उत्तर कोरियालाई धम्क्याउँदै अमेरिका
वासिङटन : कोरियाली प्रायद्विपमा केही महिनायता उत्पन्न तनावपछि अहिले आएर उत्तर कोरिया मौन भएको छ । सन् २०१७ का सुरुवाती १० महिनामा उत्तर कोरियाले २२ वटा मिसाइल परीक्षण गरेको थियो भने एउटा हाइड्रोजन बमसमेत परीक्षण गरेको थियो । उत्तर कोरियाको परीक्षणले अमेरिकासँगै दक्षिण कोरिया र जापान त्रसित भएका थिए ।
तर, उत्तर कोरियाली सञ्चारमाध्यममा पछिल्ला दिन पत्नीसहित त्यहाँका सर्वोच्च नेता किम जोन उनको सौन्दर्य प्रशाधन उद्योग भ्रमणले प्राथमिकता पाइरहेका छन् । ‘उहाँ धेरै प्रसन्न हुनुहुन्छ । उहाँले यो कम्पनीले उत्पादन गरेको सौन्दर्य प्रशाधन संख्यात्मक र गुणात्मक दुवै उत्तम रहेको बताउनुभयो । उहाँले कम्पनीका उत्पादन मात्र नभई प्याकिङ समेत सुन्दर भएको टिप्पणी गर्नुभयो ।’ आइतबार उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले उल्लेख गरेको छ ।
सञ्चारमाध्यममा खासै देखा नपर्ने पत्नी रि सोल जुसँग सार्वजनिक स्थलमा खिचिएका तस्बिरहरूमा उन प्रसन्न र शान्त देखिन्छन् । दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार पछिल्लोपटक हतियार उत्पादनबारे सरकारी पत्रिका रोन्डोङ सिनमुनमा सानो समाचार प्रकाशित छ । समाचारमा उत्तर कोरियाले भूउपग्रह प्रक्षेपणमा सफलता हासिल गरेको उल्लेख छ । केही विश्लेषक भने उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण लुकाउन अन्तरिक्षसम्बन्धी कार्यक्रम सञ्चालन गरेको प्रचार गरिरहेको आरोप लगाउँछन् ।
सोमबारकै एक अर्को समाचारमा पत्रिकाले वासिङटनको ‘हतियार र युद्धको तयारी’को आलोचना गरेको छ । समाचारमा कुनै नयाँ धम्की भने दिइएको छैन ।सोमबार नै अमेरिका, दक्षिण कोरिया र जापानी अधिकारीहरूले एउटा विज्ञप्ति जारी गरी उत्तर कोरियालाई ‘गैरजिम्मेवार उत्तेजनाबाट पछाडि हट्न’ आह्वान गर्दै ‘ध्वंसात्मक र लापरबाहीपूर्ण पथ’बाट हट्न अनुरोध गरेका छन् । शनिबार नै अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले आणविक शक्तियुक्त उत्तर कोरिया स्वीकार्न नसकिने बताएका छन् ।
कूटनीतिज्ञहरूका अनुसार अमेरिकाले हालै गरेका यी सबै शक्ति प्रदर्शन उत्तर कोरियालाई धम्क्याउन गरेको हो ।
यसैबीच अमेरिकाले भने उत्तर कोरियाका धम्की र मिसाइल परीक्षण तथा आणविक हतियार विकास कार्यक्रमबाट तर्सिएर नयाँ नयाँ कदम चालिरहेको छ । अमेरिकाले पछिल्लो सातामात्रै बमवर्षक दुईवटा अमेरिकी बी-५२ लडाकुजहाज जापानमा रहेको अमेरिकी सैन्य अखडामा थपेको छ । यही अक्टोबरको मध्यतिर अमेरिकी जलसेनाले मिसाइलयुक्त युद्धपोत मिसिगन दक्षिण कोरियाको बुसानस्थित बन्दरगाहमा तैनाथ गरेको छ । यो पनडुब्बीले जमिनमा आक्रमण र प्रहार गर्न सक्ने १ सय ५४ वटा मिसाइल बोक्न सक्छ ।
यसबीच अमेरिकाले चालेका यस्ता विभिन्न शक्ति प्रदर्शनले विगतमा जस्तै प्रत्युत्तरमा उत्तर कोरिया अझ उत्तेजित हुनेछ । गत साता अमेरिकाले दुई बमवर्षक लडाकु जहाज बोक्ने युद्धपोत जापानमा तैनाथ गरेको छ । यसअघि नै त्यहाँ अर्को युद्धपोत युएसएस रोनाल्ड रेगन तैनाथ छ ।अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युद्धपोत तैनाथ गर्ने योजना अहिलेको नभएर धेरै समयअघि नै गरिएको र अहिले त्यही पूर्वयोजना कार्यान्वयन मात्र गरिएको जनाएको छ । पेन्टागनले त्यही पूर्वयोजना अनुसार नै अरबमा तैनाथ युद्धपोत युएसएस निमित्ज अमेरिका फर्कन लागेको र त्यहाँ भने युएसएस थियोडोर रुजवेल्ट तैनाथ हुने जनाएको छ ।
बमवर्षक बी-५२ लडाकु जहाज एसियामा थप्नेबाहेक अमेरिकाले यस महिना दक्षिण कोरियामा भएको हवाई प्रदर्शनमा एफ-२२ स्टिल्थ बमवर्षक लडाकु जहाज र बी-१ बमवर्षक पठाएको थियो ।
अमेरिकी वायुसेनाले एसिया प्यासिफिक क्षेत्रमा गत नोभेम्बरमा पहिलोपल्ट एफ-३५ स्थिल्थ बमवर्षक जहाज तैनाथ गरेको थियो । अमेरिकाले पाँचौं पुस्ताका अत्याधुनिक १२ वटा एफ-३५ बमवर्षक जहाज जापानी टापु ओकिनावास्थित कादेना वायुसैनिक अखडामा तैनाथ गरेको थियो ।
विश्लेषकहरूका अनुसार अमेरिकाका यी सबै प्रयासले उत्तर कोरियाको कुनै पनि कदमविरुद्ध प्रभावकारी भूमिका खेल्नेछन् । केही विश्लेषक भने यस्ता कदमले उत्तर कोरियालाई अझै उत्तेजित बनाउने बताउँछन् । पछिल्लो साता उपडाम माउन्टले लेखेका थिए, ‘चीन र उत्तर कोरियालाई झुकाउन चालिएका यस्ता सामरिक कदमले युद्धको सम्भावनामात्र बढाउँछन् ।’
उनले लेखेका थिए, ‘पछिल्ला १० महिनामा देखिएको उत्तर कोरियाली कदमले किम जोङ उन आफ्ना आणविक कार्यक्रम अन्त्य गर्न तयार छैनन् भन्ने देखाउँछ ।’ उनी भन्छन्, ‘ट्रम्प प्रशासनले उत्तर कोरियालाई अनावश्यक धम्की दिन बन्द गरे, अमेरिका र उसको गठबन्धनले उत्तर कोरियासँग वास्तविक संवाद गर्न सक्छ ।’