करी शून्यमा झार्ने योजना सहित काम भइरहेको उनले बताए। भारतबाट हुने गरेको कपडा लगायतका सामान तस्करीमा यसअघि नेपालीकै संलग्नता रहने गरेको थियो। ‘नेपालमा बसेर तस्करी धन्दा चलाउनेहरु प्रायः चिनिन्छन्,' प्रहरी स्रोतले भन्यो, ‘उनीहरुको पहिचान गरेर प्रहरीले निगरानी बढाउन थालेपछि तस्करीमा भारतीयहरु नै संलग्न हुन थालेको पाइयो।'

कपडा तस्करीमा संलग्न हुन थालेको पाइएपछि नेपालतर्फ प्रवेश गर्ने भारतीय नागरिकमाथि पनि निगरानी बढाउन थालिएको निरौलाले बताए। मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसी र मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले नेपाल-भारत सीमावर्ती क्षेत्रको निरीक्षण गरेर सीमा नाकाबाट हुने तस्करी नियन्त्रण गरेर शून्यमा झार्न निर्देशन दिएका छन्। उनीहरुले कुनै पनि हालतमा तस्करसँग सम्झौता नगर्न र तस्करीलाई प्रशय पुग्ने खालका गतिविधि नगर्न प्रहरी युनिटहरुलाई निर्देशन दिएका छन्।

‘प्रहरीको सीमावर्ती युनिटको मुख्य काम नै सीमा अपराध र तस्करी नियन्त्रण गर्नु हो,' एसपी बिसीले भने, ‘आर्थिक प्रलोभनमा परेर तस्करीलाई बढवा दिने प्रहरीलाई तत्काल कारवाही अघि बढाइने छ।' तस्करीका कारण मुलुकको राजश्व गुम्ने भएकाले पनि नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएको जानकारी उनले दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.