सरकार बिस्तार सोमबार मात्र, साढे ११ बजे सपथ
काठमाण्डौं: प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डलार्इ थप विस्तार गर्ने भएका छन्। प्रधानमन्त्री देउवाले राष्टिय प्रजातन्त्र पार्टीबाट छुट्टिएर बनेको पशुपति शमशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकलार्इ सरकारमा सहभागि गराउने भएका हुन्। प्रधानमन्त्री कार्यालयका अनुसार सोमबार बिहान साढे ११ बजे नयाँ मन्त्रीको सपथ कार्यक्रम राखिएको छ।
राप्रपा प्रजातान्त्रिकबाट सरकारमा पहिलो चरणमा तीन मन्त्री जानेछन्। राप्रपा प्रजातान्त्रिकको आइतबार बसेको बैठकले सरकारमा सहभागि हुने तीन जनाको नाम पनि टुंगो लगाएको छ। राप्रपा प्रजातान्त्रिकले संसदीय दलको नेतामा आइतबार मात्र चयन भएका महामन्त्री दीपक बोहरालार्इ विज्ञान तथा प्रविधि मन्त्रालय, विक्रम पाण्डेलार्इ वन मन्त्रालय र उद्योग मन्त्रालयमा सुनील थापालाई पठाउने निर्णय गरेको छ। यसैगरी उद्योग राज्यमन्त्रीमा रेशम लामालाई पठाउने निर्णय गरेको छ।
देउवा सरकार जम्बो भएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला फेरी सरकार बिस्तार हुन लागेको हो। मंसिरमा तेस्रो सातासम्म मात्र सरकारको आयू रहेकाले नयाँ मन्त्रीहरुले करिव तीन महिनामात्र सिंहदरवारमा बस्न पाउनेछन्।