असीमित इच्छाहरू
काल्पनिक होइनन्,
सपनीमा देखिएका दृश्य,
परिदृश्यहरू पनि होइनन्,
लाग्छ; मनभित्रैबाट स्वतःस्फूर्त
प्रस्फुटित बुलन्द आकांक्षाहरू हुन् ।
आजको मनुष्य-जीवन
यसरी बाँधिएको हुन सक्छ ,
जहाँ;
आध्यात्मिकपनभन्दा भौतिकपन,
संलग्नताभन्दा फुर्सद र
जाँगरीलोपनाभन्दा अल्छी–पनाका
अत्यधिक सुर्केनाहरू भेटिन सक्छन्,
जसकारण; हरबखत सोचमग्न मानसपटलमा
प्रतिविम्बित हुँदाहुन् असंख्य इच्छाहरू ।
सायद;
चाहनै–चाहनाको विशाल पहाड
तुलनात्मक जीवनशैलीको
भर्याङमार्फत उक्लने यथेष्ट
अभिलाषा भएर हुनसक्छ वा,
अस्वस्थ प्रतिस्पर्धाको औजारद्वारा
महत्वाकांक्षी भव्य महलको
निर्माण सम्पन्न गर्ने अद्भुत
कुण्ठा पलाएर हुनसक्छ;
हृदयको अन्तरकुन्तरबाट
ब्यूँतन अधिक कोसिस गर्दैछन्,
असाधारण आकांक्षाहरू;
मस्तिष्कको गहिराइबाट
ब्यूँझन तम्तयार देखिन्छन्,
असीमित इच्छाहरू ।